राष्ट्रिय गौरवको सूचीमा रहेको तमोर करिडोर सडक निर्माणको काम प्रारम्भीक रूपमा सम्पन्न भएको छ । तमोर नदीको किनारै किनार निर्माण गरिएको यो सडक मंगलबार नेपाल–चीनको टिप्ताला नाकासम्म जोडिएको छ । कोशी प्रदेशको पर्यटकीय क्षेत्र ताप्लेजुङस्थित ओलाङचुङगोला हुँदै चीनको टिप्ताला बजारसम्म सडक संजाल जोडिएपछि स्थानीय बासिन्दा निकै खुसी भएका छन् । किनकी अब ओलाङचुङगोला अन्तर्राष्ट्रिय नाकाका रूपमा बिस्तार हुनेछ । हुन त चीनबाट नेपाल हुँदै भारत र भारतबाट नेपाल हुँदै चीन जोडिने दुई वटा महत्वपूर्ण सडक यसअघि नै निर्माण भइसकेका छन् । चीनको खासा–कोदारीबाट नेपालको राजधानी काठमाडौं हुँदै भारतको रक्सौल पुग्ने र चीनको केरुङबाट नेपालको चितवन हुँदै भारतको ठोरी जोडिने सडक यसअघि नै निर्माण भइसकेका छन् । तैपनि भरखरै प्रारम्भिक निर्माण सम्पन्न भएको चीनको टिप्तालाबाट नेपालको ओलाङचुङगोला र धरान हुँदै भारतको जोगवनी जोडिने यो सडक विशेष महत्वपूर्ण छ । पहिलो कुरा त विकल्प तयार भएको छ । दोस्रो कुरा यसअघि सम्पन्न भइसकेका दुई वटा सडकको तुलनामा यो सडक छोटो तथा सुगम ठाउँमा छ । तेस्रो कुरा भारतको मुख्य भूमीबाट तिब्बतको ल्हासा पुग्न यो सडक निकै छोटो छ । सिगात्से र ल्हासा तिब्बतका मुख्य सहरहरू हुन् । नेपालबाट यी सहरहरू आवतजावत गर्न अहिले प्ररम्भिक निर्माण सम्पन्न भएको यो सडक धेरै नै छोटो पर्छ ।
जोगवनीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट यो सडक हुँदै टिप्तालास्थित नेपाल–चीन सीमा क्षेत्रसम्मको यो सडकको कुल लम्बाई ३ सय ५ किलोमिटर छ । यसमध्ये करिब दुई सय किलोमिटर पिच भइसकेको छ भने करिब ६० किलोमिटर ग्रेबल भइसकेको छ । बाँकी ४० किलोमिटर ट्रयाक मात्रै खुलेको हो । यो ४० किलोमिटर खण्डमा वर्षायाममा यातायात सेवा चल्ने अवस्था छैन । हिउँद यममा चीनतर्फ ५ हजार २ सय मिटर उचाइको क्षेत्रमा बनाइएको यो सडकमा हिउँ पर्छ । नेपाल र तिब्बतको हिमरेखा भनेको पाँच हजार मिटर हो । त्यसैले पुस र माघको महिना यो सडक अवरुद्ध हुने संभावना बढी हुन्छ । वैशाखदेखि भदौसम्म हिमपातको संभावना रहन्न । त्यसैले भरखर ट्रयाक खुलेको यो ४० किलोमिटर खण्डलाई कालोपत्रे तथा ढलान गर्नेतर्फ सरकारले समयमै ध्यान पु¥याउनु जरुरी छ । त्यसमा पनि कोशी प्रदेश सरकार यो मामिलामा विशेष सक्रिय हुनुपर्छ । संघीय सरकारको मात्रै मुख ताक्नु हुन्न । किनकी यो सडक कोशी प्रदेशका लागि ‘लाइफ लाइन’ जस्तै हो । कोशी प्रदेशको आर्थिक उन्नतिमा यो सडकले निकै महत्वपूर्ण योगदान पु¥याउने निश्चितजस्तै छ ।
यति मात्रै होइन तमोर कोरिडोर सडक भनेको मध्यपहाडि लोकमार्गको मात्रै होइन मदन भण्डारी राजमार्गको पनि पुरक सडक हो । यो सडकले मध्यपहाडी लोकमार्गको दुरीलाई करिव तीन सय किलोमिटर कम गर्ने संभावना बोकेको छ भने मदन भण्डारी राजमार्गको महत्वपूर्ण विन्दु चतराबाट यो सडक हुँदै तिब्बत पुग्न जम्मा २ सय ५४ किलोमिटर दुरी पार गरे पुग्छ । ताप्लेजुङको ओलाङुचुङगोलाबाट सडक यातायातमार्फत एकदिनमै राजधानी काठमाडौं आइपुग्ने अवस्था बन्नु भनेको नेपालका लागि सानो कुरा होइन । हिजोसम्म दुर्गम मानिएको पूर्वी पहाडी क्षेत्र अब सुगम बनेको छ । व्यापार तथा पारवहनका दृष्टिले मात्रै यो सडक महत्वपूर्ण भएको होइन, यो सडक महत्वपूर्ण हुनुको अर्को कारण जलविद्युत् आयोजना निर्माणका लागि सहज हुनु हो । तमोर तथा यसका सहायक नदीहरूले थोरै लगानीमा धेरै जलविद्युत् उत्पादन गर्ने संभावना बोकेका छन् । किनकी धेरैजसो नदीहरू बढी उचाइबाट छोटोदुरीमै कम उचाइमा झरेका कारण ठाडा छन् । यस्ता नदीबाट थोरै लगानीमा धेरै जलविद्युत् उत्पादन गर्न सकिन्छ । तर, सडक यातायातको सुविधा नपुगेका कारण त्यस क्षेत्रका नदी तथा खोलामा विद्युत् आयोजना निर्माण हुन सकेका थिएनन् । सडक निर्माण सम्पन्न भएसँगै तमोर जालाधार क्षेत्रमा दर्जनौँ जलविद्युत् आयोजना निर्माण हुने संभावना बढेको छ ।
प्रतिक्रिया