उद्यमशिलता विकास तालिममा ३० जना नयाँ उद्यमीहरुको सहभागिता

बारा । जीतपुरसिमरामा सञ्चालन भएको उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा उपमहानगर– २४ मा सञ्चालन भएको आठदिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको उद्यम विकास सहजकर्ता दीपनारायण चौधरीले जानकारी दिए ।

वडामा रहेका बेरोजगारहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको थियो । तालिममा वडा न २४ का ३० जना नयाँ उद्यमीहरुको सहभागिता रहेको थियो ।

फागुन ३ गतेदेखि सञ्चालन भएको तालिममा सहभागीहरुलाई तीनदिने व्यवसाय सचेतनासम्बन्धी तालिम दिइएको थियो । त्यस्तै चार दिनको व्यवसाय सुरु तालिम एकदिने लैंगिक समानता तथा विकास तालिम दिइएको सहजकर्ता चौधरीले जानकारी दिए ।

उक्त आठदिने उद्यमशिलता विकास तालिम सम्पन्न कार्यक्रममा बोल्दै नगर उपप्रमुख भोला प्रसाद अधिकारीले लघु, घरेलु तथा साना उद्यमी सृजनाका लागि उद्यमशिलता विकास र सीप विकास तालिम प्रभावकारी हुने बताए । उपप्रमुख अधिकारीले लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सीप सिकेर व्यवसाय गर्न दिगो आर्थिक विकास हुने धारणा व्यक्त गरे ।

तालिमका सहभागिहरुलाई एक कार्यक्रमकाबिच उप प्रमुख अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए । उक्त तालिममा समाजसेवी अनिल कुमार साह, सेराजुल अन्सारीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया