साढे ६ महिनामा पौने ८१ करोड राजस्व संकलन !

बारा । श्रम तथा यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्साले साढे ६ महिनामा पौने ८१ करोड राजस्व संकलन गरेको छ । सवारी कर तथा सवारीचालक करबाट कार्यालयले चालु आर्थिक वर्षको ६ महिना १९ दिनमा ८० करोड ७९ लाख ३९ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको श्रम तथा यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख उमेश रेग्मीले जानकारी दिए ।

यस कार्यालयबाट हुँदै आएको काम अन्य जिल्लामा बाँडिएपछि पहिलाको तुलनामा पछिल्लो समय कामको चाप घटेको उनले जानकारी दिए ।
‘अहिले जिल्ला जिल्लामा यातायात व्यवस्था कार्यालय खुलिसकेका छन्’, उनले भने, ‘त्यसकारण वीरगञ्ज कार्यालयमा सेवाग्राहीको चाप घट्न गएको हो ।’ सेवाग्राही र कामको चाप घटेसँगै राजस्व घट्नु स्वभाविक भएको उनले बताए ।
एउटा काम गराउन सेवाग्राहीले दुई÷तीन दिन कार्यालय धाउनुपर्ने वाध्यता अहिले हटेको र एकदिनमै काम गराएर सेवाग्राही घर फर्किने गरेको उनले जानकारी दिए ।

कार्यालयबाट प्रदान गरिने सवारी नामसारी, सवारी नवीकरण, सवारीचालक अनुमतीपत्र नवीकरण लगायतका काम छिटोछरितो रूपमा हुन थालेको उनले जानकारी दिए ।

अहिले नयाँ लाइसेन्स लिने सेवाग्राहीको संख्या वीरगञ्ज कार्यालयमा बढी रहेको पाइएको उनले जानकारी दिए । लाइसेन्स सेवा पनि अनलाइनमार्फत सञ्चालन भएपछि सेवाग्राहीको भिडभाड कार्यालयमा कम भएको उनले बताए ।
कार्यालयबाट प्रदान हुँदै आएको ड्राइभिङ लाइसेन्स सेवा मध्ये सबभन्दा बढी मोटरसाइकलको लाइसेन्सका लागि आवेदन पर्ने गरेको यातायात व्यवस्था कार्यालय वीरगञ्जका राजस्व शाखाका लेखापाल रघुनन्दन साहले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि अहिलेसम्मको अवधिमा ६ हजार ६ सय ७ वटा मोटरसाइकलको लाइसेन्स जारी भएको उनले जानकारी दिए । यो अवधिमा ६ हजार १ सय ८० जनाले मोटरसाइकलकै लाइसेन्सको लागि नयाँ आवेदन दिएको उनले बताए ।

लाइसेन्स नबोकी सवारी चलाउँदा ट्राफिक प्रहरीले चर्को जरिवाना काट्न थालेपछि कार्यालयमा लाइसेन्स लिन आवेदन दिने सेवाग्राहीको संख्या बढेको उनले बताए ।

पछिल्लो समय यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट प्रभावकारी सेवा प्रदान गर्न थालिएपछि सेवाग्राहीको आकर्षण बढेको उनले दाबी गरे ।

प्रतिक्रिया