आर्थिक मन्दीको बहानामा कामदार कटौती गर्दै गणपति बनस्पती उद्योग

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा रहेको गणपति बनस्पती उद्योगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकालेपछि कामदारहरू चिन्तित भएका छन् ।

स्थायी रूपमा कार्यरत ५० जना कामदारलाई कटौती गर्ने भनी नाम नै तोकेर लिस्ट निकालेपछि त्यहाँ कार्यरत कामदार समस्यामा परेका छन् । विगत २०–२५ वर्षदेखि काम गर्दै आएका कामदारलाई एकैपटक निकाल्ने सूचना निकालेपछि त्यहाँ काम गर्ने कामदार घर न घाटका भएका छन् ।
उद्योगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफूहरूलाई गणपति बनस्पती उद्योगले आर्थिक मन्दीको बहाना देखाएर कामबाट निकाल्नु दुःखद् रहेको कामदार प्रधुमन प्रसाद चौरसियाले बताए ।

गणपति वनस्पती उद्योगले आर्थिक मन्दीको बहाना बनाएर पहिलादेखि नै स्थायी रूपमा कार्यरत कामदारलाई जगेडामा राखेर काम गराइरहेको थियो । माघ २३ गते ५० जनाको नामसहित सूचना टाँस गरेर कामबाट कटौती गर्ने जनाएको थियो । सो उद्योगमा २५ वर्षदेखि काम गरिरहेको र अहिले आर्थिक मन्दीको बहानामा आफूहरूलाई निकाल्न लागेको कामदार युवराज पराजुलीले बताए ।

यता गणपति वनस्पती उद्योगले विगतका वर्षदेखि नै बढ्दो बजार प्रतिस्पर्धा गर्न नसकेका कारण उत्पादित तेल भारत निकासी हुँदै आएकोमा भारतले तेलको आयातमा एक्साइज डिउटी बढाएबाट निर्यात ठप्प भएको जनाएको छ । यही समस्याका कारण श्रमिकलाई कामैविना पूरा पारिश्रमिक भुक्तानी गर्दै आएकाले आर्थिक भार वहन गर्न नसक्ने अवस्था हुँदा कामदार कटौती गर्न लागेको उद्योगका प्रशासन शाखा प्रमुख दिनेशचन्द्र गिरीले बताए ।
तर, उद्योगले दैनिक ज्यालादारीमा कम गरिरहेकालाई हटाइएको भने पनि स्थायी रूपमा कार्यरत मजदुर कटौती गर्न थालेपछि विवाद बढेको स्रोतले बतायो । वनस्पती उद्योगले श्रम ऐन २०७४ को दफा १४५ को प्रक्रियाअनुसार नै कामदार कटौती गर्न लागेको बताए पनि उद्योगको अहिले निर्यात जारिरहेको आर्थिक मन्दीको बहाना देखाएर कामदार कटौती गर्न लागेको कामदारहरूले बताएका छन् ।

किन बढ्यो कामदार कटौती प्रवृत्ति ?

सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएसँगै रोजगारदातामा कामदार कटौती गर्ने प्रवृत्ति बढेको विभिन्न ट्रेड युनियनका प्रतिनिधिको आरोप छ । अखिल नेपाल ट्रेड युनियनले पछिल्लो समय रोजगारदाताले श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन नचाहेको पाइएको जानकारी दिएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले पछिल्लो समय सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएसँगै कामदार कटौती गर्ने प्रवृत्ति बढेको दावी गरे । सिम्खडाले भने, ‘श्रमिकको पसिना सस्तो मूल्यमा खान पल्केका रोजगारदाता विभिन्न आरोप लगाई कामदार कटौती गर्नतर्फ लागेका छन् ।’

कामदार कटौती गर्न यस्तो छ, कानुनी प्रावधान

श्रम ऐन २०७४ ले आर्थिक समस्यामा परेका, गाभिएका, बन्द गर्नुपर्ने अवस्थामा पुगेका प्रतिष्ठानले श्रमिक कटौती गर्न पाउने व्यवस्था गरेको छ । यस्ता कारणले श्रमिक कटौती गर्नुपर्ने भएमा ती प्रतिष्ठानले आधिकारिक ट्रेड युनियन तथा श्रम कार्यालयलाई जानकारी दिनुपर्दछ । कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख छ ।

विदेशी श्रमिक कटौती गरिसकेपछि अरू स्वदेशी श्रमिक पनि कटौती गर्नुपर्ने अवस्था सिर्जना भएमा खराब आचरण भएका तथा एउटै प्रकृतिको काम गर्नेमा पनि सबैभन्दा पछि नियुक्ति भएका श्रमिकबाट कटौती गर्नुपर्दछ । कटौती गर्दा एक वर्ष पूरा गरेका श्रमिकलाई प्रत्येक वर्षको एक महिनाको आधारभूत पारिश्रमिक बराबर बोनस एकमुष्ठ प्रदान गराउनुपर्छ । कटौती गरिसकेपछि पुनः सोही योग्यता भएका श्रमिकलाई नियुक्ति दिन पाइँदैन ।
तर, नेपालका उद्योग तथा प्रतिष्ठानहरूले कामदार कटौती गर्दा श्रमिक, आधिकारिक ट्रेड युनियन तथा श्रम कार्यालयलाई जानकारी नगराई आफूखुसी कटौती गर्ने गरेको पाइएको छ । न्यूनतम तलब तथा सेवासुविधा माग गर्ने पुराना कामदार कटौती गरी सोही पदमा नयाँ कामदार भर्ना गर्ने र सस्तो मूल्यमा काम लगाउने प्रवृत्ति पनि बढेको पाइएको छ ।

प्रतिक्रिया