सिडिओ दिनभर थुनिए

Gulmi-cdoगुल्मी, ३ फागुन । नियमित विद्युत् आपूर्ति माग गर्दै सर्वसाधारणले सिडिओ कार्यालयअगाडि बुधबार प्रदर्शन गरेपछि प्रमुख जिल्ला अधिकारी दिनभर कार्यकक्षमै थुनिए । जिल्लालाई ४ वर्षपहिले नै लोडसेडिङमुक्त घोषणा गरिए पनि कार्यान्वयन नभएपछि सर्वसाधारण आन्दोलित भएका हुन् ।

उद्योग वाणिज्य संघको समन्वयमा ०६६ मा लोडसेडिङमुक्त जिल्ला घोषणा गरिएको भए पनि दैनिक आठ घन्टा लोडसेडिङ भइरहेको छ । नियमित विद्युत् आपूर्ति माग गर्दै सदरमुकाम तम्घासमा आन्दोलनमा उत्रिएका सर्वसाधारणले दिनभएर तनाव सिर्जना गरेका थिए । नाराबाजी गर्दै विद्युत् प्राधिकरण पुगेका आन्दोलनकारीले प्राधिकरणमा ताला लगाउनुका साथै ढुंगामुढा गरेका थिए । माग लिएर विद्युत् कार्यालयमा पुगेको भए पनि कार्यालय प्रमुख भागेर बुटवल गएपछि स्थानीय थप आक्रोशित भएको एमाले जिल्ला सदस्य हीरा एसीले बताए ।
कार्यालय प्रमुख नवलकिशोर गोइत बुधबार कार्यालयमा थिएनन् । कार्यालयले उनी हिजोदेखि नै कार्यालयमा नरहेको जनाएको छ । कार्यालय प्रमुख नभएको भन्दै आन्दोलनकारीबाट चोखिन खोजेका भए पनि उनीहरूले सिडिओ कार्यालयमा आएर नाराबाजी गरेका थिए ।
आन्दोलनकारी सिडिओ जुत्ताको माला लगाउने भन्दै कार्यालयबाहिर जुत्ताको माला लिएर बसेका थिए । आन्दोलनले उग्ररूप लिएपछि सिडिओ कार्यालयले आफ्ना सबै ढोका बन्द गरेर कर्मचारीभित्र राखेर बसेका थिए । आन्दोलनकारीले सिडिओको कार्यकक्षमा रहेको झ्याल तथा ढोका र टिनको छानोमा पनि ढुंगा बर्साएका थिए । आन्दोलनकारीको प्रदर्शनलाई दमन गर्ने कोसिस गर्दा इन्स्पेक्टरसहित दुई प्रहरी घाइते भएका छन् । केही आन्दोलनकारी पनि सामान्य घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट इन्स्पेक्टर जितेन्द्रकुमार बस्नेतको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा तीन टाँका लगाइएको छ । ‘सिडियो सा’पको प्रशासन कार्यालयअगाडि टायर बाल्न नदिने आदेश भयो, निभाउने कोसिस गर्दा आफैँलाई झन्डै मारेनन्,’ बस्नेतले भने । प्रहरी जवान राजकुमार सुनार पनि घाइते भएका छन् ।
स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले लाठी चार्ज गर्दा चार प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीको अश्रुग्यास प्रहारबाट सिडिओ कार्यालयनजिकै रहेको महेन्द्र उच्चमाविका विद्यार्थीलाई प्रत्यक्ष प्रभाव परेको थियो । विद्यालय शान्ति क्षेत्र भए पनि विद्यालयनजिकै प्रहार गरिएको अश्रुग्यासले विद्यालयका विद्यार्थी दिनभर निस्सासिए । भागदौडमा केही विद्यार्थी घाइते भए ।

प्रतिक्रिया