सभामुख क्रिकेट कप : धनुषा फाइनलमा

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा धनुषाले स्थान सुरक्षित गरेको छ ।

बिहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषाले फाइनलको यात्रा तय गरेको हो । सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अब उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुनेछ ।

रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा छैटौँ दिन दोस्रो सेमिफाइनल खेल भएको थियो । टस जितेर बारा क्रिकेट टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । बाराल ३६ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ४० रनको लक्ष्य धनुषासमक्ष प्रस्तुत गरेको थियो ।

बाराका लागि ओपनर तृतराज दासले राम्रो सुरुआत गरे पनि अर्को ओपनर अनिल साह एक रनमै आउट भएका थिए । दासले पाँच चौका र दुई छक्काको मद्दतले ६० बलमा ४४ रनको योगदान दिए । बाराकै निखिल सिंह ५७ बलमा ३३ रन र शाहिल पटेल ३४ बलमा २६ रन बनाए । यस टिमका अन्य ब्याटस म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।

धनुषाका लागि बलिङ गरेका विक्रान्त यादवले ७ ओभर ३ बलमा २२ रन खर्चेर चार विकेट लिएका थिए । उत्कृष्ट बलिङ गरेका विक्रान्त एक मेडन ओभरसमेत फालेका थिए । उनीसहित टिमको कसिलो बलिङले बारालाई ‘लो’ स्कोरमा रोक्न सफल भएका थिए ।

यस्तै, धनुषाकै लागि बलिङ गरेका कप्तान विशाल सुशलिङले दुई, रुपेश यादवले एक, अभिजित मण्डलले एक, अखिलेश ठाकुर र साइमोन रोयलेसमेत एक÷एक विकेट लिए । जवाफ ब्याटिङमा धनुषाका खेलाडीहरू ३७ ओभर ३ बलमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेका थिए । धनुषाका ओपनर अलिअकबर अन्सारीले ६३ रनको पारी खेले । उनले १ सय ९ बलमा चार चौका र एक छक्का प्रहार गरे । उनलाई साथ दिइरहेका पशुराम यादवलेसमेत ६३ बलमा ४९ रनको पारी योगदान दिए ।

यी दुबै ब्याट्स म्यानको राम्रो सुरुआतमा धनुषाले सहजै जित हासिल गरेको थियो । बाराका लागि बलिङ गरेका विकास पटेलले तीन र पवन सराफले एक विकेट लिए । तीन÷तीन वटा सिनियर खेलाडी रहेका बाराको कमजोर प्रदर्शन देखिएको थियो । बाराका नामी अनिल साह, अरनिको यादव र पवन सराफले ठोस प्रदर्शन गर्न सकेनन् । यस खेलको म्यान अफ दी म्याच धनुषाका विक्रान्त यादव घोषित भएका छन् ।

प्रतिक्रिया