तीन करोडभन्दा कम बजेटको काम केन्द्र सरकारले नहेर्ने : अर्थमन्त्री महत

बारा । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले केन्द्र सरकारले अब तीन करोडभन्दा कमको बजेट नहेर्ने बताएका छन् ।
सोमबार बाराको महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा प्रमुखअतिथि रहेका उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री महतले एक करोड भन्दाको तलको बजेट पनि प्रदेश सरकारले नदेख्ने बताएका थिए । ससाना बजेट अब स्थानीय सरकारले जनताको आवश्यकताअनुसार पूरा गर्न र विकास निमार्णको काम गर्न उनले आग्रह गरेका थिए । उनले कोसी ड्राइभर्सन सुरूङ खनेर सुनकोसीको पानीलाई बागमतीमा झारी रौतहट र बाराको किसानलाई सिँचाइ गर्न नेपाल सरकार गम्भीर रहेको बताएका थिए ।

यस्तै उनले निजगढ द्रुतमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल बन्न केही ढिलाइ भएता पनि सरकार यसलाई पूर्णता दिन लागि परेकाले यो सम्पन्न पश्चात् बाराको जनता आर्थिक रूपमा समृद्ध हुने विश्वास व्यक्त गरे । कोरोनाकालमा बन्द भएका बाराका ससाना भन्सार जस्तै सिमौनगढ, मटिआर्वा, कवही दरबार लगायतको भन्सार खुला गराउन आफू लाग्ने र जनताको आवश्यकताअनुसार काम अगाडि बढाउन प्रतिबद्धतासमेत जनाएका थिए ।

देश आन्तरिक परिस्थिति, बाह्य परिस्थिति र विभिन्न बेथितिका कारण आर्थिक संकटबाट गुज्रिरहेकोले यसबाट जोगाउन सरकार प्रतिबद्ध रहेको उनले बताए । सीमित स्रोत साधनका बाजुद पनि काम अगाडि बढाएको र अब बिस्तारै उद्योग व्यसाय र अर्थतन्त्र लयमा फर्किरहेको उनले जानकारी गराए ।

भवन उद्घाटनका क्रममा सम्बोधन गर्दे उनले जनताको भवनालाई बुझेर बैंकको व्याज कम गराउन सरकारले काम गरकाले केही राहत भएको समेत बताएका थिए । ‘अब आत्तिनुपर्ने आवश्यकता नरहेको तथा नेपाल आउने दिनमा बिस्तारै आर्थिक हिसाबले सबल बन्दै गएकोले अब कसैले पनि चिन्ता लिन पर्दैन’, मन्त्री महतले भने ।

कार्यक्रममा मधेस प्रदेशका उपसभापति चन्द्रशेखरप्रसाद यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया लगायतकाले शुभकामना मन्तव्य व्यक्त दिएका थिए । महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय कुशवाहा तथा कार्यक्रम सञ्चालन लक्ष्मी खरेलले गरेकी थिइन् ।

उक्त प्रशासकीय भवन श्रद्धा कन्ट्रक्सनद्वारा ३ करोड ९६ लाख ८ सय ९६ रुपैयाँको लागतमा दुई बिघा क्षेत्रफलमा ३० वटा कोठा, दुई वटा सभाहल र ६ वटा शौचालयसहित निर्माण भएको छ ।

प्रतिक्रिया