पर्सा । जिल्लाको ग्रामीण भेगमा पानीको मुहानहरू (इनार) लोप हुँदै गएको छ । विगतमा खानेपानी तथा अन्य प्रयोजनका लागि बनाएका इनारहरू अहिले लोप हँुदै गएका हुन् । इनारबाट सर्वसाधारणहरूले खान, नुहाउन, भाडा माझ्न लगायतका दैनिक कामकाजका लागि पानीको उपयोग गर्ने गर्दछन् । यस्तै चाडवाडका समयमा समेत पूजापाठ गर्नुको साथै किसानहरूले उत्पादन गरेका अन्न सबैभन्दा पहिले इनारमा चढाउने परम्परा छ ।
धोबिनी गाउँपालिका–४ लंगडीका किसान लालबाबु पटेलले इनारमा कोइला माताको बास रहने भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । यति मात्र होइन, छोराछोरीको विवाहमा बिहान कोइलामाताको गीत गाउँदै पूजापाठसमेत महिलाहरूले गर्ने गरेको स्थानीय ज्ञान्ती देवीले बताइन् । उनका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेका इनार लोप हुँदै गएको छ ।
विगतका समयमा प्रत्येक टोलमा एउटा इनार हुन्थ्यो । हरेक मठमन्दिरमा कम्तीमा एक वटा इनार निर्माण गरेको जानकारहरू बताउँछन् । इनारमा ढाकछोप नगर्नाले पानीमा फोहोरमैला, धुलो पस्ने भएकाले पानी प्रदूषित हुने र उक्त पानी खान नमिल्ने नयाँ पुस्ताका युवाहरूको बुझाइ छ । सोही कारण इनारको संरक्षण भन्दा चापाकल, अटोमेटिक पानी आउने धारा जडान गर्ने चलन बढेको भेडिहारीका अरमान खाँले बताए । धोबिनी गाउँपालिका–३ हरिहरपुरमा रहेको इनारबाट सर्वसाधारणले अहिले पनि पिउने पानीको प्रयोग गर्दै आएको हरिहरपुका पवन पटेलले बताए ।
इनारहरूमा ऐतिहासिक शिलालेखहरू पनि रहने भएकाले यसको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिँदै यसको संरक्षणको अभावमा भविष्यमा सन्ततिहरूले इनार देख्न समेत नपाउने जानकारहरू बताउँछन् । यति मात्र होइन, गाउँघरमा कुनै बेला आगलागी हुँदा आगो निभाउन इनारबाट धेरै मद्दत पुग्ने गरेको पोखरिया नगरपालिकाका शिक्षक गन्नी अन्सारीले बताए ।
अचानक आगलागी हँुदा स्थानीयले इनारबाट पानी निकालेर आगो निभाएको देखिएका उनले इनारहरू लोप हँुदा चापाकलबाट आगो निभाउने प्रसार गर्दा धेरै क्षति हुने गरेको बताए । इनार मुहान सफा बनाई पानीको प्रयोग गर्न र इनारको संरक्षण गर्न स्थानीय सरकारसँग उनले आग्रह गरे । चापाकलको पानीको स्तर घटेकाले पानीको हाहाकार हुने गरेको बेला इनारको पानी काम लाग्ने जानकारहरूको अनुभव छ ।
पर्सा
प्रतिक्रिया