रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व नगरप्रमुख धर्मेन्द्र पटेलले विशेष अदालतबाट सफाई पाएका छन् । २०७८ सालमा पटेल नगर प्रमुख हुँदा घुस रकम लिएको भन्दै अख्तियारका टाेलीले पक्राउ गरेका पटेलले विशेष अदालतबाट सफाई पाएका हुन् । मेयर पटेलसँगै उनका सहयोगी अशोक पटेललाई समेत अख्तियारले पक्राउ गरिएको थियो र साेही मुद्दामा आफूहरू दुवैजनाले सफाई पाएकाे पटेलले बताए ।
शुक्रबार सामाजिक सञ्जाल मार्फ जानकारी दिदै पूर्व मेयर पटेलले भनेका छन्, ‘म र मेरो सहयोगीमाथि लागेको झुठो घुस (रिसवत) भ्रष्टाचार मुद्दाबाट सफाई पाई न्याय पाएकाे छु ।’
पटेलले आफ्नो पीडा र दु:खको समयमा सहयोग गर्ने हाम्रा सम्पूर्ण शुभचिन्तक इष्टमित्र, आफन्त तथा न्यायीक प्रक्रियामा तथ्य प्रमाण तथा कानूनको विश्लेषण गरि बहस गरि सहयोग गर्नु हुने अधिवक्ता अजय कुमार पटेल सहितलाई धन्यवाद दिएका छन् ।
अख्तियारले २०७८ फागुन १५ गते उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयकाे टोलीले पटेललाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेकाे थियो ।
नगरपालिकाकै वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पूर्व मेयर पटेल र उनका स्वकीय सचिव अशोक पटेललगायत चारजना पक्राउ परेका थिए । पक्राउ पछि उनी निलम्बित भएकै कारण गत स्थानीय तहको निर्वाचनमा उनी उमेदवारीबाट वञ्चित भएका थिए ।
प्रतिक्रिया