काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्याउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्ये योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका हुन् ।
शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्ने सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया