इलाममा अलैँची उत्पादन बढ्यो

इलाम । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ७ दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख टोनि बर्देवाले जानकारी दिए । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार ३ सय २० दशमलव ५ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस वर्ष १ हजार ७ सय ५३ हेक्टर क्षेत्रमा अलैँची खेती लगाइएको छ ।
अघिल्लो आव ०७९÷०८० मा १ हजार ७ सय ५५ हेक्टर क्षेत्रमा अलैँची खेती गरिएकोमा १ हजार २ सय १५ दशमलव २६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

अलैँचीको बगान घटे पनि कृषकले करेसाबारीमै रोप्न थालेपछि उत्पादन र उत्पादकत्व वृद्धि भएको हो । गत आवमा उत्पादकत्व प्रतिहेक्टर शून्य दशमलव ६९ रहेकोमा चालु आवमा बढेर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको बर्देवाले जानकारी दिए ।

यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र खेती गरिने अलैँचीलाई पछिल्लो सयम कृषकले अन्य अन्न बाली छाडेर करेसाबारीमा रोप्न थालेका छन् । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिक रूपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकहरूले विजु विरुवा रोप्ने गरेका छन् ।

अलैँची विशेष गरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती जिल्लाका १० वटै स्थानीय तहमा आंशिक रूपमा हुने गरेको छ । त्यसमध्ये माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँची खेती हुने गरेको छ ।

भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समन्द्री सतहबाट सात सयदेखि २ हजार १ सय मिटर उचाइसम्म हुने गरेको छ । यसैगरी एभोकार्डोको पनि उत्पादन बढेको छ । गत वर्ष ५५ हेक्टर क्षेत्रमा ४ सय १९ दशमलव २२ मेट्रिक टन एभोकार्डो उत्पादन भएको थियो । यस वर्ष ६० दशमलव पाँच हेक्टर क्षेत्रमा ४ सय २२ दशमलव ५ मेट्रिक टन एभोकार्डो उत्पादन भएको छ ।

उत्पादकत्व भने घटेको छ । गत वर्ष प्रतिहेक्टर ७ दशमलव ६३ मेट्रिक टन उत्पादकत्व रहेकोमा यस वर्ष प्रतिहेक्टर ७ दशमलव शून्य ३ मेट्रिकटन मात्र रहेको छ । त्यस्तै यस वर्षदेखि इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर क्षेत्रमा ड्रागन फ्रुट खेती लगाइएकोमा यसवर्ष १० हेक्टरमा खेती लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया