न्यानो कपडा पाएपछि बालवालिका खुसी

मुगु । मुगुको सोरु गाउँपालिका ८ सिड्डीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका बालवालिका खुसी भएका छन् । अनुहारमा खुसी, शरिरमा फुर्ती कोही झोला हल्लाइ रहेका त कोहि नङ्ग टोक्दै हासिरहेका त कोहि एक अर्काको कपडा हातले सुम्सुमाइरहेका थिए । विजय माध्यामिक विद्यालय कालैमा अध्यनरत विद्यार्थीहरुले यो जाडो मौसममा न्यानो कपडा र स्कुलको ड्रेस पाएपछि देखिएको दृश्य हो यो ।

सोरु गाउपालिकाका भित्र ७ वटा सामुदायिक विद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई व्याक टु लाइफको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी मुगु) नामक गैर सरकारी संस्थाको सहजिकरणमा न्यानो कपडा र विद्यालयको ड्रेस उपलब्ध गराइए पछि बालवालिकामा खुसी छाएको हो ।

विद्यार्थी मात्र होइनन् आफ्ना छोरा छोरीले यो चिसोमा न्यानो कपडा पाएपछि अविभावकहरु पनि खुशी भएका छन् । केसिडिसी मुगु स्वास्थ्य, शिक्षा तथा सामुदायिक परियोजनाका प्रवन्धक कृष्ण बोहोराका अनुसार सोरु गाउपालिकाका ७ र छायानाथ रारा नगरपालिकाकाको १ विधालयमा अध्यनरत १ हजार ८५ विधाथीलाई न्यानो कपडामा ट्र्याक सुट, ज्याकेट, टोपी र ड्रेसमा सट, पाइन्ट, मेड्डी, जुत्ता र मोजा दिइएको छ ।

चिसो मौषममा न्यानो कपडाको अभावले र स्कुल ड्रेस नहुदा बालवालिकामा मनोबैज्ञानिक असर परेर अध्यापनमा असर नपरोस र कपडा कै कारण विद्यालय शिक्षाबाट वन्चित हुन नपरोस् भनेर न्यानो कपडा र ड्रेस वितरण गरिएको केसिडिसी मुगुकी अध्यक्ष संगिता मल्ल शाहीले जानकारी दिइन् ।

अध्यक्ष शाहीका अनुसार व्याक टु लाइफको आर्थिक सहयोगमा सोरु गाउपालिका विजय मावि कालैका ४९१, मष्टा आधारभुत विद्यालय तलिकालैका ८९, शिवदेव आवि खनायाका १२८, श्री नेराआवि सिड्डीका ५८, बालज्योती आवि गिलाहाका ५६, जनज्योती आवि रुमका १३२, महादेव आवि आसिधाराका २१ जना गरि जम्मा ९७५ जना छात्र छात्रालाई ड्रेस र न्यानो कपडा वितरण गरिएको छ । छायानाथ रारा नगरपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ११० जना विद्यार्थीलाइ न्यानो कपडा छिट्टै दिइने उनले बताइन् ।

कपडा मात्र होइन यी विद्यालयका विद्यार्थी बालवालिकालाई पटक–पटक कापी, कलम, पेन्सिल र झोला पनि दिंदै आएको जनाइएको छ ।

न्यानो कपडा, ड्रेस र स्टेशनरी पाउने थालेपछी विद्यार्थीहरु नियमित हुने, पढाइमा ध्यान दिने गर्न थालेको विजय मावि कालैका प्रधानध्यापक वीरबहादुर बमले बताए । उनले भने, ‘ग्रामिण भेगका बासिन्दाको आर्थिक अवस्था नाजुक छ । सामान्य कपडा, कापी कलमसम्म किन्न सक्ने क्षमता छैन । आफ्ना छोरा छोरीलाई कपडा, कापी कलम किन्न नसकेर स्कुल नपठाउने र बिचैमा छोड्न लगाउने गर्थे । कपडा स्टेसनरी सहयोगले कमजोर अविभावकको पिडामा मलम लागेको छ ।’ प्रअ बमले सहयोगी दातृ निकाय र संस्थालाइ धन्यवाद दिए ।

विजय मावी कालैमा कक्षा १० मा अध्ययनरत विद्यार्थी जेटकला कामीले कपडा पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘दशैँ विदापछि स्कुल खुल्यो स्कुल आउदा जाडो शुरु भैसकेको थियो । म सँग बाक्लो लुगा थिएन । आर्थीक अवस्था कमजोर भएके कारण घरबाट किन्न सक्ने अवस्था थिएन् । अब कपडा पाएपछि घरमा पनि सजिलो भयो ।’

त्यस्तै, नेपाल राष्ट्रिय आवि सिड्डीमा बालकक्षामा पढ्ने ४ वर्षिया सुनपुरा रोकाया आफूले लगाएको ज्याकेट समाएर हल्लाउदै तातो छ भन्दै खुशी व्यक्त गरिन् ।

व्याक टु लाइफले स्थानीय गैर सरकारी संस्थाको सहकार्यमा विगत लामो समय देखि मुगुमा स्वास्थ्य, शिक्षा, पुनर्निर्माण, राहत, उपचार, क्षेत्रमा काम गर्दै आएको छ । यसबाट गरिब, निमुखा, पीडित र महिला प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।

प्रतिक्रिया