अन्तरविद्यालय क्रिकेट : सेमिफाइनको समीकरण पूरा

धनुषा । जनकपुरधाममा जारी दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । रजौलस्थित रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको प्रतियोगितामा एरे इन्टरनेसनल स्कुल, सिद्धार्थ शिशु सदन, मिथिला इन्सटिच्युट अफ टेक्नोलोजी (मिट) र मदर ट्रेशा पब्लिक स्कुल सेमिफाइनलमा पुगेको हो ।

बिहीबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मदर ट्रेशाले ओम इन्टरनेसनल स्कुललाई ७८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेका मदर ट्रेशाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय २७ रनको लक्ष्य प्रतिद्वन्द्वी टिम ओम इन्टरनेसनलसमक्ष प्रस्तुत गरेका थिए ।

मदर ट्रेशाका लागि युवराज शर्माले ५३ बलमा ३१ रन, बजरंगी साहले ३१ बलमा २६ रन र किशन साहले १३ बलमा १३ रन टिमको लागि जोडेका थिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओम इन्टरनेसनलका लागि बलिङ गरेका विवेक मण्डलले २, राधे ऋषिले २, शाहिल अन्सारी र वारिस मन्सुरीले एक÷एक विकेट लिएका थिए । जवाफी ब्याटिङका लागि उत्रेका ओमका खेलाडीहरू ११ ओभर ३ बलमै सबै विकेट गुमाएर मात्र ४८ रन बनाउन सके । यस टिमको कमजोर ब्याटिङ देखिएको थियो । शाहिल अन्सारीले १३ बलमा १७ रन र शिवम यादवले ११ बलमा ११ रन मात्रै बनाए । यस टिमका लागि अन्य ब्याट्स म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।

मदर ट्रेशाका लागि बलिङ गरेका किशन साहले तीन, सुमित यादवले दुई, मनिष मण्डल, बिनम्र कुमार र युवराज शर्माले एक÷एक विकेट लिएका थिए । यस खेलका म्यान अफ द म्याच मदर ट्रेशाका किशन साह घोषित भएका थिए ।

यस्तै, चौथौ क्वाटरफाइनल खेलमा ऐरे इन्टरनेसनल स्कुलले मोर्डन इंग्लिस बोर्डिङ स्कुललाई ४८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेका ऐरेका खेलाडीहरू निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रनको लक्ष्य प्रतिद्धन्द्वी टिमसमक्ष प्रस्तुत गरेका थिए ।
ऐरेका लागि शाहिल राइनले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले पाँच चौका र दुई छक्काको मद्दतले ३६ बलमा ५२ रनको योगदान दिए । यसै टिमका लागि पेश ठाकुर नटआउट १६ बलमा १९ रन, अयुग शर्माले २१ बलमा १८ रन र युवराज साहले १६ बलमा १४ रन बनाएका थिए । मोर्डन इंग्लिसका लागि बलिङ गरेका शिवम पञ्जियारले तीन, पिन्टु यादव र अभिषेक यादवले एक÷एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेका मोर्डन इंग्लिसका खेलाडी १६ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र १ सय ९ रन बनाउन सकेका थिए । यस टिमका लागि विशाल साहले २५, आयुष पञ्जियारले १६ र आयुष खड्काले १२ रन बनाएका थिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

ऐरेका लागि बलिङ गरेका अकाश ठाकुर, पेश ठाकुर र शाहिल राइनले तीन÷तीन विकेट लिएका थिए । यस खेलका म्यान अफ द म्याच शाहिल राइन घोषित भएका थिए । विजयी भएका चारै टिम शुक्रबार फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक संंस्थाले जनाएको छ ।

प्रतिक्रिया