महोत्तरी । शसस्त्र प्रहरी असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय तोकिएका प्रदेशसभा सदस्य एवं पूर्वराज्यमन्त्री अभिराम शर्माले जनसमुदायको नाममा विज्ञप्ती जारी गर्दै मधेस आन्दोलनको समयमा भएका विभिन्न घटना, दुर्घटनाप्रति पूर्वाग्रही ढंगबाट महोत्तरी जिल्ला अदालतले फैसला गरेको उल्लेख गरेका छन् ।
उनले फैसला दुर्भाग्यपूर्ण रहेको भन्दै धैर्यधारण गरी संघर्ष जारी राख्न अपिल गरेका छन् । जनताले सदैव साथ दिएकोले आज न्यायालयको विभेदकारी फैसलाविरुद्ध पनि जनताको साथमा विजयी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी अदालतको यस फैसलाको कडा रूपमा विरोधका साथ जनसमुदायसँग मिलेर लडिरहने लोसपा प्रदेशसभा सदस्य रानी शर्माले बताइन् ।
सशस्त्र प्रहरी असई थमन विकको हत्या मुद्दामा जिल्ला अदालत महोत्तरीले फैसला सुनाउँदै हाल पुर्पक्षमा रहेका प्रदीप साह माझी र संजयकुमार साहसहित लोसपाका जिल्ला समितिका मोहन ठाकुर, लोसपाका केन्द्रीय सदस्य तथा जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र, पूर्वराज्यमन्त्री तथा लोसपाका संसदीय दलका नेता अभिराम शर्मा, लोसपाका केन्द्रीय उपाध्यक्ष सुरेश पाण्डेय र जसपाका नेता धर्मेन्द्र रायलाई ज्यानसम्बन्धी महलको १ र १३ (३) नं. बमोजिम कसुर गरेकोले सोही १३(३) बमोजिम बिहीबार जन्मकैदको फैसला सुनाएको छ । सोही मुद्दामा संसद्बाट निलम्बित रहेका लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरलाई अदालतले अभियोग दावीबाट सफाइ दिएको छ ।
जन्मकैदको सजाय तोकिएका सात जनालाई एम्बुलेन्समा आगलागी गरेको अर्को लगाउ मुद्दामा मुलुकी ऐन, आगो लगाउनेको महलको ४ नं. को कसुरमा सोही ४ नं. बमोजिम जनही थप ६ महिना कैद र १० लाख क्षतिपूर्तिको फैसला गरिएको छ । उक्त क्षतिपूर्तिको रकम नेपाल सरकारलाई बुझाउनुपर्ने फैसला गरिएको श्रेस्तेदार नुतन शर्माले बताइन् । जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले सो फैसला गरेको हो ।
यता अदालतको निर्णयको सांसद लक्ष्मी महतो कोइरीले सम्मानसहित स्वागत गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै कोइरीले अदालतले न्यायपूर्ण फैसला सुनाएको भन्दै धन्यवाद दिएका थिए । मधेसवादी दलहरूले मुद्दा सुरु भएकै बेलादेखि आफूहरूलाई फसाउन र मधेस आन्दोलन दबाउन ठुलो षडयन्त्र स्वरूप घटनामा नाम समावेश गरिएको बताउँदै आएका छन् । वैदेशिक रोजगारीमा रहेकाहरूको नाम समेत घटनामा समावेश गरिएकोले नितान्त आन्दोलन दबाउन नेताहरू तथा निर्दोषहरूलाई मुछिएको बताउँदै आएका हुन् ।
आन्दोलनकारीको तर्फबाट सशस्त्र प्रहरी असई थमन विकको हत्या गरिएको भन्दै सरकार पक्षबाट जिल्ला अदालत महोत्तरीमा २०७२ फागुन २७ गते मुद्दा दर्ता गरिएको थियो । सोही मुद्दामा हालसम्म ३८ पटक पेसी परेको छ । सोही मुद्दामा जलेश्वरका संजयकुमार साह र प्रदीप साह माझी तथा जलेश्वर–९ का पवन कापडा पुर्पक्षका लागि थुनामा छन् भने प्रदीप र संजयसँगै पक्राउ परेका मोहन ठाकुर साधारण तारेखमा रिहा भई मुद्दा खेपीरहेका थिए ।
सोही मुद्दामा जिल्ला अदालत महोत्तरीबाट धरौटीमा छुटेका निलम्बित कोइरीको हकमा उच्च अदालत जनकपुरले थुनामै राख्नुपर्ने आदेश पछि उनी फरार रहँदै आएका थिए । यता जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख रामशंकर मिश्र तथा मधेस प्रदेशका पूर्वराज्यमन्त्री तथा सांसद अभिराम शर्मा, पूर्व जिल्ला समन्वय समिति प्रमुख सुरेशप्रसाद सिंह र नेता धर्मेन्द्र रायसमेत साधारण तारेखमा थिए । सोही घटनामा उनीहरूसहित २८ जनाविरुद्ध मुद्दा रहेको थियो । उक्त मुद्दामा अदालतमा उपस्थित भएका तथा पक्राउ परेका बाहेक अन्य फरार छन् ।
मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते बिहान जलेश्वरमा केही व्यक्तिहरूले सशस्त्र असई थमन विकलाई कुटपिट गरी घाइते बनाएकोमा उनको उद्धार गरी जलेश्वर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि जनकपुर लग्ने क्रममा महोत्तरी गाउँपालिकाको सोनुषडास्थित धान खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । भदौ २३ गते नै सुरक्षाकर्मीको गोलीबाट चार जना आन्दोलनकारीको मृत्यु भए लगतै प्रशासनको तर्फबाट कफ्र्यु लगाइएकोमा भदौ २५ गते बिहान दुई घण्टाको लागि कफ्र्यु खोलिएपछि सो घटना भएको थियो । यी दुई घटना सेलाउन नपाउँदै पहिलो दिन सुरक्षाकर्मीको गोलीबाट मारिएका रोहन चौधरीका हजुरबुवा गणेश चौधरी र एक महिला आन्दोलनकारीलाई समेत सुरक्षाकर्मीबाट गोली हानिएको थियो ।
मृतक असई थमनकी श्रीमती शोभा गहतराजको तर्फबाट विकका दाजु प्रेम विकको जाहेरीमा नेपाल सरकारका तर्फबाट मुद्दा दायर गरिएको थियो । २०७२ सालको मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरी असई थमनको हत्या अभियोगमा लोसपाका महासचिव तथा पूर्वराज्यमन्त्री अभिराम शर्मा सहितका सात जनालाई अदालतले दिएको जन्मकैदको सजाय मधेसीको विरुद्ध अदालतको अन्यायपूर्ण फैसला भएको भन्दै जलेश्वरमा विरोध प्रदर्शन गर्दै सो फैसला उल्ट्याउन माग गरिएको छ ।
लोसपाले जलेश्वरमा बिहीबार गरेको विरोध र्याली पश्चातको कोणसभामा बोल्दै लोसपा नेताहरूले सो माग गरेका हुन् । उनीहरूले राजनीतिक मुद्दालाई मधेसबाट मधेसी दललाई समाप्त पार्न सरकारको सुनियोजित प्लानिङ अनुसार अदालतको सो फैसला आएको आरोप लगाए । कोणसभामा बोल्दै लोसपाका केन्द्रीय उपाध्यक्ष रानी शर्मा तिवारीले केन्द्रमै समेत शीर्षनेताहरूको बैठक चलिरहेको बेला मधेसमा आन्दोलनको विगुल फुकिसकेको बताइन् । उनले जन्मकैद सुनाइएका सबै सात जना मधेसी नेता मधेसको हिरो भएको बताउँदै हरेक घरमा अभिराम शर्मा, सुरेश पाण्डेय र शंकर शाहीजस्ता नेताले जन्म लिने बताइन् । उनले अदालतको फैसला नसच्याइए मधेसमा ठूलो आन्दोलन हुने र त्यसको क्षति सरकारले नै बेहोर्नुपर्ने बताइन् ।
यता पार्टीका अर्का नेता केन्द्रीय महासचिव तथा पूर्वसांसद परमेश्वर साहले अदालतको अन्यायपूर्ण फैसलाको मधेसमा विरोध हुनेमा दुईमत नभएको बताए । उनले आन्दोलनको समय भएको मृत्युलाई अदालतले हत्याभन्दा सोही आन्दोलनमा सुरक्षाकर्मीबाट मारिएका आन्दोलनकारीको हत्याको इन्साफसमेत हुनुपर्ने बताए । उनले सम्पूर्णलाई आन्दोलनमा सघाउनसमेत आह्वान गरे ।
महाेत्तरी
प्रतिक्रिया