इतिहासका चर्चित पात्रहरूलाई जन्मतिथिमा र मृत्युतिथिमा विशेष संझना गर्ने चलन छ । तर नेपालको इतिहासमा यस्ता केही चर्चित पात्र छन्, जसको जन्म र मृत्युतिथि प्रति खासै जनचासो देखिँदैन र अधिकांश जनतालाई थाहा पनि छैन । ती पात्र हुन्, ‘जंगबहादुर राणा र महेन्द्र शाह ।’ १९०३ असोज २ गते हनुमान ढोकास्थित कोतको पटांगिनीमा प्रधानमन्त्रीसहित करिब चार दर्जन दरबारिया भाइभारदारको हत्या गरेर जंगबहादुर राणाले शासन सत्ता आफ्नो हातमा लिए । जसलाई राणा शासनको आरम्भका रूपमा लिइन्छ । कोतपर्वको माध्यमद्वारा जंगबहादुरले आरम्भ गरेको राणाशासन नेपालमा १ सय ४ वर्षसम्म चल्यो । त्यसैले जंगबहादुर राणाको जन्म र मृत्युतिथि गुमनाम भए पनि कोतपर्वको तिथि गुमनाम छैन । कोतपर्वको माध्यमद्वारा जंगबहादुरले सुरु गरेको एकतन्त्रीय राणाशासन २००७ सालको जनक्रान्तिद्वारा फालियो । एकतन्त्रीय राणाशासन फाल्न हजारौँ नेपालीले बलिदानी दिए । तर एकदशक बित्दानबित्दै २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले २००७ सालको जनक्रान्तिका उपलव्धीहरू उल्ट्याउँदै शासन सत्ता आफ्नो हातमा लिए । महेन्द्र शाहले आरम्भ गरेको पारिवारिक निरंकुश शासन करिव ३० वर्षसम्म चल्यो । त्यसैले महेन्द्र शाहको जन्मदिन जेठ ३० र मृत्यु भएको दिन माघ १७ बारे अधिकांश जनता अनभिज्ञ भए पनि पुस १ को दिन भने हरेक वर्ष उनको चर्चा गरिन्छ ।
पञ्चायतकालमा त पुस १ गतेको दिनलाई नेपालको सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने चलन थियो । एक सातासम्म राजा महेन्द्रको जयजयकार गर्न लगाउँदै स्कुले विद्यार्थीहरूलाई गाउँगाउँ डुलाउने गरिन्थ्यो । कक्षा १ देखि १० सम्मको नेपाली पुस्तकको नाम नै महेन्द्रमाला राखिएको थियो । महेन्द्रमाला पुस्तकमा राजपरिवारका सदस्यका नाममा लेखिएका गीत कविताहरू पाएसम्म र भेटेसम्म समेटिन्थ्यो । पुस १ गते राजा महेन्द्रले गरेको काण्ड कोतपर्वभन्दा पनि खतरनाक थियो भन्ने कुरा जसले बुझेका थिए, उनीहरूलाई अराष्ट्रिय तत्वको संज्ञा दिएर सर्वस्वहरण गर्दै खेदिएको थियो । प्रतिकार गर्न खोज्नेलाई कि त मारिएको थियो, कि त जेलमा थुनिएको थियो । तर २०४६ सालको जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था ढलेपछि पुस १ गतेको काण्ड सबै नेपालीका सामु पर्दाफास भयो । त्यसपछि पुस १ गतेलाई पनि असोज २ को कोतपर्व जस्तै नेपाली इतिहासको कालोदिनका रुपमा स्मरण गर्न थालियो । हरेक वर्षको पुस १ गतेको सेरोफेरोमा राजा महेन्द्रका कालाकर्तुतहरू मिडियामा आइरहे ।
३० वर्षे पञ्चायती शासन ढलेको पनि करिब ३५ वर्ष पुगिसकेको छ । राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको पनि १५ वर्ष बितिसकेको छ । तर गणतन्त्रको अवधि जति जति बित्दैछ, त्यति त्यति पुस १ गतेलाई कालो दिन भन्नेहरूको स्वर मलिन हुँदै र त्यो दिन महेन्द्र शाहले जे गरे, ठीक गरे भन्नेहरूको स्वर कडा हुँदै गएको छ । यस वर्षको पुस १ गते त राजा महेन्द्रको निन्दाभन्दा प्रशंसा गर्नेहरू सामाजिक सञ्जालमा हावी भएको देखियो । राजा महेन्द्रलाई महानायक भन्नेहरूको संख्या गणतन्त्र स्थापना यताका पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । उनीहरूले महेन्द्र शाहद्वारा शासन सत्ता हातमा लिएको दिन २०१७ सालदेखि उनको मृत्यु भएको दिन २०२८ साल सम्मको १० वर्षको अवधिमा देशमा भएका विकास निर्माणको काम र पछिल्ला १० वर्षको अवधिमा भएका विकास निर्माणका कामहरूको तुलना गर्ने गरेका छन् । यसरी तुलना गर्दा गणतन्त्रको पछिल्लो १० वर्षभन्दा राजा महेन्द्र शाहको सक्रीय शासनकालको त्यो १० वर्ष नै ठिक रहेछ कि ? भन्ने जमात बढ्दै जानु स्वभाविकै हो । किनकी राजनीतिक पदमा जान चासो नभएका र जाने हैसियतसमेत नभएका सर्वसाधारण जनतालाई राजनीतिक तन्त्रसँग खासै सरोकार हुँदैन । ‘बिरालो चाहे सेतो होस् या कालो मुसा मारे पुुग्छ’ भनेजस्तै यो वर्गका जनताका लागि चाहिएको भनेको रोजगारी, सुशासन र सहज जीवनयापन हो । तर गणतन्त्रको पछिल्लो १० वर्षको शासनशैली हेर्दा देश त्यो दिशातर्फ गइरहेको छैन । जंगबहादुर या महेन्द्र शाहको पुनरागमनको पक्षमा माहौल बढ्दै जानु खतराको संकेत हो ।
प्रतिक्रिया