महसुल नतिर्ने ग्राहकको लाइन काट्दै मौलापुर वितरण केन्द्र

रौतहट । ६० दिन नाघेका लामो समयदेखि बाँकी वक्यौता नतिर्ने ग्राहकको लाइन नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले धमाधम काटिरहेको छ । प्राधिकरणले देशैभरि चलाएको लाइन काटा अभियानलाई मौलापुर वितरण केन्द्रले तदारुकताका साथ अगाडि बढाइरहेको छ । विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि मौलापुर वितरण केन्द्रले लाइन काट्ने अभियान चलाइरहेको छ ।

विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन काट्न सकिने प्रावधान रहेको र पटकपटक सार्वजनिक सूचनामार्फत जानकारी गराउँदा पनि अटेर गरी महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको मौलापुर वितरण केन्द्रका प्रमुख ई.दिनेश यादवले बताए ।

२६ हजार १ सय ५५ ग्राहक रहेको मौलापुर वितरण केन्द्रमा ४१ करोड ८६ लाख ९२ हजार ५ सय ४८ रुपैयाँ ३७ पैसा बक्यौता छ । जुन असुल हुन सकेको छैन । वितरण केन्द्रका प्रमुख यादवले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षमा १ सय ७५ जनाको लाइन कट्टा गरिएको जानकारी गराए । उनले भने, एकदिनमा ४६ लाख ३५ हजार १ सय ३९ रुपैयाँ ६५ पैसा बराबरको लाइन काटिएको छ । यसलाई हामी अझै तीव्रताका साथ अगाडि बढ्नेछौँ । मौलापुर वितरण केन्द्रले यो अभियानलाई निरन्तर सञ्चालन गरी बाँकी वक्यौता रहेका सबै ग्राहकको लाइन काटिने पनि प्रमुख यादवले बताए । त्यसैले समयमै बक्यौता महसुस रकम बुझाउन सम्पूर्ण उपभोक्ताहरूमा आग्रह गरे ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया