‘योग्यताका आधारमा विश्वविद्यालयमा उपकुलपति’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन् ।
सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबण्डाको अन्त्य गर्नेसमेत प्रतिवद्धता जनाए ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबण्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने प्रतिवद्धता जनाउँछु ।’ उनले नेपालमा आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए । उनले आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुन नहुने पनि बताए । उनले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताए ।
उनले भने, ‘कतिपय विकसित देशहरूमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ । हामी पनि सोही दिशामा अग्रसर भइरहेका छौँ । आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ ।’

प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्व बजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौती रहेको बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उनको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ ।

सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९औँ दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएको त्रिविले जनाएको छ । यो संख्या कुनै विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रूपमा उपस्थित सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वल्र्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको छ ।

प्रतिक्रिया