सिरहा । महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले सिरहामा पनि बेरुजु बढिरहेको देखाएको छ ।
सिराहाका १७ वटै पालिकामा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिबाट ६ अरब ८२ करोड ६१ लाख ५८ हजार ७ सय रुपैयाँ बेरुजु रकम असुल गर्नुपर्ने देखिएको छ ।
सिरहाका पालिकाहरुले बेरुजु फर्छ्यौटमा कुनै चासो दिएको देखिँदैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ ९२० (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । तर पनि सिरहाका स्थानीय पालिकाका कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता देखाएका छैनन् ।
महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन–२०७९ अनुसार सबैभन्दा बढी सिरहा नगरपालिकाको ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ बेरुजु छ । साथै दोस्रोमा लहान नगरपालिकामा ८५ करोड ४ लाख ४९ हजार रुपैयाँ बेरुजु छ । धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।
सिराहा नगरपालिकाको गत आर्थिक वर्षसम्म ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ बेरुजु छ । आर्थिक वर्ष २०७८–७९ सम्मको अद्यावधिकमा ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, लहान नगरपालिकाको गतवर्षसम्म ६२ करोड २४ लाख ११ हजार रुपैयाँ रहेको बेरुजु महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख भए अनुसार बढेर ८५ करोड ४ लाख ४९ हजार रुपैयाँ देखिएको छ। यस्तै, महालेखाको प्रतिवेदनका अनुसार सुखीपुर नगरपालिकामा गत आर्थिक वर्षसम्म २३ करोड ९६ लाख ९६ हजार रुपैयाँ रहेको बेरुजुमा थपिएर ३६ करोड १४ लाख २८ हजार रुपैयाँ पुगेको उल्लेख छ ।
गोलबजार नगरपालिकाको गत वर्षसम्म २९ करोड ७१ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेकामा हालसम्मको अद्यावधिकमा ३७ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । कर्जन्हा नगरपालिकामा गतआर्थिक वर्षसम्म २० करोड ५० लाख ६६ हजार रुपैयाँ रहेको बेरुजु बढेर २९ करोड ५ लाख २९ हजार रुपैयाँ भएको छ । कल्याणपुर नगरपालिकाको गत वर्षसम्म ३४ करोड २२ लाख ९१ हजार रुपैयाँ रहेको बेरुजुमा थपिएर ४१ करोड ८२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
धनगढीमाई नगरपालिकामा पनि अघिल्लो आर्थिक वर्षसम्म ४० करोड ५१ लाख ८७ हजार रुपैयाँ रहेको बेरुजु हालसम्मको अद्यावधिकमा ५६ करोड ६३ हजार रुपैयाँ पुगेको छ । मिर्चैया नगरपालिकामा गतवर्षसम्म ४० करोड ६० हजार रुपैयाँ बेरुजु देखिएकामा २०७८–७९ सम्ममा आइपुग्दा ५१ करोड ३२ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।
अर्नमा गाउँपालिकाको गतवर्षसम्म १९ करोड ८७ लाख २ बजार रुपैयाँ रहेको बेरुजु बढेर २३ करोड ३९ लाख ९२ हजार रुपैयाँ पुगेको छ । औरही गाउँपालिकामा अघिल्लो आर्थिक वर्षसम्म ३० करोड ४७ लाख ६९ हजार रुपैयाँ देखिएको बेरुजु बढेर ३२ करोड ६८ लाख ८ हजार रुपैयाँ पुगेको महालेखाले जनाएको छ ।
यसैगरी, नरहा गाउँपालिकाको महालेखाको प्रतिवेदन अनुसार, २७ करोड ९६ लाख १८ हजार रुपैयाँबाट बढेर बेरुजु ४० करोड ४ लाख ८६ हजार रुपैयाँ पुगेको छ । त्यसतै, लक्ष्मीपुर पतारी गाउँपालिकाको गतवर्ष सम्ममा २७ करोड ८५ लाख २४ हजार रुपैयाँको बेरुजु रहेकोमा अद्यावधिकमा ३४ करोड १९ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
यता, नवराजपुर गाउँपालिकामा ३ करोड ८ लाख ८५ हजार रुपैयाँबाट बढेर बेरुजु १२ करोड ३२ लाख २७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, बरियारपट्टी गाउँपालिकामा गत वर्षसम्म २४ करोड ३५ लाख ९० हजार रुपैयाँ बेरुजु रहेकामा हालसम्मको अद्यावधिकमा ४१ करोड ६५ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
विष्णुपुर गाउँपालिकामा ३० करोड २८ लाख ७३ हजार रुपैयाँ बेरुजु रहेकामा बढेर ३६ करोड २२ लाख ६२ हजार रुपैयाँ पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यता, भगवानपुर गाउँपालिकाको १० करोड ६७ लाख ५९ हजार रपैयाँबाट बढेर २१ करोड २१ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
सखुवानाकन्कारकट्टी गाउँपालिकामा भने १२ करोड ७८ लाख १८ हजार रुपैयाँबाट बढेर १७ करोड ७९ लाख ४१ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । फछर्यौट गर्न बाँकी सम्पूर्ण रकम असुल फछर्यौट गर्न महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा सुझाएको छ ।
प्रतिक्रिया