ड्रिम नेपाल युवा संघ सप्तरीद्वारा भूकम्प प्रभावितका लागि राहत संकलनमा निरन्तरता

राजबिराज । सप्तरीमा ड्रिम नेपाल युवा संघले भूकम्प प्रभावितका लागि राहत संकलनलाई निरन्तरता दिएको छ ।

ड्रिम नेपाल युवा संघ सप्तरीले भूकम्प प्रभावित क्षेत्रका लागि मानवीय सहायता सामग्री संकलन गरी वितरण गर्ने निर्णय गर्दै सप्तरी जिल्लामा नागरिक समाज, ब्यापारी, युवा विद्यार्थीहरुको सहयोग संकलन अभियान सुरु गरेको हो । संघका अध्यक्ष कमल किशोर साहको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावितहरूको सहयोग र राहतकार्यमा जुट्न जिम्मेवारी तोक्दै विभिन्न निर्णयहरू गरेको छ ।

प्राकृतिक विपत्तिले ल्याएको मानवीय संकटमा रकम, खाद्यान्न, लत्ताकपडा, त्रिपाल लगायतका सामग्रीहरु संकलन गरी भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा घटना स्थल जाजरकोट गएर सामाग्री वितरण गर्ने ड्रिम नेपाल युवा संघ सप्तरीका अध्यक्ष साहले जानकारी दिए ।

संघका अध्यक्ष साहले आफ्नो टिमले विभिन्न सामग्रीहरु भूकम्प प्रभावित क्षेत्रलाई हाल चाहिने आवश्यकता अनुसारको केही दिनभित्र नै खरिद गर्ने सल्लाह सुझाव गरी खरिद गर्ने बताए ।

उनले भने, ‘कर्णाली प्रदेशमा गएको भूकम्प र त्यसले गरेको विनाशका सन्दर्भमा देशभरबाट सहयोग, उद्धारका कार्यहरु हुने क्रम जारी छ, त्यही सिलसिलामा हाम्रो युवा संघले विभिन्न सामग्रीहरु जम्मा गरेर सहयोग पुर्याउन धेरै दिनदेखि पहल सुरु गरेका छौँ ।’

उनले सरकारले राहतको कार्यमा ढिलाइ गरेको भन्दै एकद्वार नीतिअन्तर्गत सेवाहरु छिटो पुर्याउन आग्रह गरे ।उनले भने, ‘झन्डै एक महिनौँ भइसकेको छ, कतिपय पीडित जनताले सहयोग पाउन नसकेको कुराहरु आइरहेको छ। सरकार किन ढिला भइरहेको छ, एकद्वार नीतिअन्तर्गत सेवा पुर्याउने कुरा नराम्रो होइन तर ढिला हुनु आपत्तिजनक कुरा हो, तदारुकताका साथ सहयोग पुर्याउनु पर्छ ।’

सरकार पनि थप छिटोभन्दा छिटो सहयोग र उद्धारको काम गर्नुपर्ने भन्दै नेपाल जस्तो देशलाई भूकम्पको प्रकोपबाट मुक्त गर्ने योजनाहरु बनाएर सबै अगाडि बढ्नु पर्ने पनि साहले बताए । सहयोगको लागि आग्रह गर्दै दिनप्रती दिन हामीलाई सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुको फोटो–तस्बिर तथा सहयोग गर्ने रकम वा समाग्री समाजिक सञ्जालबाट जानकारी गराउँदै आएको छु ।’

विसं २०८० कार्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया