सर्लाही । सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनि उद्योगले यस वर्ष ३५ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको जनाएको छ । उद्योग शुक्रबारबाट चलान वितरण गरेर २६ गतेबाट उखु क्रसिंङ गर्ने तयारीमा रहेको बताउँदै उद्योगका प्रशासकिय प्रमुख ठाकुरप्रसाद नेपालले यस सिजनका लागि उद्योग सञ्चालनको अन्तिम तयारी पुरा भएको जानकारी दिए ।
उद्योगले गत सिजन २८ लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । यस क्षेत्रमा उखु उत्पादनको क्षेत्रफल नबढेको भएपछि गुणस्तरीय जातको उखु खेती भएकाले उत्पादन १० देखि १५ प्रतिशतले बढेको उद्योगले अनुमान गरेको छ । उत्पादन बढेकाले क्रसिङ लक्ष्य बढाइएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उद्योगले यस वर्षको चैत मसान्तसम्म उखु क्रसिङ गर्ने जनाएको छ ।
ईन्दुशंकरले किसानसँग उखु खरिद गरेको रकम यसअघि नै भुक्तानी गरिसकेको छ । तर, सरकारले दिने भनेको अनुदानबापतको रकम अझै नपाएको किसानहरुले गुनासो गरेका छन् । बागमती नगरपालिका–२, निवासी शंकर थापाले अर्को सिजन सुरु हुनै लाग्दासमेत सरकारले अनुदान रकम नदिएर किसानलाई दुःख दिएको गुनासो गरे । ईन्दुशंकरसहित सर्लाहीमा तीनवटा चिनी उद्योग रहेका छन् ।
त्यसमध्ये गोडैताको महालक्ष्मी चिनी उद्योग र ईन्दुशंकर चिनी उद्योग हरिवन मात्र नियमित सञ्चालनमा रहेको छ । अर्को धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योग किसानको भुक्तानी समयमै दिन नसकेपछि पटक–पटक खुल्दै र बन्द हुँदै आएको छ । गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योगले केही दिन पहिलाबाट क्रसिङ सुरु गरिसकेको छ । तर, गत सिजनको उखुको पैसा भुक्तानी गर्दै नगरी उद्योग सञ्चालन गरेको भन्दै उखु किसानले असन्तुष्टी जनाएका छन् ।
सोही कारण धेरै उखु किसानले यस वर्ष उखु हरिवन तथा रौतहटको उद्योगमा लगेर बिक्री गर्ने मनस्थिती बनाएको गोडैता नगरपालिका– ५ रामबनका राज मंगल साहले बताए । सर्लाहीमा वर्षेनी ७० लाख क्वीन्टलको हाराहारीमा उखु उत्पादन हुँदै आएको छ ।
ईन्दुशंकर चिनी उद्योगले बिहीबार बिहानको साइतमा डुंगा पूजा गर्दै डुंगामा उखु खसालेर क्रसिङ साइत गरेको जनाएको छ । डुंगा पूजामा मिलगेट क्षेत्रका अगुवा उखु किसान, राजनैतिक दलका स्थानीय नेता, विभिन्न कार्यलयका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।
सर्लाही
प्रतिक्रिया