सर्लाही । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले नगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।
सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै नेपाली र अंग्रेजी माध्यमबाट सिकाइ, शिक्षकको पनि प्रयोगात्मक परीक्षा, विद्यालयका लागि अतिरिक्त क्रियाकलाप सुरु गरेपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको संख्या बढेको नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए ।
नगरपालिकाको पहलमा बृहत् राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा निर्वाह गरेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको उनले बताए ।
ती सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको समेत व्यवस्था गरिनु अभिभावक र विद्यार्थीको आकर्षणको मुख्य पाटो रहेको नगर शिक्षा शाखाका ओमबहादुर कार्कीले बताए । उनका अनुसार नगरभित्रका २५ वटै सामुदायिक विद्यालयमा नेपाली र अंग्रेजी माध्यामबाट अध्यापन भइरहेको छ ।
कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यम र कक्षा ६ देखि १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा अध्यायन भइरहेको नगर शिक्षा शाखाले जनाएको छ । नगरभित्र रहेका पाँच वटा माध्यमिक विद्यालयमध्ये तीन वटामा प्राविधिक विषयको पनि अध्यापन भइरहेको छ । वडा–८ स्थित शंखरपुरमा रहेको नवजन जागरण माविमा पशु सेवा, बागमती नगरपालिका–५ स्थित सोल्टीमा रहेको जनता माविमा कृषि र बागमती नगरपालिका–११ स्थित कर्मैयामा रहेको श्री ५ महेन्द्र माविमा सिभिल इन्जिनियरिङको अध्यापन भइरहेको नगर शिक्षा विकास समितिका संयोजक राजकुमार विकले जानकारी दिए ।
उनका अनुसार नगरभित्रका सामुदायिक विद्यालयमा गत शैक्षिक सत्रमा करिब सात हजार विद्यार्थी अध्यायनरत रहेकामा यसवर्ष करिब ७ हजार ६ सय विद्यार्थीको संख्या छ । नगरपालिकाभित्रका कुनै पनि सामुदायिक विद्यालयमा भएका भौतिक संरचनाभन्दा बढी विद्यार्थी हुने भएपछि भर्ना कार्यक्रम रोकेर संख्यात्मकभन्दा गुणात्मक विकास गर्न लागिएको उनले बताए ।
केही वर्ष अघिसम्म अधिकांश विद्यार्थी र अभिभावकको रोजाइ निजी विद्यालय थियो तर स्थानीय तहको निर्वाचन २०७४ पछि यहाँका जनप्रतिनिधिका साथै कर्माचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी नियम बनाएर ती विद्यालयको गुणस्तरमा सुधार भएपछि यहाँका अभिभावक र विद्यार्थीको रोजाइँ अहिले सामुदायिक विद्यालय नै भएको नवजन जागरण माविका प्रधानाध्यापक बद्रीप्रसाद पोख्रेलले बताए ।
उनका अनुसार निजी विद्यालयकै झैँ नेपाली र अंग्रेजी दुवै माध्यमका साथै अतिरिक्तमा प्राविधिक धार सुरु भएपछि अभिभावक र विद्यार्थीको आकर्षण बागमतीका सामुदायिक विद्यालयतर्फ बढेको हो ।
सामुदायिक विद्यालयको भौतिक संरचनाको व्यवस्थापन, शिक्षाको गुणस्तर सुधारका साथै प्राविधिक तर्फ पनि थोरै शुल्कमा अध्यायन गर्न पाउने भएपछि नगरभन्दा बाहिरका अभिभावक तथा विद्यार्थीको पनि आकर्षण बढेको जनता माविका प्रधानाध्यापक लोकनाथ दाहालले बताए । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकाले प्रवेश परीक्षाको माध्यमबाट मात्र विद्यार्थी भर्ना लिन कर्मैयास्थित महेन्द्र माविका प्रधानाध्यापक नवकिरण श्रेष्ठले बताए ।
‘पहिला पहिला यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी पढ्नै मान्दैनथे तर अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि तँछाडमछाड चल्छ, नगरपालिकाले मापदण्ड बनाएको छ, सोहीअनुसार विद्यार्थी भर्ना लिने गरेका छौँ,’ उनले भने । विद्यार्थी भर्ना गरिदिनु पर्यो भनेर चर्काे दबाब आउँछ तर नगरपालिकाले निर्धारण गरेको मापदण्ड र विद्यालयको भौतिक संरचनाका साथै संख्यात्मकभन्दा गुणात्मक विकासमा लाग्ने तयारी भएकाले भर्ना लिनसक्ने अवस्था नरहेको सामुदायिक विद्यालयको भनाइ छ ।
प्रतिक्रिया