उद्धमशील र सामाजिक कार्यमा केन्द्रित हुँदै युवा

काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका युवाहरु उद्धमशिलता र सामाजिक कार्यमा केन्द्रित भएका छन् । ग्रामीण विकाश संस्था(एआरडी) ले युवा उद्यमशीलताको लागि हरेक वर्ष एक वडा एक उद्धमशील युवा भन्ने लक्ष्यका साथ मण्डनदेउपुरमा विगत ३ वर्षदेखि युवा उद्धमशीलता परियोजना संचालन गरिरहेको छ जसको फलस्वरूप यहाँका युवाहरुले स्व-आर्जन समेत गर्ने गरेका छन् । यो परियोजनाले धेरै युवाहरुलाई उद्धमशील बन्न प्रेरित गरेको छ । एआरडीको सहयोग र नगरपालिकासँग समन्वय गर्दै यहाँका युवाहरु विद्यालय, मन्दीर लगायत अन्य ठाउँ-ठाउँमा विभिन्न कार्यक्रमहरु गर्ने गर्दै आएका छन् । सम्पन्न गरिएका वा सुरु गरिएका कार्यक्रमहरुको नगरपालिका र ARD बीच समन्वयको कार्य युवा अधिकृत चेतनाथ लम्सालले गर्ने गरेका छन् ।

‘मण्डनदेउपुर युवा संजाल’ले वातावरण संरक्षणमा विशेष ध्यान दिंदै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसहरुमा पर्यावरण संरक्षण र सरसफाई कार्यक्रम आयोजना गर्ने गरेको छ। यसबर्ष पनि युवा दिवसमा मण्डनदेउपुरको पर्यटकीय स्थल ‘हरित पार्क’को सरसफाई र रङ्गरोगनको लागि सहयोग गरिएको थियो । विश्व वातावरण दिवसमा चण्डेनी माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गर्दै मनाइएको थियो ।

मण्डनदेउपुर नगरपालिकाको वडा नं ११ मा भएका युवाहरुको समूह हो ‘जागरण युवा क्लब’। समाजको विकास र वातावरण संरक्षण लगाएतका कार्यहरुमा हामी जागरुक हुनपर्छ भन्ने विचार लिएर अघि बढेको बताउँछन् क्लबमा संलग्न युवाहरू । उनीहरुले समय समयमा वृक्षरोपण, बाल अधिकार र वातावरणिय अधिकार सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु, विद्यार्थीहरुको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापहरु, आधारभुत विद्यालयमा स्टेशनरी वितरण, मन्दिर लगाएत अन्य सार्वजनिक स्थल सरसफाइ जस्ता कार्यक्रमहरुका साथै स्थानीय स्तरमा युवा परिचालन गर्दै आएका छन्।

यसैबीच ०८० मंसिर १६ गतेको शनिबार उनीहरुले आफ्नो गाउँमा रहेको उग्रेश्वर महादेवको मन्दिर सरसफाई गरेर विताएका छन् । सो अभियानमा क्लबका ८ जना युवाहरुको सक्रिय सहभागिता रहेको थियो, भने अन्य जनसमुदायको पनि सहभागिता थियो । सरसफाईको लागि आवश्यक सामानहरु टोल विकास समिती-तिमल्सिनाले प्रदान गरेका थिए । शनिबार बिहान ८ बजेदेखी १२ बजेसम्मको समय युवाहरुले धार्मिक स्थल संरक्षण र सरसफाईमा लगाए । युवाहरुले मन्दीर सरसफाई गरेर धेरै प्रशंसनीय कार्य गरेको मन्दीरका पुजारी चिरञ्जीवी दाहालले बताए ।

यस्तै एआरडी काभ्रेका युवा अधिकृत चेतनाथ लम्सालले भने, ‘जागरण युवा क्लबले अभियानका विभिन्न कार्यक्रममा सक्रिय सहभागीता सहित काम गरेकोमा मेरो तर्फबाट हार्दीक धन्यवाद छ । साथै हाम्रो नगरमा युवा अभियान निरन्तर संचालनको लागि समन्वय र सहकार्यमा साथ र सहयोग मेरो सधैं रहेने छ ।’

जागरण युवा क्लबको अध्यक्ष सबिन न्यौपानेले युवाहरूलाई हरेक क्षेत्रमा सहभागी गराइ स्थानीय स्तरमा परिचालन गर्नको लागि सदैब लागिपर्ने बताए । देशलाई सक्षम बनाउनका साथै युवाहरुको जीवनस्तर सुधार्न, युवा शक्ती बिदेश पलायन हुन नदिन एउटा उदाहरणीय भुमिका खेलेको बताउँछन् । युवाहरुले अवसर पाएमा विभिन्न तरिकाले गरेर पनि सक्रिय बन्न सक्ने उनको विचार छ। उनको अनुसार हामी सकृय भएर लाग्यौँ भने स्थानीय स्तरमा रहेको बेथितीको अन्त्य हुन सक्छ।

क्लबको सचिव स्मृती पराजुली भन्छिन्, ‘केही बर्ष देखि सुरुवात गरेको सामाजिक कार्यक्रममा युवा परिचालनले,सामाजिक र वाताबरणिय मात्र नभएर व्यक्तिगत विकासमा पनि सहयोग पुर्याउँछ। निर्धक्क बोल्न सक्ने र उचित निर्णय लिनसक्ने बानीको विकास गर्छ। आफ्नो ठाउँको सरसफाइ, संरक्षण र विकासको लागि यही ठाउँका युवाहरुको भुमिका रहनु पर्छ र सामाजमा भएका कार्यहरुको बारेमा जानकारी राख्नु र पैरवी गर्नु हामी युवाहरुको कर्तव्य पनि हो । युवा उद्धमशिलता, दिगो विकास र अन्य यस्तै कार्यहरुको यात्रा हामी आगामी दिनहरुमा पनि गरिरहनेछौँ । नगरका सम्पुर्ण युवाहरुको परिचालन नै अबको मुख्य आवश्यकता रहेको छ। स्थानीय कार्यहरुमा युवाहरुको परिचालन गर्दा समग्र देश विकास युवाहरुको भुमिका अहम हुन्छ भन्ने कुरामा कुनै दुइमत छैन ।कार्यक्रमको निरन्तरतामा ध्यान दिँदै नगरपालिकाको सहयोगमा स्थानीय तहमा नगर युवा परिषद गठन गरि युवा परिचालन गर्नु नै जागरण युवा क्लबको र नगर युवा संजालको लक्ष्य रहेको उनको तर्क छ ।

प्रतिक्रिया