सफल होला त सूर्तीजन्य पदार्थ किनबेचको प्रतिबन्ध ?

काठमाडौं महानगरपालिका क्षेत्रभित्र यही २७ मंसिरदेखि सूर्तीजन्य पदार्थ किनबेच गर्न पाइने छैन । महानगरपालिकाले २७ मंसिरदेखि लागू हुने गरी प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध गर्ने निर्णय गरेको छ । महानगरपालिकाद्वारा मंगलबार जारी भएको सूचनामा १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पानपराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने उल्लेख छ । यो सूचना अवज्ञा गरी बिक्री गरेको पाइए महानगरप्रहरीमार्फत् जफत गर्ने र व्यवसायीलाई कानुनबमोजिम अधिकतम सजाय गर्ने जनाइएको छ । काठमाडौं महानगरपालिकाले एकाएक यो निर्णय गरेको होइन, २०६८ सालमा जारी भएको संघीय कानुन तथा २०८० जेठमा आफै“ले जारी गरेको जनस्वास्थ्य कानुनमा टेकेर यो निर्णय गरिएको हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी भएको ऐनले सार्वजनिक स्थल किटान गरेको छ । शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको कानुनमा उल्लेख छ । महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐेनले चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री गर्न निषेध गर्न सकिने व्यवस्था गरेको छ ।

महानगरपालिकाको यो निर्णयलाई सामाजिक सन्जालमार्फत धेरैले स्वागत गरेका छन् । सूर्तीजन्य पदार्थ आयात गर्ने र बिक्री गर्नेबाहेक सबैका लागि महानगरपालिकाको यो निर्णय स्वागतयोग्य हो । सूर्तीजन्य पदार्थका कारण नेपालमा पुगेको क्षति सानो छैन । पहिलो कुरा त नेपालमा वार्षिक करिब पाँच अर्ब रुपैयाँको सूर्तीजन्य पदार्थ आयात हुने गरेको तथ्यांक छ । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको मुलुकका लागि सूर्तीजन्य पदार्थ आयातमा मात्रै वार्षिक पा“च अर्ब रुपैयाँभन्दा बढी रकम बिदेसिनु सानो कुरा होइन । अर्को कुरा सुर्तीजन्य बस्तु सेवनका कारण लाग्ने रोगको उपचारका लागि पनि धेरै नै ठूलो धनराशि खर्च हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सूर्तीजन्य पदार्थ सेवन गरेर बर्सेनि ज्यान गुमाउनेको संख्या करिब ८० लाख छ । नेपालमै प्रतिवर्ष २७ हजार १ सय ३७ व्यक्ति सूर्तीजन्य पदार्थको सेवनबाट ज्यान गुमाइरहेको पछिल्लो तथ्यांक छ । यो संख्या नेपालमा मृत्युको १५ प्रतिशत हो । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्यांकले नेपालमा सूर्तीजन्य पदार्थ सेवन गर्ने २९ प्रतिशत रहेको देखाएको छ । नेपालमा हरेक वर्ष सूर्तीजन्य पदार्थको प्रयोगले लाग्ने उपचार खर्च, अकाल मृत्यु, अशक्त र रोगीको उत्पादकत्वमा आएको हसमा ४७ अर्ब बराबरको क्षति हुने गरेको तथ्यांक छ । हालसम्म सूर्तीजन्य पदार्थमा चार हजार बढी रसायनहरू पत्ता लागेका छन् । त्यसमध्ये २ सय ५० शरीरका लागि एकदमै हानिकारक छन् । ५० बढी रसायनले क्यान्सर नै गराउने विभिन्न अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् ।

काठमाडौं महानगरपालिकाले गरेको यो निर्णयले नेपालमा सूर्तीजन्य पदार्थको आयातमा ह्वात्तै कमी आउला भन्ने अपेक्षा अहिले नै गर्न सकिन्न । पहिलो कुरा त महानगरपालिकाले आफ्नो सरहद भित्रको पूरै क्षेत्रमा निषेध गरेको हो या सार्वजनिक स्थलमा मात्रै ? भन्ने कुरा अमूर्त छ । दोस्रो कुरा बेचबिखन नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाभित्र जनशक्ति तथा संयन्त्रको अभाव छ । तेस्रो कुरा महानगरसँग सीमा जोडिएका अरू पालिकाहरूमा निर्वाध रूपमा सुर्तीजन्य पदार्थको किनबेच भइन्जेल यो निर्णय प्रभावकारी हुन सक्दैन । तर काठमाडौं महानगरपालिकाको यो निर्णयले अरू पालिकाहरूमा पनि दबाब पर्ने संभावना छ । विगतमा पनि काठमाडौंले गरेका सकरात्मक कदमलाई अरू पालिकाहरूले अनुशरण गरेका कैयौँ उदाहरणहरू छन् । संघीय सरकारले सूर्तीजन्य पदार्थको आयातलाई राजस्वको मुख्य स्रोत मान्न छाडेर जबसम्म प्रतिबन्ध लगाउँदैन तबसम्म स्थानीय सरकारहरू तातेर मात्रै समस्या समाधान हुँदैन ।

प्रतिक्रिया