जन्म मितिमा फस्ने भएपछि पाण्डेले दिए राजीनामा

रथी बढुवा बिवाद

काठमाडौं । रथी बढुवामा सिफारिसका लागि सार्वजनिक सूचनापछि विवादमा परेका उपरथी ताराध्वज पाण्डेले अन्ततः राजीनामा दिएका छन् ।

उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानवीन समिति गठन गरेपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएर हिँडेको स्रोतले जनाएको छ । प्रधान सेनापति प्रभुराम शर्मा पाण्डेलाई नै रथीमा बढुवा गर्ने पक्षमा उभिए पनि बलाध्यक्ष रथी सीताराम खड्काले बढुवा समितिमा असहमति जनाएका थिए ।

उमेर कीर्तेका प्रमाणहरु नै बाहिर आइसकेको अवस्थामा व्यक्तिभन्दा संस्था जोगाउनु मुख्य विषय भएको उनको भनाइ थियो । अख्तियारले समेत रक्षा मन्त्रालयमार्फत जंगी अड्डामा उमेर कीर्तेबारे पत्र पठाएपछि खड्काकै नेतृत्वमा छानविन समिति गठन भएको बताइएको छ ।

छानविन समिति बनेलगत्तै पाण्डेले राजीनामा दिएको स्रोतले जनाएको छ । उनको दुईवटा अलग अलग नम्बरका नागरिकता रहेको र प्रमाणपत्रमा समेत ढड्डाभित्र पसेर एसएलसी पास गरेको ४ वर्षपछि केरमेट गरेको पाइएकाले आफू फस्ने भएपछि राजीनामा गरेर हिँडेको बुझिएको छ ।

तर जंगी अड्डाले भने यसको औपचारिक पुष्टि गरेको छैन ।
पाण्डेले जागिर खान र रथी बढुवा भएर भावी प्रधान सेनापति बन्ने लाइनमा बस्न एसएलसी परीक्षाफलको ढड्डामै केरमेट गरेकोे प्रमाणसहित सौर्यले निरन्तर समाचार लेख्दै आएको थियो ।

हेडक्वार्टर पाण्डेको बचाउमा लागेपनि छानबिन हुँदै जाँदा आफैँ फस्ने डरले बिहीबार साँझ उनले जंगी अड्डामा राजीनामा बुझाएर हिँडेको स्रोतले बताएको छ ।

बढुवा सिफारिस सूचनापश्चात उनकोे नागरिकतामा उमेर कीर्तेबारे प्रधानमन्त्रीले चासो राखेका बेला प्रधान सेनापति प्रभुराम शर्मा नै पाण्डेको संरक्षणमा लागेका थिए ।

पाण्डेको उमेर कीर्तेको समाचार आएसँगै रक्षा मन्त्रालयले जंगी अड्डालाई सत्य तथ्य विवरण मागेको थियो ।

प्रधान सेनापति शर्माले भने सेनामा यस्तो विवाद धेरै अघिदेखि नै रहेको र हालै अवकाश पाएका रथी सरोजप्रताप राणाको ३ वटा नागरिकता रहेको भन्दै पाण्डेको पनि यस्तै विवादमा पहिले नै समाधान भइसकेको भन्दै ढाकछोप प्रयास गरेका थिए ।

प्रधान सेनापतिको रहस्यमय जोडबलकै कारण ताराध्वजको उमेर कीर्तेको प्रकरण सामसुम पार्न खोजिएपनि पाण्डे स्वयंले आफ्नो कर्तुत खुल्ने भयले राजीनामा दिएको सैनिक उच्च स्रोतले बतायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले समेत गम्भीर रूपमा लिएको उजुरीको किनारा नलाग्दै पाण्डेलाई रथीमा बढुवा गर्न खोजिँदै थियो ।

२०३८ साल देखि २०४२ साल चैत्रसम्म २०२१÷१०÷१२ गते जन्ममिति भएका पाण्डेले जागिर खाने बेला एसएलसी पास गरेको ४ वर्षपछि जन्म मिति सच्याएर २०२३ माघ २३ को मिति राखेर अर्को नागरिकता लिएका थिए ।

त्यसो त उनले कीर्ते गरेको उमेरका आधारमा २०३८ सालमा एसएलसी दिने उमेर नै पुग्दैन । यसबाट पनि सबै प्रष्ट हुन्छ ।

प्रतिक्रिया