काठमाडौं । चारदिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । महासचिव गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको बताइएको छ ।
मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने हिमालयन भन्ने ठाउँमा ढुंगानाको लेक लागेर मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएपसी श्रवणकुमार बिकले बताए । महासचिव गुटेरेस फर्किएलगत्तै प्रहरी सहायक निरीक्षकसहितको टोली अन्नपूर्ण बेसक्याम्पबाट फर्किएको थियो ।
हिमालयनमा बास बसेका उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएको थियो । तत्काल उनलाई हेलिकोप्टरमार्फत् पोखरा ल्याइएको थियो। बिहान ९ः४० मा डाक्टरले उनलाई मृत घोषणा गरेका डीएसपी बिकको भनाइ छ ।
ढुंगाना हेलिकोप्टरबाट कात्तिक ११ गते आधार शिविर पुगेका थिए । महासचिव गुटेरेस भने चारदिने नेपाल भ्रमण पूरा गरेर आज फर्किएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा गत आइतबार नेपाल आएका थिए ।
प्रतिक्रिया