आर्थिक लेनदेन र अनैतिक सम्बन्धका कारण होटलमा लगेर महिलाको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने सानीभेरी गाउँपालिका–९ सिम्ली का ३३ वर्षीय लोकेन्द्र बिक (लोकबहादुर बिक)लाई प्रहरीले मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

मुसिकोटको सत्कार होटलमा मंगलबार मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना बिकको घाँटी रेटेर हत्या गरेको आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए ।

होटेल सत्कारको कोठा नम्बर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृतकको घाँटी रेटेर हत्या गरिएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर हत्या आरोपी लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरिएको हो । आरोपी लोकबहादुर र मृतक बिकबीच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा विवाद भएपछि हत्या गरिएको बताईएको छ ।

हत्या भएकी भावना मुसीकोट नगरपालिका–१ छिङमा माइती घरमा बस्दै आएकी थिइन् । घटनास्थलबाट प्रहरीले नगद ८५ हजार ८३५ रुपैयाँ, रगत लागेको धारिलो चक्कु, मोबाईल, चक्कुको खोल बरामद गरेको प्रहरीले जनाएको छ ।

नातामा श्रीमान श्रीमतीको सम्बन्ध देखाएर उनिहरुले आईतबार होटेल सत्कारमा त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए । तर, उक्त होटलमा दिएको विवरण गलत रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

प्रतिक्रिया