काठमाडाैं । निर्वाचन आयोगले राैतहटकाे माैलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहकाे पद रिक्त भएकाे जनाएकाे छ । एमाले पार्टीबाट निर्वाचित साह अन्य दलमा प्रवेश गरेपछि उनकाे पद स्वतः रिक्त भएकाे सूचना आयाेगले आज प्रकाशन गरेकाे हाे ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेकाे भन्दै एमालेले पद खारेजीका लागि आयाेगमा निवेदन दिएकाे थियाे । एमालेले दिएकाे उक्त निवेदनमाथि छानबिन गरी आयाेगले नगर प्रमुख साहकाे पद स्वत: रिक्त हुने जनाएकाे हाे ।
पद खारेजीमा परेकी साह आम जनता पार्टीका नेता प्रभु साहकी श्रीमती हुन् । स्थानीय तहकाे चुनावका बेला प्रभु साहले मधेशमा एमालेबाट विद्राेह गरेका थिए । पछि उनले एमाले त्याग गरी आम जनता पार्टी गठन गरेका थिए ।
नगर प्रमुख साहले पनि पार्टीकाे नीति र निर्णयभन्दा बाहिर गएकाे भन्दै एमालेले पद खारेजीका लागि आयाेगमा निवेदन दिएकाे थियाे । निर्वाचन आयाेगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम साहकाे पद स्वतः रिक्त भएको जनाएकाे छ ।
‘पार्टीको निर्णय आएपछि आयोगले रिक्त भएको जानकारी गराएको हो’, आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
प्रतिक्रिया