काठमाडौं । चाडपर्वको आगमन हुनु केही सय अघिदेखि नै बैंक तथा वित्तीय संस्थाहरुले गाडी कर्जालाई प्राथमिकता दिने गर्छन् । अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुले गाडी को कर्जालाई उच्च प्राथमिकता दिएका छन् । अटो लोनका लागि विभिन्न स्किम ल्याएका बैंकहरूले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको देखिन्छ । विगत वर्षहरूमा बैंकहरूले सहजै अटो लोन दिने गरेकामा राष्ट्रबैंकको नीतिको कारण देखाउँदै अघिल्लो वर्ष भने केही कडाई गरेका थिए ।
चालु आवमा राष्ट्रबैंकबाट केही सहज नीति आएसँगै बैंकहरूले अटो लोनलाई प्राथमिकता दिएका छन् । त्यसो त अहिले बैंकिङ प्रणालीमा साढे चार खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको नेपाल बैंकर्स संघले बताएको छ । निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त भइरहेको समयमा चाडपर्वको बेला हुने अटोमोबाइल व्यवसायले केही कर्जा प्रवाह बढाउने अपेक्षा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले गरेको छ ।
कोरोना महामारीदेखि रोकिएको नाडा अटो शो यस पटक सुचारु हँुदा विद्युतीय सवारी साधनमय बनेको थियो । अटो शोकै कारण पछिल्ला दिनहरूमा बैंकमा विद्युतीय सवारीसाधन किन्नका लागि ऋण लिने क्रम बढेको बैंकरहरूले बताएका छन् ।
अघिल्लो आवमा डलर सञ्चिति नाजुक अवस्थामा थियो । तर अहिले डलर सञ्चिति सहज भएको छ । अटो लोनको औसत जोखिम भार समेत घटाएर १.२५ प्रतिशत कायम गरेपछि यस क्षेत्रमा कर्जा लेनदेन सहज भएको सरोकारवालाहरूको भनाइ छ ।
गत वर्ष बैंकमा लगानीयोग्य रकम अभाव हुँदा बैंकिङ क्षेत्र मात्र नभई समग्र क्षेत्रमा समस्या परेको थियो । जसकारण अटो क्षेत्र पनि ठप्प थियो । यो सुस्तताको बीच गत भदौमा सम्पन्न नाडा अटोशोले गाडी खरिद बिक्रीमा माहौल थपेको छ । पछिल्ला दिनहरूमा बैंकहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेपछि अटोमोबाइल व्यवसायी मात्र नभई बैंकर समेत उत्साहित भएका छन् ।
नाडा अटो शोपछि विद्युतीय सवारीसाधनतर्फ माग बढेको भन्दै बैंकहरुले यस्ता सवारीसाधनको खरिदमा सहजीकरण गर्नका लागि अफर ल्याएका छन् । अर्थतन्त्र सुस्त बनेको समयमा विस्तारै यस क्षेत्र चलायमान हुन खोजेको आँकलन बैकर्सहरुले गरेका छन् । अहिले ३० प्रतिशत हाराहारीमा विद्युतीय सवारीसाधनका लागि कर्जाको माग बढेको छ ।
नबिल बैंकका पर्सनल लेण्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले चाडपर्वको समयमा अटो क्षेत्र चलायमान हुने गरेको भन्दै यो वर्ष पनि चलायमान हुने बताएकी छन् । पछिल्लो समय विद्युतीय सवारीसाधनको आकषर्ण बढेको उनको भनाइ छ । यस्ता योजनाले ग्राहक तथा व्यवसायी र बैंक सबै क्षेत्रलाई राम्रो हुनेमा अन्य बैकर्सहरु पनि सहमत छन् । बैंकले अहिले ५ वर्षसम्मका लागि १०.४९ प्रतिशत र ७ वर्षसम्मका लागि १०.९९ प्रतिशत ब्याजदर राखेको छ । यसले ग्राहकहरूलाई फिक्स्ड ब्याजदरमै अटोकर्जा लिन सक्ने व्यवस्था रहेको देखाउँछ । बैंकको आधार दरमा हुने तलमाथिबाट ब्याजदर केही फरक पर्ने भए पनि ५ वर्षसम्म ब्याजदर एउटै हुँदा ग्राहकलाई फाइदा हुने देखिन्छ ।
चाडपर्वको समयमा करिब ३० प्रतिशतभन्दा बढी अटो लोन प्रवाह हुने गर्छ । पहिलो पटक कार किन्नेहरूका लागि बैंकले सहजीकरण गर्ने उद्देश्यले प्रोफेसनल सेग्मेन्टमा अफर पनि ल्याएको छ । इन्जिनियर, पाइलट, डाक्टर वा अन्य जुनसुकै प्रोफेसनमा रहेकाहरूको सहजतालाई लक्षित गर्दै बैंकले त्यस्तो सुविधा ल्याएको हो ।
विगतको तुलनामा अहिले कर्जा माग उस्तै गतिमा नबढेपनि सुधारोन्मुख रहेको बैकर्स एसोसियसनले बताएको छ । सरकारी स्वामित्वका बैंकसँगै अन्य वाणिज्य बैंक तथा विकास बैंकहरूले पनि चाडपर्वलाई लक्षित गरी अटो लोनमा विभिन्न किसिमका अफरहरू सार्वजनिक गरिरहेका छन् । अर्थतन्त्र सुस्ताएको अहिलेको अवस्थामा विस्तारै चाडपर्वले बजारलाई चलायमान बनाउने अपेक्षामा बैंकहरू छन् ।
माछापुच्छ्रे बैंककी डेपुटी चिफ अपरेसन मनिटरिङ युनिट प्रमुख प्रतिमा पाण्डे डिजेल तथा पेट्रोलको बढ्दो मूल्यका कारण विद्युतीय गाडीका लागि कर्जाको माग बढिरहेको बताउँछिन् । गत वर्षको दसैँ अघि र अहिलेको तुलना गर्दा अहिलेको अवस्थामा अटो क्षेत्रको कर्जाको माग अलि केही बढेको उनको भनाइ छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नाडा अटो शोपछि सवारी साधनको माग पनि बढिरहेको र अटो लोनको माग पनि बढेको बताए । उनका अनुसार बैंकहरूले अहिले विद्युतीय सवारी साधनहरूलाई बढी ध्यान दिएका छन् । दीर्घकालमा समेत वातावरणमा सकारात्मक प्रभाव पार्ने र नेपालको विद्युतलाई परिचालन गर्ने उद्देश्यले बैंकहरूले पछिल्लो समय विद्युतीय सवारी साधनतर्फ बढी ध्यान दिएको देखिन्छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारीसाधनको कारोबार बढी हुँदा बजारमा चहलपहल हुने गरेकोमा यो पटक थप विद्युतीय गाडीले उत्साह बढाएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाले अघिल्लो वर्षको भन्दा यस वर्ष अटोका लागि कर्जाको मागमा सुधार भएको बताएका छन् । गत भदौ अन्तिममा सम्पन्न भएको नाडा अटो शोले अटो क्षेत्रमा उत्साह छाएको थापा बताउँछन् । अटो शोमा विद्युतीय गाडीमा रुची देखिएपछि अहिले बैंकहरूले पनि विद्युतीय गाडीका लागि सहज रुपमा कर्जा दिन थालेको अटो व्यवसायीहरुको भनाइ छ ।
अटो शोले गर्दा माग धान्न नसक्ने गरी नै विद्युतीय गाडीको माग बढीरहेको छ । पछिल्ला दिनमा बैंकहरूमा तरलता पर्याप्त भएकाले पनि अटोलोन सहज भएको आकलन गरिएको छ । नियामकीय व्यवस्थाका कारण भने अझै पनि अटो लोनमा उत्साह नआएको कतिपय अटो व्यवसायीहरुको गुनासो छ । निजी गाडी खरिद गर्दा ५० प्रतिशतभन्दा बढी फाइनान्स दिन नमिल्ने नीतिले केही असहजता थपेको ती व्यवसायीहरुले बताए ।
राष्ट्र बैंकको व्यवस्था अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूले निजी सवारीसाधनका लागि बढीमा ५० प्रतिशत मात्रै र कम्पनी वा संस्थाका लागि बढीमा ८० प्रतिशत फाइनान्सको व्यवस्था गरेको छ ।
प्रतिक्रिया