काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन् । बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका कार्कीलाई एमालेका ४० र कांग्रेसका ८ सांसदको समर्थन छ । कार्कीले एमालेका ४० र कांग्रेसको शेखर कोइराला समूहका ८ सांसदको हस्ताक्षर प्रदेश प्रमुख खापुङसमक्ष बुझाएका हुन् ।
कार्की एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र केही सांसदहरूसहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । कांग्रेसका कार्कीभन्दा केही समयअघि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा एस ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् । आङ्बोले दाबी पेस गर्दा कांग्रेसका सांसदहरूको पुरानै हस्ताक्षर बुझाएका छन् ।
तर, कांग्रेसको कोइराला समूहका ८ सांसदले आफूहरूको समर्थन आङ्बोलाई नभएको बताएका छन् । उनीहरूले आफूहरूको समर्थन कार्कीलाई भएको बताएका छन् ।
यी हुन् एमालेसँग मिलेर केदारलाई साथ दिने कोशीका कांग्रेस सांसद
कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् । यसअघि कांग्रेसको संसदीय दलमा भएको निर्वाचनमा कार्कीले ९ मत नै ल्याएका थिए ।
त्यसबेला उनलाई समर्थन गरेका भोजपुरका विनोद वान्तवाले हस्ताक्षर गरेरन् । यसअघि उद्धब थापालाई मत दिएकी सुनिता गुरुङले भने अहिले हस्ताक्षर गरेको ती सांसदले बताए ।
प्रतिक्रिया