प्यालेसटाइनको लडाकु समूह हमासद्वारा एक्कासि भएको रकेट आक्रमणले मित्रराष्ट्र इजराइललाई ठूलो क्षति पुर्याएको छ । गत शनिबार भएको यो आक्रमणमा नेपालको पनि धेरै ठूलो क्षति भएको छ । अध्ययनका लागि गएका १० जना विद्यार्थीको आक्रमणमा परी निधन भएको छ । केही विद्यार्थी सख्त घाइते भएका छन् । धेरैको अवस्था अज्ञात छ । सरकारी रेकर्डअनुसार इजराइलमा करिब पा“च हजार नेपाली कार्यरत छन् । जसमध्ये २ सय ५० जना विद्यार्थी हुन् भने बा“कीले केयर गिभरका रूपमा रोजगारी गरिरहेका छन् ।
केयर गिभरका रोजगारी गरिरहेकाहरू सुरक्षित भएको अनुमान गरिए पनि भर्खर इजराइल गएका विद्यार्थीहरूको अवस्था अज्ञात छ । प्यालेस्टाइन र इजराइलबीचको लडाइँ नयाँ होइन । करिब एक शताव्दीदेखि निरन्तर जारी रहेको यो लडाइँसँग हाम्रो देशको केही लेनादेना छैन । विगतमा यो लडाइँले हामीलाई प्रत्यक्ष नोक्सानी पुर्याएको पनि थिएन । तर यसपटक एकाएक ठूलो नोक्सानी पुग्यो । यो नोक्सानीमा हाम्रो देशको पनि केही न केही कमी कमजोरी देखियो । प्यालेस्टाइनीहरूद्वारा बेलाबेलामा गरिने आक्रमणबाट निर्दोष नागरिकलाई सुरक्षित राख्नका लागि इजराइलले प्रयाप्त बंकरको व्यवस्था गरेको छ । आक्रमण हुनासाथ साइरन बज्छ, मानिसहरू बंकरभित्र लुक्छन् । तर शनिबारको आक्रमण हुँदा नेपाली विद्यार्थीहरू खेतमा काम गर्दै थिए । शनिबार अक्टोबर ६ तारिख परेको थियो । अक्टोबर ६ तारिखलाई हमासले कालो दिन भन्दै विगतदेखि केही न केही गतिविधि गर्दै आएको छ । आफ्ना विद्यार्थीलाई इजराइल पठाउँदा अक्टोबर ६ तारिखको संवेदनशीलताबारे अवगत नगराउनु हाम्रो ठूलो कमजोरी रह्यो ।
देशले होनाहार १० सपुत गुमायो, तर यी सपुतका परिवारमा परेको शोक र क्षति सानो छैन । परिवारका लागि त सर्वश्व गुमेको छ । संझदासमेत कहालीलाग्दो अवस्था हो । आफ्ना सन्तान कृषि वैज्ञानिक बनेर फर्कने आशामा बसेका बाबुआमाका लागि यो घटना थाहा पाएर कति दुःख भयो होला ? कल्पना पनि गर्न सकि“दैन । जे नहुनुपर्ने थियो, त्यो भयो । अब थप क्षति हुन नदिन सरकार हदैसम्म गम्भीर हुनु जरुरी छ । राहत तथा तत्काल उद्धारका सन्दर्भमा सरकारको तर्फबाट भएको ढिलाइले जनतामा थप आक्रोश उत्पन्न हुनसक्छ । यस्तो आक्रोशले विगतमा कस्तो क्षति भएको थियो ? भन्ने कुराबाट सरकारले पाठ सिक्नु जरुरी छ । दुई दशक अघिको इराक काण्ड दोहोर्याउन केही तत्वहरू अवश्य पनि सक्रीय भएका हुन सक्छन् । सावधानी अपनाउनु जरुरी छ । सूचना तथा सञ्चार संयन्त्र विच्छेद भएको छैन । इजराइलमा सुविधा सम्पन्न नेपाली राजदूतावास छ, तर धेरै नेपालीको अवस्था अज्ञात हुनु आफैँमा दुःखद् हो ।
मित्रराष्ट्र इजराइललाई नेपालले लगाएको गुन सानो छैन । द्वितीय विश्वयुद्धपछि नयाँ राष्ट्रका रूपमा जन्मिएको इजराइललाई मान्यता दिन चीन र भारतसमेत हच्किएका थिए, तर नेपालले ज्यादै हिम्मतका साथ मान्यता दिएको हो । इजराइलसँग दौत्य संबन्ध स्थापित गर्ने दक्षिण एसिया मात्रै होइन, दक्षिण पूर्व एसियाको समेत पहिलो देश हो, नेपाल । इजराइल जन्माउँदा प्यालेस्टाइनमाथि केही अन्याय भयो होला, तर विश्वकै अत्यन्त मेधावी जाति मानिने यहुदीको संरक्षणका लागि त्यतिबेला नेपालले ठूलै जोखिम लिएको हो । ज्ञान र विज्ञानको क्षेत्रमा यहुदी जातिले विश्वलाई पुर्याएको योगदान नजरअन्दाज गर्न कत्ति पनि मिल्दैन ।
नेपालले लिएको जोखिम बापत इजराइलले पनि नेपालका लागि धेरै ठूलो सहयोग पुर्याउँदै आएको छ । औलो उन्मूलन गरी तराई तथा पहाडका बेँसी क्षेत्रलाई गुल्जार बनाउन इजराइलको ठूलो सहयोग छ । पछिल्ला दिनमा निकै आकर्षक सुविधा तथा सम्मानका साथ हजारौं नेपाली महिलाहरूले इजरायलमा रोजगारी पाएका छन् । प्रायःजसो युद्ध भइरहे पनि नेपालीहरू इजराइलमा सुरक्षित थिए । अन्य देशमा कार्यरत नेपालीको तुलनामा इजरायलमा कार्यरत नेपालीहरूको कमाई मात्रै राम्रो होइन, सुरक्षा र सम्मान पनि राम्रो थियो । तर यसपटक सानो असावधानीका कारण ठूलो क्षति पुग्न गयो । नेपाल सरकारको तर्फबाट मन्त्रीस्तरीय प्रतिनिधि मण्डल तत्काल इजरायल पुग्नु वाञ्छनीय हुन्छ ।
प्रतिक्रिया