मुसलमान समुदायको उल्लेख्य बसोबास भएको शहर नेपालगन्जमा धार्मिक सद्भाव विथोल्ने तत्वहरु बेला मौकामा सक्रीय हुने गरेको धेरै पहिलेदेखि हो । तर यस पटक भने धार्मिक सद्भाव विथोल्ने तत्वहरु नेपालगन्जमा निकै हावी भए । तीन–चार दिनसम्म कफ्र्यु लगाउनुपर्ने अवस्था बन्यो । धार्मिक सद्भाव कायम राख्न मुस्लिम तथा हिन्दुधर्म गुरुहरु सडकमै उत्रनु पर्ने अवस्था उत्पन्न भयो । यति मात्रै होइन स्थिति नियन्त्रणका लागि नेपाली सेनालाई नै सडकमा उतार्नु पर्ने अवस्था आयो । धार्मिक द्धन्द नियन्त्रण गर्न राष्ट्रिय सेनालाई नै सडकमा उतार्नु पर्ने अवस्था आउनु भनेको सानो संकट होइन । नेपाल प्रहरी , सशस्त्र प्रहरी हुँदा हुँदै नेपाली सेनालाई नै सडकमा किन उतारियो ? भन्ने प्रश्न पनि नगरिएको होइन । किनकी एकै चोटी सेना परिचालन कहिँ पनि गरिँदैन । विगत हेर्ने हो भने पनि माओवादी द्धन्द सुरु भएको ६ वर्ष पछि मात्रै सेना परिचालन गरिएको हो । त्यसमा पनि माओवादी स्वयंले सेनाको ब्यारेक आक्रमण नगर्दासम्म नेपाली सेनाले सरकारको आदेश नमानेको समाचार आएको थियो । तर यस पटक नेपालगन्जको घटनामा जनताले एकाएक ट्यांक सहितका सेनाको गस्ती सडकमा देखे । पक्कै पनि सेनाले केही अप्रिय पूर्व संकेत पाएको हुनुपर्छ । किनकी देश गरिव भए पनि हाम्रो सेना काविल मानिन्छ । विश्वले नै पत्याएको सेना हो हाम्रो ।
नेपालगन्जका धार्मिकद्धन्दका दुवै पक्षमा भारतीय नागरिकहरुको समेत सहभागीता रहने गरेको विगतदेखिकै तथ्य हो । यस पटक पनि त्यो सहभागीता देखियो । तर भारतीय नागरिकहरुको यस पटकको सहभागीता निकै गम्भीर प्रकृतिको रहेको समाचार मिडियाहरुले प्रवाह गरेका छन् । भारतीय सीमा सुरक्षाबल ( एसएसबी)का जवानको संलग्नता भएको स्थानियले बताएका थिए भने मिडियाहरुमा तिनिहरुको फोटो सहित नाम सार्वजनिक भएको थियो । मुठभेडमा संलग्नमध्ये केहीलाई नेपाली सेनाले पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगायो । पक्राउ पर्नेमध्ये चार जना भारतीय नागरिक रहेको पुष्टि प्रहरीले ग¥यो , तर नाम सार्वजनिक गरेन । भारतीय प्रहरी बोलाएर जिम्मा दिइयो । त्यसको भोलिपल्ट भारतीय मिडियाहरुले पक्राउ परेका चार जनाको तस्वीर सहित समाचार लेखे । आफ्नै भूमी रुपेडियामा पक्राउ गरिएको समाचार उनीहरुले प्रवाह गरे । अझ रहस्यमय कुरा के छ भने पक्राउ परेको भन्दै तस्वीर सार्वजनिक गरिएका चारै जना मुसलमान समुदायका हुन् । भारतीय प्रहरीलाई बुझाउनु अघि उनीहरुको तस्वीर नेपाली सेना र नेपाल प्रहरीले अवश्य पनि लिएको होला । दुई देशका सरकारबीचको मित्रतालाई ख्याल गर्दै नेपाल प्रहरी तथा नेपाली सेनाले उनीहरुको तस्वीर सार्वजनिक नगरेको होला ।
नेपालगन्ज घटना बाह्य शक्तिद्धारा योजनाबद्ध रुपमै भएको र सत्य तथ्य लुकाउने काम पनि योजनाबद्ध रुपमै भएको कुरा स्पष्ट छ । नेपालगन्ज त्यति ठूलो शहर होइन , जुनसुकै समुदायको भए पनि एउटा व्याक्तिले अर्को व्याक्तिलाई सजिलै चिन्छन् । सयौं वर्षदेखि एक आपसमा मिलेरै बसेका छन् । उनीहरुले एकले अर्कालाई आक्रमण गर्दैनन् । तर जब बाहिरबाट मानिसहरु प्रवेश गर्छन् तब आक्रमण सुरु हुन्छ । मधेस आन्दोलनका बेला पनि यस्तो देखिएकै थियो । मधेस आन्दोलनका बेला पहाडी समुदाय माथि ज्यादती गर्नेहरु नेपाली थिएनन् । सीमा पारीबाट आएका थिए । यस पटक नेपालगन्ज घटनामा समयमै सचेत भएर नेपाली सेनाले देशलाई ठूलो संकटबाट जोगाएको छ । तर बाह्य चलखेल यसरी नै बढ्दै जाने हो भने भोली सेनाले समेत नियन्त्रण गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । नेपाल–भारतबीचको खुला बोर्डरको सबै भागलाई तत्काल तारबार गर्न संभव छैन । तर नेपालगन्ज लगायत केही संवेदनशील क्षेत्रको सीमालाई तारबार लगाएर आवत जावत गर्नेहरुको रेकर्ड राख्न कत्ति पनि डिलाई गर्नु हुन्न । दश गजाको ४० किलोमिटर जति क्षेत्रमा मात्रै तारबार लगाइ दिने हो भने नेपालगन्जको यो समस्या धेरैहदसम्म समाधान हुन्छ ।
प्रतिक्रिया