धार्मिक सद्भाव बिथोल्ने निन्दनीय प्रयास

हिंसा भड्काउने क्रियाकलापवापत दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई हिन्दूधर्मगुरु बताउँदै आएका दिनेश पण्डित विगत एक दशकदेखि आचार्य श्रीनिवासका नामले परिचित छन् । नेपालको संविधान (२०७२) जारी भए लगत्तै उनीमाथि गोली प्रहार भएको थियो । हिन्दूधर्मगुरुमाथि गोली प्रहार भयो भन्दै त्यतिबेला निकै ठूलो सनसनी मच्चियो । गोली प्रहार गर्नेमाथि अनुसन्धान हुँदै जाँदा खतरनाक नाटक रचिएको पर्दाफास भयो । उनकै कामदार पक्राउ परेपछि थप रहस्य खुल्यो । आफ्नो कामदारलाई आफूमाथि गोली हान्न लगाएर उनले ‘बेधर्मीहरूद्वारा ममाथि आक्रमण भयो’ भन्दै मिडियाबाजी गरेका थिए । यही अभियोगमा २०७४ सालमा पक्राउ परेका उनी साधारण तारिखमा रिहा भएका थिए । त्यस यता पनि उनी हिंसा भड्काउने गतिविधिमा संलग्न हुन छाडेका छैनन् । धरानमा साम्प्रदायिक सद्भाव भड्काउने गतिविधिका दुई वटा पक्षमध्ये एउटा पक्षको अगुवाई दिनेश पण्डितले नै गरेका थिए ।

नेपालगञ्जमा हिंसा भड्काउनमा पनि उनले प्रयास गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । यतिबेला उनको रिहाइको माग गर्दै भएका थप गतिविधिमा राजावादीहरू सक्रिय देखिएको समाचार आएका छन् ।

अर्कोतर्फ पहिचानवादी गतिविधिमा डा.बाबुराम भट्टराई, आङ्काजी शेर्पा लगायतको संलग्नताको रहस्य पनि उजागर हु“दै गएको छ । खासगरी गणतन्त्र स्थापनापछि सुसुप्त रूपमा पन्पिएको यो प्रयास पछिल्ला दिनमा थप उजागर भएको छ । यो प्रयासको पर्दा पछाडि कुन कुन शक्ति सक्रिय छन् ? भन्ने स्पष्ट हुन नसकेपछि पर्दा अगाडि भने विभिन्न धर्म तथा समुदायको खोल ओडेका राजनीतिक व्यक्ति तथा संगठनहरू सक्रिय देखिएका छन् । अर्थात यो प्रयासको एउटा पक्षका रूपमा पहिचानवादीहरू र अर्को पक्षका रूपमा राजावादीहरू सतहमा देखिएको कुरा प्रष्ट हुँदै गएको छ ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक देश हो । परापूर्वकालदेखि नै नेपालमा सबै जातजाति, भाषा–भाषि, विभिन्न धर्मावलम्वी तथा सांस्कृतिक समूह मिलेर बसेका छन् । धार्मिक तथा साम्प्रदायिक सद्भावको नमुना नै विश्वमा नेपालको गौरव तथा पहिचान राख्ने अमूल्य पुँजी हो । तर विगत केही महिनादेखि नेपालको यो गौरव तथा पहिचान बिथोल्ने प्रयास भइरहेको छ । कुनै पनि देश तथा समाजका लागि धार्मिक तथा साम्प्रदायिकद्वन्दभन्दा ठूलो डँडेलो अर्को हुँदैन । यस्तो द्वन्द्वले २४ घण्टामै देश र समाजलाई नै खरानी बनाइदिन्छ ।

यस्तो द्वन्द्वको आगो सल्किएपछि हत्तपत्त निभाउन सकिन्न । त्यसैले धार्मिक तथा साम्प्रदायिक द्वन्द्वको आगो झोस्नेभन्दा खतरनाक दोशद्रोही अरू केही पनि हुन सक्दैन । दुर्भाग्यबस आफ्नो स्वार्थी राजनीतिको रोटी सेक्नका लागि जिम्मेवार तहमा रहेका व्यक्तिहरू द्वन्द्वको आगो झोस्न शिखण्डीका रूपमा खडा भएका छन् । ज्ञानेन्द्र शाह राष्ट्रप्रमुख भइसकेका व्यक्ति हुन् । डा.बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । पूर्वराष्ट्रप्रमुख र पूर्वप्रधानमन्त्रीबाट नेपाल आमाले गरेको अपेक्षा यस्तै हो त ? यो प्रश्न कम पेचिलो छैन ।

जबसम्म फोहोर सफा गरिँदैन, तबसम्म लामखुट्टे मारेर मात्रै मलेरिया, डेंगुजस्ता रोगको स्थायी समाधान निस्क“दैन भन्ने यथार्थप्रति सरकार सजग हुनु जरुरी छ । किनकी अहिले उत्पन्न समस्याको जडका विषयमा आठ महिनाअघि सांसद अमरेशकुमार सिंहले संसद्मा पनि बोलेका थिए, मिडियाहरूसँगको अन्तर्वार्ताको क्रममा पनि बोलेका थिए । पहाडमा हिन्दू–बौद्ध र तराईमा हिन्दू–मसुलमानवीच द्वन्द्व गराउने प्रयास भारतको सत्तारूढ पार्टी बिजेपीले गरिरहेको खुलासा त्यसबेलै सांसद सिंहले गरेका थिए ।

सरकारले त्यतिबेलैदेखि पूर्वराजा शाह र पूर्वप्रधानमन्त्री डा.भट्टराईका गतिविधि माथि सुक्ष्म रूपमा निगरानी राख्नुपथ्र्यो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘दसैंपछि दुई लाख मान्छे सडकमा उतार्छु’ भन्दै उत्तेजक अभिव्यक्ति दिए, त्यो पनि कुनै जातिको सभामा पुगेर । यो द्वन्द्वको उद्भव ‘जनयुद्ध’को नाममा माओवादी गराएको हो । तर प्रचण्ड यतिबेला प्रधानमन्त्री छन् । यो आगो समयमै निभाउने मुख्य दायित्व प्रचण्डकै हो ।

प्रतिक्रिया