इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलोपटक माङसेबुङले धनीपूर्जा वितरणको तयारी गरेको हो । त्यसका लागि माङसेबुङ गाउँपालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण सुरु गरेको छ ।
मंगलबार माङसेबुङ गाउँपालिका–६ स्थित चिसोपानी पञ्चमीमा एक कार्यक्रम गरी निस्सा वितरण कार्यक्रम सुरुआत गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, गाउँपालिका अध्यक्ष हेमन्त राईलगायतले सो वडका जेष्ठ सदस्यहरूलाई निस्सा हस्तान्तरण गर्दै कार्यक्रमको सुरुआत गरेको हो ।
माङसेबुङले मंगलबार सो वडाका ३ सय ८७ जनालाई निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण गरेको छ । जसमध्ये नौ जना भूमिहीन सुकुम्बासी र ३ सय ७८ जना अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
‘हामीले अहिले यहाँका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण सुरु गरेका छौँ । २६ गतेसम्म सबै वडाबासीलाई निस्सा वितरण गरिसक्नेछौँ’ अध्यक्ष राईले भने, ‘अब राष्ट्रिय भूमि आयोगसँग समन्वय गरेर नापजाँचको काम थाल्नेछौँ । जतिसक्दो चाँडो धनीपूर्जा वितरण गर्ने सोचका साथ अघि बढ्नेछौँ ।’
यता निस्सा पाएपछि वडाबासीहरूले समेत जग्गाको धनीपूर्जा पाउने विश्वास बढेको छ । वर्षौंदेखि चासभोग गर्दै आएको जग्गाको धनीपूर्जा पाउने आशामा रहेका वडाबासीहरू निस्सा पाएपछि भने धनीपूर्जा पाउने विश्वास बढेको हो । ‘हामीले वर्षौंदेखि चासभोग गर्दै आएको जग्गाको धनीपूर्जा पाउने आशमा जीन्दगी बित्न लागिसकेको छ । यसअघिका थुप्रै आयोगले निराशामा मात्र बनायो’, निस्सा प्राप्त गरेपछि जेष्ठ नागरिक वीरबहादुर राईले खुसीले गदगद हुँदै भने, ‘अब भने यो बुढेसकालमा साँच्चिकै धनीपूर्जा पाइन्छ कि जस्तो लागेको छ । निस्सा पाएपछि त पूर्जा पनि पाइन्छ होला ।’
माङसेबुङले अन्य वडामा समेत निरन्तर निस्सा वितरण गर्ने अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार वडा–३ मा १७ गते, ५ मा १८ गते, ४ मा १९ गते, २ मा २५ गते र १ मा २६ गते निस्सा वितरण गर्नेछ । माङसेबुङ गाउँपालिकामा २ हजार ५ सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका थिए । जसमध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीहरू रहेका छन् ।
भूमिहीन दलितले १ सय ३० वर्गमिटर, भूमिहीन सुकुम्बासीले ३ सय ४० वर्गमिटर आवास क्षेत्र वा तीन हजार वर्गमिटर कृषि क्षत्र र अव्यवस्थित बसोबासीले एक हजार वर्गमिटर आवास क्षेत्र वा १० हजार वर्गमिटर कृषि क्षेत्रको जग्गा पाउनेछन् । राष्ट्रिय भूमि आयोग जिल्ला कार्यालय इलामले जिल्लाका सबै स्थानीय तहसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरी प्रणालीमा प्रविष्ठ गरिरहेको जनाएको छ । लामो समयदेखि भोगचलनमा रहेको तर धनीपूर्जा प्राप्त नभएको नम्बरी बाहेकको जग्गामा बस्नेलाई अव्यवस्थित बसोबासी भन्ने गरिएको छ ।
अन्यत्र जग्गा भए तापनि चर्चेको त्यस्तो जग्गाको धनीपूर्जा पाउनसक्ने भएकाले स्थानीय तहले त्यस्ता जग्गाधनीको लगत संकलन गरिरहेको हो । एक टुक्रा जग्गासमेत नभएका र वार्षिक आम्दानीले परिवार पाल्न मुस्किल परिरहेका दलित तथा सुकुम्बासी परिवारको लगत संकलन गरेर आयोगले उनीहरूलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने नीति लिएको राष्ट्रिय भूमि आयोग इलामका अध्यक्ष भक्त केसीले जानकारी दिए ।
इलाम
प्रतिक्रिया