मौलापुरमा विद्युत् चुहावटमा कमी हुँदै

रौतहट । जिल्लाको मौलापुर नगरपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा विद्युत् चोरीमा कमी हुँदै गएको छ । वितरण केन्द्र मौलापुरअन्तर्गत पछिल्लो समय विद्युत् चुहावटमा कमी हुँदै आएको जनाइएको छ ।

वितरण केन्द्रका प्रमुख दिनेश यादवले दिएको जानकारीअनुसार केन्द्रको वैशाख महिनामा ५३ प्रतिशत चुहावट, जेठ महिनामा ४८ प्रतिशत र असार महिनामा ३८ प्रतिशतमा चुहावट झरेको बताउँछन् । तर साउन र भदौ महिनामा केही बढ्न सक्ने बताए ।

विद्युत चोरी गर्नेलाई धमाधम पक्राउ गरी दण्ड सजाय तथा कार्यवाही गर्न थालेपछि विद्युत् चुहावटमा उल्लेख्य कमी आएको उनको भनाइ छ । यो दुई महिनामा चुहावट टोली कम परिचालन भएकोले चुहावट बढ्न सक्ने बताए ।

विद्युत् चोरी न्यूनीकरणका लागि प्राधिकरणले अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । अब यसलाई हामी निरन्तर गर्छौं । वितरण केन्द्रले स्थानीय तह र प्रहरी प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई कारबाही गर्दै आएको उनले बताए ।

मौलापुर वितरण केन्द्रअन्तर्गत पर्ने मौलापुर, बौधीमाई, देवाही गोनाही, कटहरिया र फतुवा विजयपुर नगरपालिकाका विभिन्न वडाहरूमा हुकिङ गरी विद्युत् चोरी गर्ने क्रम बढेपछि त्यसलाई न्यूनीकरण गर्न मौलापुर वितरण केन्द्रले विद्युत् चोरी गर्नेहरूमाथि कार्यवाही गर्ने अभियान नै चलाएपछि विद्युत् चुहावटमा कमी आएको प्राधिकरणको भनाइ छ ।

उपभोक्ताको घरमा राखिएका मिटर रिसिलिङ, बक्यौता नतिर्ने तथा कालोसूचीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङबाट हुने चोरी नियन्त्रणका लागि नियमित अनुगमन गर्ने गरेका उनले बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया