सबै कर्मचारीले जोखिम मोल्न तयार भए परिणाममुखी नतिजा आउँछ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन नसक्ने बताए । ‘आफ्नो कार्यादेशअनुसार कर्मचारीले जोखिम उठाउन सक्नु पर्दछ,’ प्रचण्डले भने ।

कार्यक्रममा ‘रिपोर्ड कार्ड’को प्रस्तुतिपछि प्रधानमन्त्री प्रचण्डले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताए । ‘हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन’, उनले भने, ‘जिम्मेवारीमा जोखिम हुन्छ । सबै कर्मचारी जोखिम मोल्न तयार भए मात्रै परिणाममुखी नतिजा आउँछ ।’

प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूआत हुनु निकै राम्रो सुरूआत हो । राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहनत गर्नुपर्ने देखिन्छ । यसले प्रभावकारी परिणाम दिन सकिन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको उल्लेख गरिएको छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार आव २०७८/७९ मा भुक्तानी सन्तुलन २५५.२६ अर्ब ऋणात्मक रहेकामा आव २०७९/८० मा सुधार आई २९०.५२ अर्ब भएको छ । त्यसैगरी वैदेशिक विनिमय सञ्चिति १२१५.८ अर्ब रहेकामा यस आर्थिक वर्षमा १५३९.३६ अर्ब रहेको छ । त्यस्तै, रेमिट्यान्स प्राप्ति गतवर्ष १००७.३१ रहेकामा यस वर्ष १२२०.५६ अर्ब रहेको सरकारको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै, आव २०७८/७९ मा आयात १३१.३ अर्ब रहेकामा यसवर्ष १२९.२ अर्ब, निर्यात १४.८ अर्ब रहेकामा यस वर्ष १३.५ अर्ब, व्यापार सन्तुलन ११६.५ अर्ब ऋणात्मक रहेकामा यस वर्ष ११५.७ अर्ब ऋणात्मक देखिएको छ । बजेट खर्च २०७९ साउनमा १.२४ प्रतिशत रहेकामा २०८० साउनमा १.९ प्रतिशत देखिएको छ ।

प्रतिक्रिया