मालपोत कार्यालय मौलापुरद्वारा ६ करोड बढी राजस्व संकलन

रौतहट । मौलापुर मालपोत कार्यालयले रौतहटले आर्थिक वर्ष २०७९/८० मा ६ करोड ३ लाख ६१ हजार ६ सय ०२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले ५ करोड ६२ लाख १२ हजार ६ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा ४१ लाख ४८ हजार ९ सय ५६ रुपैयाँ बढी राजस्व संकल गरेको हो ।
कार्यालयले बेटी बचाउ तर्फ ५३ लाख ८४ हजार १ सय २१, रजिस्ट्रेशन तर्फ ३ करोड ७१ लाख ११ हजार ९४५, पुँजीकर तर्फ १ करोड ७ लाख २५ हजार ४ सय ४१ र सेवा शुल्क सहित ६ करोड भन्दा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख बबुनन्दन साहले जानकारी दिए ।

मालपोत कार्यालय मौलापुरले राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्का लगायतका शीर्षकबाट साबिक १८ गाबिस हाल ६ पालिकाको केही क्षेत्रबाट ४ हजार ३ सय ४४ रजिस्ट्रेशन लिखत पारित भएको उनले जानकारी गराए । गत आ.व.२०७८÷ ०७९ मा ५ हजार ३ सय २९ लिखत पारित भएको थियो । जग्गा वर्गीकरण नहुँदा लिखत पारित गराउनेको संख्या आर्थिक वर्ष २०७९÷८० मा घटेको उननले बताए ।

मालपोत कार्यालय मौलापुर अन्तर्गत मौलापुर नगरपालिका, बौधीमाइ नगरपालिकाको पुरै भाग पर्दछ भने कटहरिया नगरपालिका, देवाहीगोनाही नगरपालिका, फतुवा बिजयपुर नगरपालिका, परोहा नगरपालिकाको केही भाग पर्दछ ।

आव २०७९/८० मा महिला, दलित, जनजाती, सहिद परिवार गरी लक्षित वर्गका लागि १ करोड ३२ लाख ६५ हजार रुपैयाँ राजस्व छुट गरिएको छ । त्यस्तै कार्यालयमा मुद्दा ६ सय १३ वटा रहेकोमा ४ सय २७ वटा फर्छयौट भएको प्रमुख साहले बताए । १ सय ८३ वटा मुद्दा फर्छयौट गर्न बाँकी रहेको उनले जानकारी गराए । गत आ.व.२०७८/०७९ मा ८२४ वटा मुद्दा रहेकोमा ६६८ वटा मुद्दा फर्छयौट भएको थियो । मुद्दाहरुमा संशोधन, दाखिल खारेज, हकसफी, नामसारी लगायतका रहेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया