उहाले मरिहत्ते गरेपछि राजी भए

Bamdev-n-Tulasa-jiआधुनिकता, विज्ञान र प्रविधिको जतिसुकै कुरा गरे पनि हाम्रो समाज अझै पुरातनवादी संकीर्ण सोचाइले ग्रस्त छ । त्यसमाथि अठ्तीस वर्षअघिको समाजको त झन् के कुरा गर्नु † म मगरकी छोरी, उहाँ (एमालेनेता वामदेव गौतम) उपाध्याय बाहुन । अन्तरजातीय बिहे फलामको चिउरा चपाउनुभन्दा पनि गाह्रो कदम थियो उति बेला । उहाँ राजनीतिमा होमिएको केटा । मुख्य तीन चुनौती बाधा बनेर ठडिएका थिए हाम्रो सम्बन्धअगाडि– जातीय अन्तर, बिहेको विधि र बिहेको तिथि । त्यो तिथिमा ग्रहण परेको थियो । यी तीनै चुनौती स्वीकार गरेर हामीले बिहे भने गर्‍यौँ ।

०००
मेरो बुबा भारतीय अर्मीमा हुनुहुन्थ्यो, सपरिवार भारतको गोरखपुरमा बस्थ्यौँ । त्यहाँ कम्युनिस्ट पार्टीको कार्यालय थियो । म पनि त्यसमा आबद्ध थिएँ । कार्यकर्ताका हैसियतले पार्टी कार्यालयमा गइरहन्थेँ । सन् १९७२ को एक दिन वामदेव पार्टी कार्यालय आउनुभएको थियो । पहिलोचोटि त्यहीँ भेटेको हुँ उहाँलाई । सामान्य चिनजान भयो । तर, उहाँको नाम वामदेव भन्ने थाहा भएन । उति बेलाको प्रतिकूल राजनीतिक अवस्थाका कारण सुरक्षाका दृष्टिले नेताहरू सकेसम्म आफ्नो वास्तविक नाम हत्तपत्त खोल्दैनथे । मैले पहिलोपटक देख्दा दुब्लोपातलो हुनुहुन्थ्यो वामदेव । पुरानो डिजाइनको टोपी लगाउनुभएको थियो ।
केही दिनपछि मेरो धर्मदाजुसँगै घुम्दै गर्दा उहाँ हाम्रो घर आइपुग्नुभयो । त्यो भेटमा सामान्य कुराकानी भयो । उहाँले मेरो परिवारसँग पनि गफ गर्नुभयो । सुझाव दिनुभयो, ‘यसरी अर्काको देशमा बस्नुभन्दा आफ्नै देश जानु उपयुक्त हुन्छ । जे गर्नु छ, आफ्नै देशमा गर्दा बेस ।’ समयक्रमसँगै मलाई उहाँको सुझाव ठीकै लाग्यो । राजनीतिक सक्रियताका क्रममा मभित्र राष्ट्रियताको भावना पलाइसकेको थियो । त्यसलाई उहाँले थप उत्प्रेरित गरिदिनुभयो । ‘के बस्नु अर्काको देशमा ? अब आफ्नै देश जान्छु, पढे पनि उतै पढाँैला’, यस्तै सोचेर ०३० सालको फागुन–चैततिर म नेपाल आएँ । रूपन्देहीस्थित पार्टी कार्यालयको सम्पर्कमा बसेर अध्ययनसँगै राजनीतिक करियरलाई पनि निरन्तरता दिएँ । एकै ठाउँ काम गर्ने भएकाले उहाँ र मबीच कुराकानी भइरहन्थ्यो । उहाँ नेता, म कार्यकर्ता । उहाँ रूपन्देहीको पार्टी इन्चार्ज हुनुहुन्थ्यो । मेरो पुख्र्यौली घर तनहुँ, उहाँको प्युठान ।

सँगै काम गर्दै जाँदा उहाँ मलाई मन पराउन थाल्नुभएछ । एक दिन भन्नुभो, ‘एउटै पार्टीमा काम गर्छौं, विचार र सिद्धान्त मिल्छ, त्यसैले तपाईं र म बिहे गरौँ ।’ मैले त ठाडै अस्वीकार गरिदिएँ । भनेँ, ‘भर्खर आइए पढ्दै छु, अहिल्यै त बिहे गर्दै गर्दिनँ ।’ मैले जति गरे पनि उहाँले बिहेको रटान लगाउन छाड्दै छाड्नुभएन । म पनि राजी हुँदै हुन्नँ भन्ने अडान लिइरहेकै थिएँ । अन्त्यमा उहाँले भन्नुभो, ‘बिहे नगर्ने हो भने कारण पनि होला नि ? कि म मन परिनँ ?’ अब के भन्नुभन्नु, उहाँलाई खोट लगाउने ठाउँ पनि कतै थिएन । भनेँ, ‘त्यसो होइन, म अझै पढ्न चाहन्छु, फेरि बिहेजस्तो कुरा परिवारको पनि त सहमति चाहियो ।’ उहाँले सम्झाउनुभयो, ‘पहिला हामीबीच कुरा तय भएपछि परिवारलाई मनाउँला नि † तपाईंको पढ्ने इच्छामा बिहेपछि पनि मेरो तर्फबाट कुनै अवरोध हुनेछैन ।’ साह्रै कर गरेपछि यसो सोचिहेरेँ, ‘आखिर एक न एक दिन बिहे गर्नैपर्छ, मेरो पनि उमेर पुगेकै हो । यत्तिको मरिहत्ते गर्ने मान्छेसँग पक्कै जीवन राम्ररी नै बित्ला ।’ आखिरमा म पनि बिहेका लागि राजी भएँ ।’
हामीबीच त कुरा मिल्यो । अब कुरो परिवारको थियो । मेरो परिवार गोरखपुरमै थिए । नेता सिद्धिनाथ ज्ञवाली मेरो परिवारसँग कुरा छिन्न जानुभयो । मगरकी छोरी बाहुनले बिहे गर्ने, त्यसमा पनि राजनीति गर्ने केटो । सहजै किन मान्थे र ? निकै गाह्रो भयो परिवारलाई मनाउन । लामो प्रयासपछि बल्ल अनुमति पायौँ । पार्टीकै सल्लाहमा ०३१ साल मंसिर १७ गते बिहे गर्ने टुंगो लाग्यो ।
उहाँले मेरो बारेमा सबै बुझ्नुभएको थियो । मैले भने उहाँका बारे केही सोधखोज गरेकै थिइनँ । ‘कस्ती केटी होली, आफ्नो जीवन बिताउनुपर्ने मान्छेबारे केही सोधखाजै गर्दिनँ’, उहाँलाई अचम्म लागेछ । आफैँले भन्नुभो, ‘खोइ मेरो बारेमा त तपाईंले केही सोध्नुभएन ? सोध्नुस् है सबै कुरा ।’ मलाई केही सोध्न आवश्यकै लागेन । ऐनाजस्तो छर्लंग मान्छेसँग के पो सोधिरहनु र ? बिहेको टुंगो भए पनि हामीबीच मायाप्रीतिको कुरा भने कहिल्यै भएन । पार्टी काममा हिँड्दा काम गर्दा सँगै भइन्थ्यो । तर, सधैँ कामरेडी भावना र व्यवहार मात्र थियो ।
त्यसो त बिहेबारे पृथक् योजना र चाहना थियो मेरो । कोही र केही पनि नभएको मान्छेसँग बिहे गर्नुपर्छ भन्ने लाग्थ्यो । कसैले ठूलो परिवार–खान्दानको केटा राम्रो भन्थे । मेरी आमाचाहिँ ‘कोही पनि नभएको एक्लो केटाले राम्ररी पाल्छ, माया गर्छ’ भन्नुहुन्थ्यो । आमाको कुरा हो जस्तो लाग्थ्यो मलाई पनि ।
०००
बितेको मिति त तय गरियो तर पछि थाहा भयो, त्यस दिन ग्रहण पो रहेछ । हामी जुन समाजमा जन्मियौ–हुर्कियौं, त्यसका आफ्नै सामाजिक र धार्मिक नियम छन् । त्यसले भन्थ्यो, ‘ग्रहणका दिन कुनै शुभकार्य गर्नु हुँदैन । त्यो दिन गरेको कार्य अशुभ र अनिष्ट हुन्छ ।’ हामी त सोही दिन नयाँ जीवनको सुरुआत गर्दै थियौँ । बिहेबारीलाई योग्यता, क्षमता, विचार, भावनाभन्दा बढी चिनाकुण्डली हेरेर तय गर्ने समाजमा ग्रहणका दिन बिहे गरेको सुन्नु अनौठो कुरा थियो ।
पहिले त केही भइहाल्ने हो कि भनेर मेरो पनि नझस्किएको कहाँ हो र ? फेरि सोचेँ, ‘हामी त क्रान्तिकारी पो हौँ, यस्ता रुढीवादी कुरामा कहाँ अल्झिन हुन्छ ? संस्कृति र परम्पराका नाममा रहेको अन्धविश्वास चिरेर नयाँ समाज निर्माण गर्न हिँडेका व्यक्तिले यस्तो सोच्नु हुँदैन ।’ वामदेवजीले पनि ग्रहणको कुरोलाई सामान्य रूपमा लिनुभयो । केही अनिष्ट होला कि भन्ने त्रास उहाँमा पटक्कै थिएन । त्यसो त हामी त्यस दिनलाई परीक्षण पनि गर्न चाहन्थ्यौँ केचाहिँ हुँदो रहेछ त हेरौं न †
ग्रहण लाग्ने दिन मात्रै होइन, महिनालाई नै अशुभ मान्थ्यो समाज । हामीले भने त्यही दिन बिहे गरिछाड्यौँ । क्रान्तिकारी चिन्तनमा लागेका थियौँ दुवै जना । रुढीवाद र अन्धविश्वासी संस्कृतिका विपक्षमा जनतालाई सचेत र प्रशिक्षित पार्दै हिँडेका हामी आफैँले त्यसलाई पछ्याउन त झन् कहाँ हुन्थ्यो र ? त्यसैले हामीले जातपाततिर ध्यान दियौँ न त ग्रहणतिर ।
पार्टीको व्यवस्थापन र तयारीमा रूपन्देहीको चौरहिया भन्ने ठाउँमा बिहे भयो । भूमिगत अवस्थामा रहेकाले बिहेमा उहाँको परिवारबाट कसैको पनि उपस्थिति थिएन । गोरखपुरबाट मेरी आमा आउनुभएको थियो, बुबाले चाहिँ छुट्टी पाउनुभएनछ । बामदेवजीले मलाई सिन्दुर, पोते, र चुरा दिनुभयो । पार्टीमा लागेदेखि नै गहनालाई बन्धनका रूपमा बुझेकी थिएँ मैले । नेताहरूले भाषण गरे, बिहे सकियो । बेहुली हुँदा काँचको सामान्य चुराबाहेक केही लगाएकी थिइनँ । नाकमा फुली पनि धेरैपछि मात्र लगाएकी हुँ । उतिबेला कम्युनिस्ट पार्टीमा लाग्ने महिलाले गहना लगाउने चलन थिएन पनि । ‘गहना दासत्वको बन्धन हो, गाइभैँसीलाई जस्तै नारीको नाककान छेडेर गहना लगाइदिन्छन् र त्यसैको बलमा पुरुषले नारीलाई आफ्नो वशमा राख्छन्’ भन्थ्यौँ हामी । भाषणमा पनि यस्ता कुरा निकै भन्यौँ ।
बिहे गर्दैखेरि मैले सोचकी थिएँ, मेरो परिवारले स्वीकारे पनि उहाँका परिवारले नस्वीकार्न सक्छन् भनेर । ‘म मगरकी छोरी, उहाँहरू ब्राह्मण । जुन समाजमा अविवाहित छोराीलाई त भान्सामा जान दिँदैन भने मगरकी छोरीलाई झन् कसरी देलान् ?’ उहाँको परिवारले सहज रूपमा नलिँदा पनि मैले कुनै गुनासो वा दु:ख मान्नु हुँदैन भनेर आत्मविश्वास दह्रो बनाइसकेकी थिएँ । फेरि क्रान्तिकारीताको नाममा आफू ब्राह्मणको भान्सामा जान पाउनैपर्छ भन्ने दाबी मेरो थिएन पनि ।
बिहेपछि सल्लाह भयो– एकले सक्रिय राजनीति गर्ने, अर्कोले आर्थिक उपार्जनका लागि कुनै काम गर्ने । उहाँ राजनीतिमै लाग्नुभयो, म रूपन्देहीको स्थानीय स्कुलमा पढाउन थालेँ । उहाँले नै राजनीति गर्नुपर्नाको कारण थियो, पार्टीमा उहाँको जिम्मेवारी र आवश्यकता । मेरो तलब थियो १ सय ८२ रुपियाँ । घरभाडा, खाना, केटाकेटीको स्याहारसुसार सबै त्यसैले धान्नुपर्ने । कहिलेकाहीँ मेरो माइतीले सहयोग गर्थे ।
बिहेपछि लामै समय घर गएनौँ । उहाँको सुरक्षाका लागि पनि जान सक्ने अवस्था थिएन । बिहेको करिब नौ वर्षपछि मात्रै हो, म उहाँको घर पुगेकी । दुई बच्चा पनि भइसकेका थिए । घरमा सबैले स्वीकार गर्नुभयो, कुनै गुनासो वा अशिष्ट व्यवहार खेप्नु परेन । सबैले सहज रूपमा लिनुभयो ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया