काठमाडौं । देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार २ सय ९२ जना बिरामी परेका छन् ।
डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगुको संक्रमण बढिरहेको बताए । उनले दैनिक संक्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे ।
‘दैनिक डेंगुको संक्रमण बढिरहेकाले सरसफाइसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ’, निर्देशक डा.मरासिनीले भने, ‘डेंगु संक्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।’
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगुको संक्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार ७ सय ८४ जना डेंगुबाट संक्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।
सुनसरीमा सात हजार संक्रमित
डेंगुको संक्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेंगुबाट संक्रमित भएका छन् ।
यस्तै मोरङ १ हजार ५ सय ९१, धादिङमा १ हजार २ सय २, झापामा ८ सय ९६, कास्कीमा २ सय ४७, धनकुटामा २ सय ३६, काठमाडौंमा १ सय ९६, दार्चुलामा १ सय ९४, संखुवासभामा १ सय ५६ तथा चितवनमा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कोशी प्रदेशमा बढी
डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार १ सय ८२ जना यसबाट संक्रमित भएका छन् ।
यस्तै बागमती प्रदेशमा १ हजार ७ सय ९३, गण्डकीमा ५ सय १०, सुदूरपश्चिममा ४ सय १७, लुम्बिनीमा २ सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगुको संक्रमण देखिएको महाखाले जनाएको छ ।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
प्रतिक्रिया