मुगु । हिमाली हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमूल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयहरूले आफ्ना गाउँहरूमा करोडौँ रकम भित्राएका छन् । जिल्लाका मुगुमकार्मारोङ, गाउँपालिका, छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका स्थानीयहरूले यार्सागुम्बा बेचेर लाखौँ रकम घरमा र करोडाैं रकम गाउँमा भित्राएका छन् । देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरूले भने गाउँगाउँमा करोडौँ रकम भित्राएका छन् । गत जेठ ५ गते मुगुका दुई दर्जन बढी पाटनहरूमा यार्सा संकलनका लागि मुगुमा कार्मारोङ गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो ।
मुगुका पाटन तथा हिमालहरूमा यार्सा टिप्न मुगुका स्थानीयका साथै यो वर्ष दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालिकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि संकलकहरू आएको यार्सा संकलन छोर्तेन लामाले बताए । जेठ ५ देखि असार ५ सम्म यार्सा टिप्न गाउँपालिकाले समय तोकेको थियो त्यो समयमा पानी र हिउँ परेकाले सोचेजस्तो यार्सा पाइएन तर असार ५ पछि मौसममा सुधार आउँदा पुनः मुगालीहरू यार्सा टिप्न पाटनहरूमा पुग्दा धेरै यार्सा पाएको पनि लामाले बताए ।
छायानाथ रारा नगरपालिका–१२ का स्थानीय कम्बर ऐडीले यार्सा टिप्न पाटन गएका आफ्ना भाइबुहारीले मात्र २५ दिनमा यार्सा बेचेर साढे चार लाख कमाएको बताए । गाउँभरीका यार्सा टिप्न जानेले कम्तीमा दुई लाखभन्दा कम कसैले नल्याएको र यो हिसाबले आफ्नो लुम्स गाउँमा मात्र ३० देखि ५० लाखसम्म रकम भित्रिएको हुनसक्ने उनले अनुमान लगाए ।
छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर आफ्नो गाउँमा गाउँलेहरूले एक करोड बढी रुपैयाँ भित्रिएका छन् । हुन पनि मुगालीहरू वर्षभरी खान र आफ्ना वार्षिक आवश्यकताको खर्च जोहो त्यही एक महिनामा यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन् । व्यापार, खेतीपाती र नोकरीभन्दा महिना दिन भित्रमा यार्सा टिपेर हुने आम्दानी राम्रो हुने भएपछि यो सिजनमा सबै काम थाती राखेर यार्सा टिप्न गाउँ गाउँ खाली गरेर स्थानीयहरू पाटनमा पुग्छन् ।
यार्सा व्यापारीहरू पाटनमै पुगेर यार्सा संकलकहरूबाट यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न संकलकहरूलाई बजारको समस्या हुँदैन । पाटनमै टिप्ने उतै बेच्ने पैसा मात्र घर ल्याउने गर्दछन् । यो चोटी पाटनमा यार्सा व्यापारीहरूले खाल्वा (ठुलो, राम्रो) यार्सालाई प्रतिबुटी आठ सय र मध्यमलाई प्रतिवुटी ४ सय ५० सम्म मूल्य दिएका थिए । खाल्वा यार्सा एक केजी पुग्न ३२ सय वटा बुटी र मध्यम यार्सा एक केजी पुग्न चार हजारदेखि ४२ सयसम्म चाहिन्छ ।
यार्सा बेचेर जिल्लाभरीका प्रायः गाउँमा पैसा भित्रिए पनि सबैभन्दा बढी मुगुमकार्माराङ गाउँपालिका सबै बस्ती र छायानाथ रारा नगरपालिकाका केही बस्तीमा रकम भित्रिएको यार्सा संकलकहरू बताउँछन् । यार्सा बेचेर मह गाउँमा मात्र चार करोडभन्दा बढी रकम भित्रिएको स्थानीयले बताए । यस्तै माग्री, पाँपु, छाइल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा पनि ५० लाखदेखि एक करोडसम्म रकम भित्रिएको मुगु गाउँका स्थानीय छोर्तेन लामाले बताए । उनका अनुसार आफ्नो गाउँ मुगुमा मात्र गाउँलेले तीन करोड बढी रकम यार्सा बेचेर कमाए ।
मुगुमकार्मारोङमा पर्ने पुअ गाउँका छेवाङ लामाका छोराबुहारीसहित चार जनाले यार्सा बेचेर २१ लाख कमाएका छन् यो गाउँमा मात्र यो सिजनमा गाउँले यार्साबाटै एक करोड बढी रकम गाउँमा भित्राए । यस्तै नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घट्टलेख, जिउला, ¥याङच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीयले पनि यार्सा बेचेर रामै्र आम्दानी गरेका छन् ।
किम्री गाउँका स्थानीय कार्मा सेराप लामाले भने, ‘भगवान्ले हाम्रालागि हिमालमा यार्सा होइन, हिरा उमारिदिएका हुन् । हामीलाई कसले हे¥यो ? यहि यार्सा नभइदिएको भए हामी कसरी घर खर्च र बाल बच्चाको पढाइलगायत अन्य खर्चको जोहो गथ्र्यौ । हाम्रो हालत के हुथ्यो । हाम्रो पावर, पहँुच थिएन ।’
गाउँमा आउने विकासनिकास टाठाबाठाले खान्थे । नोकरी पाउन गाह्रो छ । खेतीपाती राम्रो उब्जनी छैन, वर्षैभरी एक बाली उब्जन्छ, आफूजस्ता गरिबका लागि यार्सागुम्बा वरदान सावित भएको उनले बताए । उनले भने, ‘प्रत्येक वर्ष हामी चार परिवार यार्सा टिप्न एक महिना पाटनमा जान्छौँ ६–सात लाख रुपैयाँ कमाएर ल्याउँछौँ । कोरोनाकालमा दुई वर्ष यार्सा टिप्न र बेच्न नपाउँदा ती वर्षहरू कष्टकर काट्नुप¥यो’, उनले तितो अनुभव सुनाए ।
हिमालको हिरा टिप्न सोचेजस्तो सजिलो कहाँ छ र मह गाउँका राप्के तामाङले भने । उनले भने, ‘हिउँ पानीसँग खेल्नुपर्छ । चिसोबाट बचेर भोकप्यासको प्रवाह नगरी अग्लाअग्ला हिमाल र पाटनहरू यार्सा खोज्दै चहार्नुपर्छ,’ उनले भने, ‘पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन । यति सहेर यार्सा पाए पनि कहाँ सुख्ख छ र पाटनमा यार्सा लुटेराहरू बन्दुकसहित पुग्छन् । तिनीहरूबाट बचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित घर पुग्नु ठूलै युद्द जितेजस्तै हो ।’
मुगुका माजिङ थान, ठुलो कोइकी, सानो कोइकी, छापाखोला, टाँके, रिमाड, हङदङ खोला, च्र्याकुलेख, छुमुरु, छुङडुङ, भावर खोला, असि पाटन, नयाँ वन, टाङवाक, झोवा लेख, वाङरी रमाना, धोवार खोला, च्यांजीलगायत दुई दर्जन बढी पाटनमा यार्सागुम्बा पाइन्छ । यस्तै ठूलो कोइकी, सानो कोइकी, माजिङ थान, भावर खोला, ठुलो ताक्ले र सानो ताक्लेमा भन्ने पाटनमा पाइने यार्सागुम्बालाई राम्रो मानिन्छ ।
प्रत्येक वर्ष यार्सा पाटनमा हिउँ पहिरोमा परेर, लेक लागेर र अन्य बिमारी भएर र लुटेरा संकलकबीच झडप हुदा कम्तिमा पाँच जनासम्मले ज्यान गुमाउँछन् । यो वर्ष मात्र पाटनमा हिउँपहिरोमा परेर, नदीमा खसेर र बिरामी परेर पाचँ जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।
यार्सा टिप्न पाटन प्रवेश शुल्कबाट गाउँपालिकाले ४५ लाख राजस्व उठेको र बर्सेनि पाटनहरूमा कोही न कोही यार्सा संकलनको मृत्यु हुने भएपछि यो वर्षबाट मृतकका परिवारको भरणपोषणमा सहयोग पुगोस् भनेर गाउँपालिकाले प्रवेश शुल्क तिरेर यार्सा टिप्ने जाने संकलकको पाँच लाख बराबरको यार्सा दुर्घटना बिमा गरिदिएको मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।
मुगु
प्रतिक्रिया