चितुवाकाे आक्रमणबाट लमजुङमा दुई सयभन्दा बढी चौपायमा क्षति

लमजुङ । लमजुङमा १० वर्षमा चितुवाको आक्रमणबाट दुई सयभन्दा बढी घरपालुवा जनवारमा क्षति पुगेको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष ०७९/८० सम्म दुईसय तीन पशु चौपायमा क्षति पुगेको हो ।

कार्यालय लमजुङको तथ्यांक अनुसार जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट गत आर्थिक वर्षमा मात्रै ६८ भेडाबाख्रामा क्षति पुगेको हो । पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट एकसय ९५ भेडा बाख्रा, दुईवटा गाईगोरु, र ६ वटा भैसीमा क्षति पुगेको डिभिजन कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा चितुवाको आक्रमणबाट सवैभन्दा धेरै आर्थिक वर्ष २०७८/७९ मा ७२ वटा घरपालुवा जनवारमा क्षति पुगेको छ । सो आर्थिक वर्षमा मात्रै ६८ वटा भेडा बाख्रा, चारवटा भैसीमा चितुवाले क्षति पुर्याएको कार्यालयको तथ्याँकले देखाउँछ ।

सो बाहेक आर्थिक वर्ष २०७७/७८ मा २८ भेडा बाख्रा सहित ३० वटा घरपालुवा जनवार, ०७६/७७ मा १३, आर्थिक वर्ष २०७५/७६ मा १०, आर्थिक वर्ष ०७३/७४ मा सात वटा घरपालुवा जनवारमा चितुवाले आक्रमण गरेर क्षति पुर्याएको छ । त्यसैगरी आर्थिक वर्ष ०७०/७१, आर्थिक वर्ष ०७२/७३ र आर्थिक वर्ष ०७४/७५ मा एक एकवटा घरपालुवा जनवारमा चितुवाको आक्रमणबाट क्षति पुगेको छ ।

पछिल्लो समय बन्यजन्तुको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका डिभिजन वन कार्यालयका डिभिजन प्रमुख पूर्णेश्वर सुवेदीले बताए । जिल्लामा बर्षेनी घरपालुवा जनवारमा बन्यजन्तुको आक्रमण बढेपनि मानविय क्षति भने अहिलेसम्म भएको छैन ।

प्रतिक्रिया