राष्ट्रप्रति गम्भीर ठट्टा

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुईदिन अगाडि आफूलाई प्रधानमन्त्री स्वीकार्न प्रतिपक्षलाई गरेको आग्रह ठट्टा भएको बताएका छन् । गोरखाको एक कार्यक्रममा आफैँले राखेको सर्तलाई ठट्टा गरेको भन्दै दुई दिनपछि ताप्लेजुङको सभामा उनले र प्रधानमन्त्रीले त्यो त ठट्टा मात्र हो भन्दै स्पष्टीकरण दिए । आफ्नै पार्टीका उपाध्यक्ष प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारमा प्रतिपक्ष नआउने हो भने आफ्नो नेतृत्व स्वीकार गर्न उनले आह्वान गरेका थिए । अहिले आफैँले गरेको उक्त आह्वानलाई दाहालले आफ्नो ठट्टालाई मिडियाले बढी प्रचार गरेको भन्दै दुनियाँलाई चकित बनाए । त्यसको एकदिन अघि पोखराको कार्यक्रममा दाहालले शान्ति सम्झौता च्यात्न सक्ने बताएका थिए भने भोलिपल्ट आफूले बोलेको कुरा मिडियाले अर्कै रूपमा प्रस्तुत गरेको भनेर आपत्ति जनाएका थिए । वास्तवमा पुष्पकमल दाहालको गरिमा, ओज र सान्दर्भिकतालाई उनी आफैँले साह्रै हल्का बनाइरहेका छन् । सबैभन्दा ठूलो पार्टीको प्रमुख नेताले व्यक्त गरेको धारणाले ठूलो अर्थ राख्छ । त्यसमा पनि नेपालको वर्तमान संकट निवारण गर्न सक्ने व्यक्तिका रूपमा हेरिएका दाहालले हल्का र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदा राम्रो सन्देश जाँदैन । उनले जटिल अवस्थालाई सरल र सहज बनाउन महत्त्वपूर्ण भूमिका निभाउन सक्नुपर्छ । यसका लागि दाहालले सुझबुझपूर्ण ठोस् अभिव्यक्ति दिन जरुरी हुन्छ ।
दाहालमाथि नेपाली जनताले ‘बोलीको ठेगान नभएको नेता’ भनेर आरोप लगाउने गरेका छन् । वास्तवमा यो आरोपलाई उनले सत्य सावित गरिदिएका छन् । मुख्य नेताले नै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने अनि त्यसैलाई आफूले ‘ठट्टा’ गरेको भन्ने राष्ट्रिय मजाक गर्न मिल्दैन । समग्र वस्तुस्थितिको वस्तुवादी ढंगले सूक्ष्म विश्लेषण गरेर समस्या समाधानमा सहयोग पुग्ने गरी बोल्नुपर्ने व्यक्तिले जथाभावी बोल्ने हो भने कुनै पनि समस्या समाधान हँुदैन । वर्तमान सरकारका कारण राजनीतिक सहमति हुन सकिरहेको छैन । दाहालले आफूले पार्टीमा प्रस्तुत गरेको दस्तावेजमा अहिलेकै अवस्थामा सरकार छाडे ‘आत्मघात’ हुने उल्लेख गरेका छन् । तर, उनै दाहालले मंगलबारको एक आमसभामा जेठ १५ गते भित्र निर्वाचन गर्ने सर्तमा सरकारमा जसको नेतृत्व पनि स्वीकार गर्न सक्ने अभिव्यक्ति दिए । उनको कुन दिनको कुन कुरा सत्य हो, कुन ठट्टा हो र कुन झूटो हो छुट्याउन गाह्रो छ । पोखरा, गोरखा, कीर्तिपुर, सिन्धुली र ताप्लेजुङमा बेग्लाबेग्लै कुरा बोलिएको छ । वास्तवमा आफूले बोलेका कुन कुरा सत्य, कुन झूटो र कुन ठट्टा हो दाहाल आफैँले छुट्याएर प्रस्ट पार्न जरुरी छ । एउटा राष्ट्रिय नेताले बोलेको कुराले ठूलो अर्थ राख्छ । कसैले माने पनि नमाने पनि नेपालको वर्तमान सन्दर्भमा दाहाल एक निर्णायक शक्ति हुन । वर्तमान अवस्थामा उनको शक्ति आफ्नै कारणले क्षयीकरण हँुदैगएको छ । निर्णायक शक्तिको शक्ति क्षयीकरण हुनु भनेको राम्रो होइन । यसलाई दाहालले सच्याउन उपयुक्त हुन्छ ।
सहमतिको राष्ट्रिय सरकार गठनका सम्बन्धमा पनि दाहालले बारम्बार झूट बोलेका छन् । उनले नेपाली कांग्रेससँग प्रधानमन्त्रीको उम्मेद्वारको नाम बारम्बार मागेका थिए । नाम दिएपछि त्यसबाट दाहाल पन्छिए । कहिले संविधानसभा पुन:स्थापना र कहिले निर्वाचनबाहेक अन्य कुनै विकल्प नभएको अभिव्यक्ति पनि दाहालले दिएका थिए । मंगलबार फेरि उनले जेठ १५ गते भित्र निर्वाचन गर्ने सर्तमा जोसुकैको नेतृत्व स्वीकार गर्न सक्ने अभिव्यक्ति दिएका छन् । वास्तवमा निर्वाचनका लागि एमाओवादीभन्दा नेपाली कांग्रेस र नेकपा एमाले आतुर देखिन्छन् । यदि दाहालले आत्मैदेखि भनेको हो भने नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री स्वीकार गरेर सहमतिको राष्ट्रिय सरकार गठन गर्दा हुन्छ । जेठ १५ गते भित्र निर्वाचन गर्ने सर्त सबै प्रतिपक्षले स्वीकार गर्नेछन् । तर, फेरि पनि झूट बोलेको वा ठट्टा गरेको हो भने एमाओवादी प्रति बाँकी रहेको थोरै विश्वास पनि समाप्त भएर जानेछ । मुलुकको बिग्रँदो राजनीतिक अवस्था र संवैधानिक संकट हटाउनका लागि दाहालले मात्र सक्ने अवस्था देखिन्छ । तसर्थ, उनले राष्ट्र र जनताका लागि बोल्नु र गर्नुपर्छ । गैरजिम्मेवार अभिव्यक्ति दिनु हुँदैन ।

प्रतिक्रिया