मुगु । कर्णालीका जिल्लामा चामल र नुनको सधैँ पिरलो हुन्छ । अहिले कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा चामलको अभाव छ । मौज्दात पर्याप्त नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल वितरणमा रोक लगाएको छ । कम्पनीले एक सातादेखि चामल वितरणमा रोक लगाएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगेका उपभोक्ता रित्तो हात फर्किन बाध्य छन् ।
भौगौलिक विकटताका कारण खाद्यान्न उत्पादनमा कमी हुने भएकाले यो समस्या बर्सेनि दोहोरिने गर्छ । खाद्यान्न पर्याप्त नभएका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले साउन ११ गतेबाट चामल विक्री वितरणमा रोक लगाएको छ । जसले सस्तो मूल्यमा खाद्यान्न लिन पुग्ने मुगुका नागरिक रित्तो हात फर्किने गरेका उपभोक्ताको भनाइ छ ।
मुगुमा आर्थिक वर्ष २०७९–८० को स्वीकृत कोटा जिल्लाभरी २६ हजार ९ सय ५० क्विन्टल थियो । तर समयमा ढुवानीको ठेक्का लाग्न नसक्दा कोटा अनुसारको चामल मुगुमा पुगेन । अहिले गोदाममा ६ सय ८० क्विन्टल मात्र खाद्यान्न मौज्दात छ । वर्षातका बेला भैपरी आउने विपद् व्यवस्थापनका लागि मौज्दात राखेर संस्थानले विक्री वितरण बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख पुस्कर भामले जानकारी दिए । उनका अनुसार भारतले खाद्यान्न निर्यातमा रोक लगाएको हुँदा विपत परेका बेला आवश्यक खाद्यान्न जोहोका लागि बिक्री बन्द गर्नुपरेको प्रमुख भामको भनाइ छ ।
सुनजस्तै महँगो छ नुन
काठमाडौंमा सुन चर्चा चलिरहँदा कर्णालीमा नुनको पिरलो छ । मुगुमा जनताले नुन पाउनै कठिन छ । अर्थात् मुगाली जनताका लागि सुन जस्तै महँगो छ नुन । देशको राजधानीमा क्विन्टल सुनको तस्करी भएको भेटिन्छ । कर्णालीमा नागरिकहरू नुन पाउनै लडाइँ जित्नुपर्ने कहालीलाग्दो अवस्था छ । घरमा खाने नुनकै हाहाकार हुने पो हो कि भन्ने चिन्ताले उनीहरू नागरिकताको फोटोकपी र हातको नङमा रेजा चिन्न लगाएर प्रतिव्यक्ति पाँच किलो नुनका लागि धाइरहेका छन् ।
मुगमा एक नगरपालिका र तीन गाउँपालिकालाई लक्षित गरी आ.व. २०७९/८० को लागि ३ हजार ३ सय ९० क्विन्टल नुन जिल्लामा आए पनि नुनको अभाव भने टरेको छैन । प्रतिव्यक्ति पाँच किलो नुन लिन दूरदराजका स्थानीय कम्तिमा ५० रुपैयाँ पर्ने नुनलाई पाँच हजार रुपैयाँसम्म खर्चिएर सदरमुकाम धाइरहेका छन् ।
सोरु गाउँपालिका र खत्याड गाउँपालिकालाई एक/एक हजार क्विन्टल नुन वितरण गरी सकिएको छ । अनुदानमा आएको नुन स्थानीयले पशु चौपायालाई समेत यही नुन खुवाउँदा अभाव हुन सक्ने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । जिल्ला साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड मुगुमा ३ सय ५० क्विन्टल मात्र नुन रहेको कार्यालयले जनाएको छ ।
मुगु
प्रतिक्रिया