रौतहट । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८ सय ७५ साना उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग कार्यालय गौर रौतहटमा ८७५ नयाँ साना उद्योग दर्ता भएका हुन् । यस अवधिमा ७५९ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख जयकान्त झाले जानकारी गराए । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ९४७ नयाँ दर्ता भएका छन् भने १ हजार २ सय ७१ वटाको नवीकरण भएको छ ।
गत आव २०७८/७९ मा १६९७ साना उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख जयकान्त झाका अनुसार सो अवधिमा ५ सय १३ साना घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ १ हजार ६ सय ९२ नयाँ दर्ता भएका थिए भने ८ सय ८५ नवीकरण भएका घरेलु तथा साना उधोग कार्यालय गौर रौतहटले जनाएको छ । गत आवको तुलनामा यस आवमा ८ सय २२ साना उधोग दर्ता कम भएको कार्यालय प्रमुख झाले बताए । यसको प्रमुख कारण बैंकले ऋण प्रवाह बन्द गर्नु रहेको उनको भनाइ छ । गत आव २०७८/७९ मा बैंकले ऋण प्रवाह गरिरहेको कारण उधोग दर्तामा वृद्धि भएको थियो ।
कार्यालयका अनुसार आव २०७७/७८ मा १ हजार ७ सय २८ साना उद्योग र वाणिज्यतर्फ २ हजार १ सय ४७ दर्ता भएको थियो । सो आर्थिक वर्षमा २ करोड ४८ लाख ६० हजार १ सय राजस्व संकलन भएको थियो ।
कार्यालयले आव २०७९/८० उद्योगतर्फबाट ६७ लाख ५८ हजार २ सय र वाणिज्यतर्फ १ करोड २ लाख ७७ हजार ८ सय ५० राजस्व संकलन गरेको छ । यसरी कार्यालयले आव २०७९÷८० मा कुल १ करोड ७० लाख ३६ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आव २०७८/७९ मा उद्योगतर्फबाट ९८ लाख ९ हजार १ सय ५० र वाणिज्यतर्फ १ करोड १३ लाख ५२ हजार २ सय राजस्व संकलन भएको थियो । यसरी कार्यालयले आव २०७८/७९ मा कुल २ करोड १४ लाख ४३ हजार ६ सय राजस्व संकलन गरेको थियो । यस हिसाबले राजस्व संकलन पनि घटेको छ । चन्द्रपुर, गुजरा, वृन्दावन, कटहरिया र गढिमाई नगरपालिकामा लगायत स्थानमा साना उद्योग÷व्यवसाय तथा पसल गर्नेको संख्या बढिरहेको कार्यालय प्रमुख झाले बताए ।
उनका अनुसार दर्ता भएकामध्ये उद्योग मध्ये अधिकांश कृषि फर्म रहेको बताए । कृषि फर्म मात्रै ७५ प्रतिशत दर्ता भएको उनको भनाइ छ । त्यस्तै २५ प्रतिशतमा फर्निचर, पार्लर, मोटरसाइकल मर्मत लगायतका व्यवसायहरू रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयले उद्यमशीलता कार्यक्रममा २ सय ४, सीपमूलक तालिम एडभान्सतर्फ १ सय ५, भगत सर्वजिततर्फ सिलाइ, कटाइ, कम्प्युटर तालिम १ सय २३ र नियमिततर्फ ३ सय १ जनालाई तालिम प्रदान गरेको छ ।
आव २०७९/८० मा एडभान्सतर्फ गरुडा, कटहरिया, गौर नगरपालिका, भगत सर्वजिततर्फ गौर, चन्द्रपुर, कटहरिया र दुर्गाभगवती गापामा, नियमिततर्फ गौर, चन्द्रपुर नपा र उद्यमशीलता गौर, चन्द्रपुर नपा र दुर्गाभगवती गापामा तालिम सञ्चालन भएका छन् । कार्यालयको आव २०७८/७९ मा बेरुजू नरहेको र आव २०७९/८० आलेप र मलेप हुन बाँकी रहेको जानकारी गराइएको छ । कार्यालयमा स्वीकृत दरबन्दी नौ जना रहेकोमा पदपूर्ति संख्या चार रहेको र रिक्त पद संख्या पाँच रहेको जनाइएको छ ।
आव २०७९/८० मा चालुतर्फ अन्तिम २ करोड ३७ लाख ६२ हजार ४ सय बजेट रहेकोमा २ करोड १९ लाख २ हजार ८ सय १४ बजेट निकास भई ९२ दशमलव १७ प्रतिशत बजेट खर्च भएको छ । जबकी पुँजिगततर्फ ३ करोड १ लाख ८७ हजार ४ अन्तिम बजेट रहेकोमा २ करोड ४७ लाख १६ हजार १ सय ५० निकासा भई ८१ दशमलव ८८ प्रतिशत बजेट खर्च भएको हो । रौतहट जिल्लामा हालसम्म ११ हजार ३ सय ४३ साना घरेलु उद्योग दर्ता भएको छ भने १३ हजार ९ सय ९६ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया