रुकुम पश्चिम । वर्षायाम सुरु भएसँगै जिल्लाका ग्रामीण सडकमा यातायात ठप्प भएका छन् । सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । अविरल वर्षाका कारण विभिन्न स्थानीय तहमा पुग्ने सडकका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेपछि यातायातका साधन बन्द भएका हुन् । वर्षात नसकिएसम्म जिल्लाका विभिन्न ग्रामीण सडकहरू बन्द हुँदै आएका छन् । संघीयतापछि बनेका स्थानीय सरकारले प्रत्येक वडासम्म सडक सञ्जाल जोडेसँगै ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडक अवरुद्ध बन्दै गएका छन् । सदरमुकाम मुसिकोटबाट बाँफीकोट गाउँपालिका, आठविसकोट नगरपालिकाको केन्द्र जाने बाटोसमेत अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।
मुसिकोट–गिल्वाङ छिनखेत–नदुवा राडी सडकखण्ड पूर्णरूपमा अवरुद्ध बनेका छन् । जिल्लाका ६ वटै स्थानीय तहका अधिकांश सडकहरू वर्षा नसकिन्जेल यातायात ठप्प हुने अवस्था छ । वर्षा सुरु भएसँगै जिल्लाको सानीभेरीका विभिन्न ग्रामीण सडक, चौरजहारीका नुवाकोट, चौरजहारी सल्यान जोड्ने सडक, त्रीवेणीको सिम्रुतुसिम्रुतु–विमैचा, पेउघा, मुसिकोट नगरपालिकाको झुलखेतसडकखण्ड, बाँफिकोट, मग्मा सिम्तारु, नदुवा राडीलगायत क्षेत्रका स्थानीयवासीलाई बढी समस्या भएको छ । सडक विभिन्न ठाउँमा भत्किएपछि अप्ठ्यारो बाटामा घण्टौ लगाएर पैदल यात्रा गर्नसमेत निकै कठिन हुने गरेको स्थानीयको भनाइ छ ।
त्रीवेणी गाउँपालिकाकी शर्मिला खड्का भन्छिन्, वर्षा सुरु भएदेखि नै यहाँका सडक पूर्णरूपमा अवरुद्ध छन् । गाउँगाउँमा सडक त पुग्यो तर गुणस्तर भएन । अब हामी गाडी चढ्नलाई असोज महिना कुर्नुपर्छ । ग्रामीण सडकको ठाउँठाउँमा पहिरो खस्दा आवतजावत गर्नसमेत अप्ठ्यारो परेको खड्का बताउँछिन् । उनी भन्छिन्, ‘बर्खा लाग्यो, अब यहाँका गाउँमा पुग्ने सबै सडक बन्द भए, कतै खोला वारपार गर्न समस्या छ त कतै पहिरो खसेर सडक बन्द भएका छन् । जिल्लाका ६ वटै स्थानीयतहमा प्रर्याप्त सडक ट्रयाक खोलिएको छ तर ती सडक वर्षायाम सुरु हुने बित्तिकै पूर्ण बन्द हुने गरेका छन् । ग्रामीण सडकको अवस्था दयनीय हुँदा जिल्लाका ६ वटै स्थानीय तहमा स्थानीयवासी जोखिपूर्ण यात्रा गर्न बाध्य छन् ।’
यहाँका राप्ती राजमार्ग र मध्यपहाडी लोकमार्गले छोएका मुख्य बजारहरूमा भने फाट्टफुट्ट रूपमा साना जिप सञ्चालन भइरहेका छन् । सडकअवरुद्ध भएसँगै स्थानीय बासिन्दालाई दैनिक उपभोग्य वस्तु किनमेल र ढुवानीमा समस्या आएको छ । जथाभावी रूपमा खनिएका सडकबाट जिल्लामा पहिरोको उच्च जोखिम हुने जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । स्थानीय तहमा प्राविधिक रूपमा जाँच नै नगरी खनिएका सडकले जोखिम बढाउने भएपछि जिल्लाबासी त्रसित बन्दै गएका छन् ।
‘बाँफिकोट गाउँपालिकाको सबै वडामा पुग्न साना ठुला खोला पार गर्नुपर्छ, निरन्तरको वर्षाको कारण खोलामा पानीको बहाव बढेपछि यातायातका साधान वारपार गर्न सक्दैनन्’, बाँफिकोट गाउँपालिकाकी स्थानीय गंगा देवकोटाले भनिन्, ‘गाउँमा सडक त आयो गाडीमा चढ्ने बानी बसिसकेको हुँदा बर्खामा गाडी बन्द हुँदा हिड्नुपर्ने बाध्यता छ ।’ नुन, तेल, चामललगायत किनमेलका लागि बाँफिकोटको छिनखेत बजारमा पुग्नुपर्ने उनी बताउँछिन् । गाउँमा सडक नआउँदा हिँडेरै बजार पुग्ने गरेको र अहिले सडक आएर पनि सडक वर्षाले अवरुद्ध भएर पहिलेको जस्तै हिँड्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । बर्खाको समयमा ग्रामीण सडक बन्द भएपछि लामो तथा छोटोदुरीका सवारी साधन बन्द भएका छन् ।
बाँफीकोट गाउँपालिकाका अध्यक्ष जनकुमार बाठाका अनुसार वर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने र जति बनाए पनि एकैदिनको झरीले बिग्रने गरेको बताए । ‘ट्रयाक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको र सडकलाई नियमितरूपले सञ्चालन गर्नका लागि ट्रयाक खुलेलगत्तै नाली बनाउनुपथ्र्यो’, उनले भने, ‘तर नाली नबनाइएकाले सडक दिगो हुन सकेनन् ।’ वर्षाका कारण क्षतिग्रस्त भएको पहाडीक्षेत्रका सडकमा पहिरो पन्छाएर सडक मर्मत नगरी यातायात सञ्चालन गर्न नसकिने उनी बताउँछन् ।
भर्खरै खुल्दै गरेका साँधुरा सडक वर्षापछि अवरुद्ध हुने र भल बगाएर बाटो चिर्ने हुँदा ग्रामीण क्षेत्रका सडक पनि वर्षाका कारण बिग्रिएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडक भलबाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् । बर्खामा भेल, बाढी, पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका दर्जनौँ सडक क्षतिग्रस्त बनाएको स्थानीय बताउँछन् । जिल्लाका अधिकांश क्षेत्रका सडकहरू वर्षा रोकिएपछि सडक सफा गरेर मात्र यातायात सञ्चालनमा आउने गर्छन् । ग्रामीण सडकमा वर्षा सुरु भएपछि गाडी सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ ।
प्रतिक्रिया