पाँचथर । हेवा खोलामा श्रमदानबाट डाइभर्सन बनेको छ। जिल्लाको फालेलुङ गाउँपालिकाको घुमाउनेटारस्थित हेवा खोलामा श्रमदानबाट डाइभर्सन निर्माण गरिएको हो । असार २ बाढीले पुल भत्काएको थियो । यातायात बन्द भएपछि बन्द यातायातलाई सुरु गर्न डाइभर्सन निर्माण गरिएको छ ।
केन्द्र र प्रदेश सरकारले पुल बनाउन चासो नदेखाएपछि स्थानीयहरू जुटेर डाइभर्सन निर्माण गरेका हुन् । गाउँपालिकासँग प्रर्याप्त स्रोत नभएपछि पालिकाले श्रमदानका लागि जनतालाई आह्वान गरेका थिए ।
आह्वानपछि सयौँको संख्यामा सर्वसाधारणहरू जुटेर डाइभर्सन निर्माणमा खटेका गाउँपालिका प्रमुख महेन्द्र जबेगू ‘फुङनिमा’ले जानकारी दिए। श्रमदानका लागि फालेलुङसहित सदरमुकाम फिदिम लगायत क्षेत्रका युवाहरू जुटेका हुन् ।
डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पालिकाको आह्वानलाई सर्वसाधारणले साथ दिएकाले डाइभर्सन निर्माण गर्न सहज भएको पालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताए ।
बिकटको बस्तीलाई माल्लो सरकारले चासो नदिएपछि आफूहरू श्रमदानमा जुटेको युवाहरूको भनाइ छ । बाढी पहिरोले फालेलुङको जनजीवन अस्तव्यस्त बनेपछि आफूहरू श्रमदानका लागि जुटेको श्रमकर्ता धनुकमार लावतीले बताए ।
बाढी पहिरोले पुल भत्काएपछि फालेलुङ र अन्य स्थानीय तहको सम्पर्क विच्छेद भएको छ । फालेलुङका विद्यार्थीहरू विद्यालय जान सकेका छैनन् । मेमेङ, मच्छेबुङ, सेपी, च्याम्फुवा लगायतका क्षेत्रमा खाद्य संकट सुरु भएको छ । फालेलुङको दर्दनाक अवस्थालाई सहज बनाउन फिदिमदेखि श्रमदान गर्न घुमाउनेटार आएको सुमन लामाको भाइ छ ।
आफ्नो सानो सहयोगमा सर्वसाधारणलाई ठूलो राहत पुग्ने भएपछि साथीहरूसँग श्रमदान गर्न पुगेको फिदिमका युवक सुवास बाँस्कोटाको तर्क छ । श्रमदानबाटै हेवा खोलामा पाँच वटा ह्युम पाइप राखिएको छ । ह्युम पाइप राखेर ढलान गर्ने काम सकिएकाले अबको तीन दिनभित्रमा यातायात सुचारु गर्न सकिने पालिकाले जनाएको छ। असार २ गतेको बाढीले फालेलुङस्थित हेंवा खोलाका दुई वटा पक्की पुल भत्काएको थियो। जसका कारण यातायात ठप्प बनेको छ ।
बाढी पहिरोका कारण पालिकामा २२ करोड बराबरको भौतिक संरचनामा क्षति पुगेको छ। पालिकाले आर्थिक सहयोग गर्न इच्छुकहरूलाई सहयोगको आह्वान समेत गरेको छ। हालसम्म आठ लाखभन्दा धेरै रकम संकलन भएको छ ।
डाइभर्सन निर्माण सेटिङ भइसकेर यही असार २९ गते यातायात सञ्चालन हुने प्रेस युनियन केन्द्रीय सदस्य तथा पत्रकार भिमकुमार बास्कोटा ले जानकारी दिए ।
प्रतिक्रिया