एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले उत्तेजित हुँदै नेपाली कांग्रेस र नेकपा (एमाले)लाई ललकारेका छन् । यदि आफूहरूलाई सहज ढंगले अगाडि बढ्न नदिए विगतमा गरेका १२ बुँदे शान्तिसम्झौता च्यातेर अगाडि बढ्ने धम्की पनि उनले दिएका छन् । शान्ति, सहमति र सहकार्यको सम्झौता साथै वर्तमान अन्तरिम संविधानको भावनाविपरीत आएको उनको यो उत्तेजित अभिव्यक्तिले दलहरूबीचको विश्वासको संकट अरू बढाउने छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्नेभन्दा पनि एकलौटी र मनपरी ढंगले सत्ता चलाउने तीव्र इच्छाले वशीभूत भएका दाहालले आफूलाई संयमित राख्न नसक्ने हो भने १२ बुँदेलाई मन नपराउने तत्वले पनि दाहालको अभिव्यक्तिलाई अनुसरण गर्नेछन् । लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्न नसक्ने राजतन्त्र पक्षका व्यक्ति र एमाओवादीका नेताको सोच मिल्दोजुल्दो देखिनु, मुलुकका लागि अपसकुन हो । यस्ता खालका गैरजिम्मेवार विचार व्यक्त गरेर एमाओवादी अध्यक्ष दाहालले आफूलाई हल्का बनाएका छन् । गिरिजाप्रसाद कोइरालाको निधनपछि सबैलाई समेटेर सहमति र सहकार्यको नेतृत्व गर्नुपर्ने अभिभारा काँधमा बोकेको नेताले उत्तेजित हँुदै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि अब गणतन्त्रविरोधी शक्ति सक्रिय हुने देखिएको छ । सबैभन्दा ठूलो दलको प्रमुख नेताले आफूलाई संयमित राखेर अगाडिको मार्गप्रसस्त नगर्ने हो भने १२ बुँदेको मात्र होइन अन्तरिम संविधानको पनि कुनै महत्त्व रहँदैन ।
दाहालले विगतका सम्झौता च्यातेर विपक्षी दलहरूलाई इतिहासको कठघरामा उभ्याउने चेतावनी दिएका छन् । त्यो इतिहासको कठघरा सबैका लागि तयार भएमा विपक्षी दलका नेताहरू मात्र होइन एमाओवादीका नेतालाई पनि जनताले त्यस कठघरामा उभ्याउने छन् । एमाओवादी शान्तिपूर्ण ढंगले जनवादी क्रान्ति पूरा गर्ने र प्राप्त उपलब्धिलाई संस्थागत गर्ने पक्षमा छैन भन्ने धारणा सबैतिर विकास भएको छ । अहिले दाहालको अभिव्यक्तिले त्यसको पुष्टि गरेको बुझिन्छ । कहिले सत्ता अरूलाई सुम्पिए आत्मघाती हुने अभिव्यक्ति र कहिले १२ बुँदे च्यात्ने धम्की दिने दाहालको सोच सर्वसत्तावाद लाद्नकै लागि हो भन्ने बुझिन्छ । आफूखुसी गर्न नपाएपछि अध्यक्ष उत्तेजित बनेका छन् । कर्णेल कुमार लामा पक्राउ, डेकेन्द्रराज थापाका बारेमा सर्वोच्च अदालतले गरेको निर्णय र आफू अनुकूल प्रस्तुत अध्यादेश राष्ट्रपतिले रोकेपछि दाहालले आफूहरूलाई घेराबन्दीमा पारेको महसुस गरे छन् । दाहालको यो अति साँघुरो सोच र अभिव्यक्ति आफैँमा आत्मघाती छ । के स्पष्ट हुन जरुरी छ भने यो लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्न खोजिरहेको मुलुक हो । त्यसका आफ्नै मूल्य, मान्यता र पद्धति हुन्छन् । कानुनी राज्य, सुशासन र विधिको शासन लोकतन्त्रका अभिन्न अंग हुन् । एमाओवादीको नेतृत्वले त्यो पद्धतिलाई मास्न खोज्दै छ । विपक्षीहरू त्यसलाई रोक्न खोज्दै छन् । यसैलाई अध्यक्ष दाहालले घेराबन्दी भनेका हुन् भने त्यो मुलुककै लागि दुर्भाग्य हुनेछ ।
युरोपियन युनियनसँग रोइकराई गरेर बिलौना गरेको भोलिपल्टै दाहालले १२ बुँदे च्यात्ने धम्की दिनुलाई पनि अनौठो मानिएको छ । दाहालजस्तो एउटा सचेत नेताले उत्तेजित बन्दै गैरजिम्मेवार अभिव्यक्ति दिँदा सबै क्षेत्र स्तब्ध बनेको छ । र १२ बुँदे नरुचाउनेहरू उत्साहित बनेका छन् । दाहालले चुनाव गर्न नचाहने भनेर प्रतिपक्षी दलहरूलाई आरोप लगाएको पनि अन्य पक्षले स्वीकार गर्नसक्ने खालको छैन । प्रतिपक्षले चुनावको सर्त राखेर मिति तय गर्दै एमाओवादीले सत्ता त्याग्ने हो भने जेठमा चुनाव हुने विचार बारम्बार व्यक्त गरेका छन् । तर, त्यसका विरुद्ध सत्ता पक्षले नै सत्ता त्यागे आत्मघात हुने, नेपाली कांग्रेसलाई सत्ता सुम्पन नसक्ने र प्रतिपक्षीविरुद्ध जनपरिचालन गर्नेजस्ता विचार अगाडि ल्याइरहेको छ । यस्तै अवस्थामा विगतका सम्झौता च्यातिने धम्की आउनु अर्को विडम्बना भएको छ । दाहालजस्तो नेताले मुलुकको राजनीतिक र संवैधानिक संकट हटाउन हदैसम्म लचक भएर पहल गर्नुपर्नेमा उत्तेजित अभिव्यक्ति दिनु सबैका लागि अहितकर हुन सक्छ । तसर्थ, उनले आत्मघाती अभिव्यक्ति दिनुभन्दा सबैलाई समेटेर अगाडि बढ्नेतर्फ सोच्न जरुरी छ ।
प्रतिक्रिया