भिडियो सम्पादनमा जम्दै खड्का

नेपाली कलाक्षेत्रमा विष्णु खड्का चिरपरिचित नाम हो । विगत डेढ दशकदेखि नेपाली गीत संगीतका क्षेत्रमा सक्रिय खड्का भिडियो सम्पादनमा अत्यधिक व्यस्त छन् । दैनिक १३–१४ घण्टा कम्प्युटरमै व्यस्त खड्का फुर्सदको समयमा विदेशी चलचित्रको मेकिङ र त्यसको कटिङ र पोस्टर कसरी गरिएको छ भनेर हेर्ने गर्छन् । उनी भन्छन्, ‘एउटा म्युजिक भिडियो राम्रो हुनुमा सम्पादकको ठुलो हात हुने गर्छ । सम्पादन एउटा यस्तो अंग हो जसले म्युजिक भिडियो, चलचित्रलाई सुन्दर बनाउन ठुलो भूमिका खेल्छ, केही न केही नयाँ सिक्ने मौका मिल्छ ।’ खड्का सोलुखुम्बुको भकान्जे गाविस सगरडाँडामा जन्मिएका हुन् । उनी सानैदेखि कला क्षेत्रमा रुचि राख्दथे । हालसम्म उनले जेल पनि सहुँला, रुमालै चिनो धोई धोई, हिमाली भेगमा, जुन र तारा, पानिको फोका जस्तै २, मेरी इज्जु, तिमी आउन सक्छौ, शिरफुललगायत हजारभन्दा बढी म्युजिक भिडियोको सम्पादन, कलर र पोस्टर गरिसकेको जनाए । तीनवटा ठुलो पर्दाको चलचित्रको समेत सम्पादन गरिसकेता पनि उनले सम्पादन गरेको पछिल्लो समयको बहुचर्चित गीत जेल पनि सहुँलाले उनलाई यो क्षेत्रमा रातारात चर्चा दियो । यही गीतका कारण अति व्यस्त बन्नु परेको उनले सुनाए । त्यस गीतबाहेक उनले भिडियो सम्पादन गरेका गरेका गीत पानीको फोका २, जुन र तारा, हिमाली भेगमा, मेरी इज्जु, को छ र मेरो, हाँसेकै छैन बिस्तारै बिस्तारै तिमी मेरी, तिम्ले बुझेनौजस्ता गीतको भिडियो उनले सम्पादन गरेका छन् । उनले सम्पादनमार्फत आफूलाई यसक्षेत्रमा सक्रिय बनाउन सफल भएका छन् । भिडियो सम्पादक विष्णु खड्कासँग यसबारेमा गरिएको संक्षिप्त कुराकानीः

तपाईंले आफैले आफ्नो परिचय दिँदा आफूलाई के भन्न रुचाउनु हुन्छ ?

० मैले नेपाली गीत संगीत तथा नेपाली चलचित्रको सम्पादन गर्ने कार्यमा नै बढी समय बिताएँ । केही भिडियोहरु छायांकन पनि गरेको छु । काम सिक्नेक्रममा साथी–साथी मिलेर भिडियो बनाउने केही भिडियोमा आफूले अभिनय तथा निर्देशन गर्ने काम पनि गरियो । तर, नाम हामीले कहिल्यै राखेनौ फेक नाम राखेर त्यसरी काम गरियो, किनकि निरन्तरता चाहिँ सम्पादनलाइ दिनु थियो । मेरो पेशा भनेको नितान्त सम्पादन नै हो म आफूलाई एक गीत संगीत क्षेत्रको भिडियो सम्पादक भन्न रुचाउँछु ।

० भिडियो सम्पादन नै चाहिँ किन रोज्नुको कारण के होला ?

म मेरो आफ्नो शारीरिक कारण र कम्प्युटरसँग काम गर्ने रुचिले गर्दा सम्पादनतिर लागेँ । मैले एरिना मल्टिमिडिया एकेडेमीबाट डिजिटल फिल्म मेकिङमा डिप्लोमा सकेर यतातिर लागेको हुँ र त्यो बेलाको चर्चित कम्पनी त्रिवेणी फिल्म्स नेपालको पनि ठुलो हात छ । जहाँ मैले पहिलो पटक एक्सन कट र एडिटिङ गर्ने मौका मिलेको थियो ।

० भिडियो सम्पादनमा के कस्ता कार्यहरु पर्छन् ?

म्युजिक भिडियो सम्पादकले गर्ने भनेको एउटा टिमले छायांकन गरेर ल्याएको र फुटेजलाइ जोड्ने काँटछाँट गर्नेदेखि कलर संयोजन गर्नेसम्म पर्दछ । ठुलो पर्दाको कुरा गर्दा चाहिँ कलर गर्ने, सम्पादन गर्ने, ट्रेलर बनाउने, पोस्टर डिजाइन गर्ने अलग व्यक्ति हुन्छन् । म्युजिक भिडियोको काम चाहिँ सबै एकैजनाले गर्नुपर्ने हुन्छ । आजभोलि डिजिटलको चलनले गर्दा म्युजिक भिडियो पनि उत्कृष्ट बन्न थालेका छन् । भिडियोको पनि पोस्टर बन्ने प्रचलन सुरु भएको छ । मैले भिडियो सम्पादनसँगै पोस्टर डिजाइनको काम पनि गर्ने गर्छु ।

० नेपाली गीत संगीतको अहिलेको अवस्था कस्तो छ ?

अहिले नेपालमा गीत संगीतको देखिने बजार छैन । पहिलेको जस्तो क्यासेट सिडी बिक्री हुने समय छैन । गीत संगीतको डिजिटल बजार छ । डिजिटल बजारमा जानेका र बुझेकाले राम्रै कमाइ गरिरहेका छन् भने नजानेका र सोखका लागि मात्र काम गर्नेहरुले युट्युबमा भिडियो हालेर चित्त बुझाएका छन् ।

० गीत संगीतमा रुचि राख्ने दर्शकस्रोताले चाहेजस्तो गीत र भिडियो बनिरहेका छन् कि छैनन, के लाग्छ तपाईंलाई ?

अहिलेको समयमा नेपाली गीत संगीत बन्नेक्रम बढी नै रहेको छ । बनेका सबै गीत र भिडियोलाई दर्शकस्रोताले रुचाउँछन् भन्ने हुँदैन । कुन गीत कति बेला चल्छ भन्न पनि सकिँदैन । कुनै आशा लागेका गीतले दर्शकस्रोताको साथ पाएका हुँदैनन् भने कुनै सामान्य सोचेको गीत लोकप्रिय भइरहेको हुन्छ ।

० भिडियो सम्पादन गरेर नै तपाईंको आफ्नो जीवन सहज चलिरहेको छ त ?

मेरो आफ्नो चाहिँ सहज नै छ । मैले आफूलाई सर्भाइब गरिरहेको छु । मैले राम्रो गरेको छु भन्दैमा सबैको राम्रो नै हुन्छ भन्ने छैन । जुन कामलाई रोजिन्छ त्यसमा निरन्तर लागिरहने हो भने सहज नै हुन्छजस्तो लाग्छ, मलाई ।

० एउटा भिडियो राम्रो के कारणले बन्छ ?

एउटा भिडियो राम्रो बन्नुमा सबैभन्दा त पहिला गीत नै राम्रो हुनुपर्छ । त्यसपछि, महत्व सम्पूर्ण भिडियोको टिमको हुन्छ । राम्रो गीतमा निर्देशकले राम्रो कन्सेप्ट बनाएर छायाँकारले उचित ढंगले पर्दामा उतार्ने अनि कलाकारले राम्रो अभिनय गरेपछि सम्पादकले राम्रो काँटछाँट र कलर संयोजन गर्दा भिडियो राम्रो हुन्छ ।

० गीत संगीतक्षेत्रको भिडियो सम्पादनमा यत्रो वर्ष बिताउँदाको उपलब्धि के पाएजस्तो लाग्छ ?

सबैभन्दा पहिला त आफ्नो कामले सबैको मन जितेको छु । जतिले मसँग काम गर्नुहुन्छ बारम्बार मलाई नै रोज्नुहुन्छ, सबैभन्दा ठुलो उपलब्धि त्यो नै हो । त्यसपछि मेरा उत्कृष्ट कामलाई सरहानीय गर्दै मैले केही राष्ट्रिय अवार्ड पनि हात पार्न सफल भएको छु । पहिलो र तेस्रो ज्योति फिल्मस म्युजिक अवार्डमा बेस्ट भिडियो सम्पादक अवार्ड, विराट फिल्मस म्युजिक अवार्डमा बेस्ट भिडियो सम्पादक अवार्ड, दोस्रो ओएस नेपाल म्युजिक अवार्डमा पनि बेस्ट भिडियो सम्पादक अवार्ड, हिमालयन इन्टरनेसनल म्युजिक अवार्डमा बेस्ट भिडियो सम्पादक अवार्ड, बक्सअफिस म्युजिक अवार्डमा पनि बेस्ट भिडियो सम्पादक अवार्ड, एएमएस नेसनल अनर एण्ड अवार्ड २०७९ प्राप्त गर्नुका साथै, बोस्टर म्युजिक अवार्ड कलाकार सम्मान, ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७७ सम्मान, सन्ध्या पÞmाउन्डेसन फापरे फिल्मस सम्मानका साथै भर्खरै राष्ट्रिय संगीतकर्मी संघ सम्मान २०८०, प्राप्त गरेको छु, एक सिर्जनशील व्यक्तिलाई योभन्दा ठुलो उपलब्धि के होला र ?

प्रतिक्रिया