मछिन्द्र दोस्रो स्थानमा उक्लियो, थ्री स्टार अझै जितविहीन

‘ए’ डिभिजन लिग

काठमाडौं । ओलावाले अफिजको ह्याट्रिकप्रेरित सातदोबाटो युथ क्बलाई ३–१ ले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा कायम राखेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा मछिन्द्रलाई जित दिलाउन अफिजले ह्याट्रिक गर्दा सातदोटबाटोका जोर्डन पुनमगरले एक गोल फर्काएका थिए ।

खेलको १७औँ मिनेटमा अफिजले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा अफिजले नै गोल गरेपछि मछिन्द्रले अग्रता दोब्बर पारेको थियो । यस्तै, ५६औँ मिनेटमा अफिजले ह्याट्रिक गर्दै मछिन्द्रलाई ३–० को अग्रतामा राखेका थिए । ८४औँ मिनेटमा जोर्डनले सातदोबाटोबाट सान्त्वना गोल फर्काएका थिए ।

जितसँगै २३ खेलबाट ३९ अंक जोडेको मछिन्द्र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडभन्दा दुई अंकले मात्र पछि छ । २२ खेल खेलेको चर्च ब्वाइजको ४१ अंक छ । २३ खेलबाट २९ अंक जोड्दै सातौँ स्थानमा रहेको सातदोबाटो भने लिगको उपाधि होडबाट बाहिरिएको छ ।

च्यासल रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । थ्री स्टारले लिगमा पछिल्लो १२ खेलयता जित निकाल्न सकेको छैन । बराबरीमा रोकिएसँगै दुवै क्लबलाई रेलिगेसनको खतरा बढेको छ । रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको संकटा र दुई स्थान अघि रहेको थ्री स्टारले समान २७ अंक जोडेका छन् ।

२३ खेल खेल्दा थ्री स्टार ११औँ र संकटा १२औँ स्थानमा छन् । जुन रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबको भन्दा तीन अंकमात्र धेरै हो । तर, फ्रेन्ड्सले एक खेल कम खेलेको छ । २२ खेल खेलेको फ्रेन्ड्सले २४ अंक जोडेको छ ।

प्रतिक्रिया