बाजुरा । डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदै आएको छ ।
डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरवन्दी भए पनि वन रक्षकले कार्यालय सञ्चालन गर्दै आएका डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए ।
सबडिभिजन वन कार्यालयमा ६ अधिकृतको दरबन्दी भएपनि दुई जनाको भरमा छ । दरबन्दीअनुसार जनशक्ति नहुँदा दैनिक प्रशासनिक काम प्रभावित हुने गरेको अयडीको भनाइ छ । उनले भने, ‘छ इलाका वन कार्यालयका लागि २८ वन रक्षकको दरबन्दी छ, तर १८ वनरक्षकले इलाका वनको प्रशासन चलाउँदै आएका छन् ।’
अधिकृतस्तरको दरबन्दी आठ जनाको भए पनि दुई जना मात्र कार्यरत छन् । इलाकामा भने अधिकृत तहका कर्मचारी नै छैनन् । वनरक्षकले काम गर्दैआएका छन् । ‘दुई जनाले काम भ्याउनुपर्ने बाध्यता छ’, अयडीले भने ।
भौगोलिक विकटताका कारण वनका लागेको डढेलो नियन्त्रण र चिसो मौसममा वन्यजन्तु चोरी सिकारीका घटना न्यूनीकरण गर्न जनशक्ति अभावका कारण सकस हुने गरेको वन अधिकृत भोजराज पाठकले बताए ।
जनशक्ति अभावले कामको चाप बढेको छ । वनमा हुने आगलागी र वन्यजन्तु चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको पाठकको भनाइ छ ।
प्रतिक्रिया