‘काभ्रे सेवा समाज’ : माटो–बाटोको एककठ्ठा गराउने कृतसंकल्प !

शुकदेव थपलिया 

‘काभ्रेका लागि केही गरौँ’ यो हुटहुटी काभ्रेली माटोमा जन्मिएपछि कसको मनमा नआउला ? एक दशकअघि २०६९ बाट काभ्रे सेवा समाजले काभ्रेली गौरव बढाउने विषयहरूमा केही गर्ने प्रयास गर्दै आएको विदितै छ । यसकै गतिविधिको संगालो काभ्रेली गुञ्जन सातौँ अंक एकाबिहानै यस संस्थाका महासचिव मधुसुधन गुरागाईंबाट जब हातमा प¥यो यसमा सुरुआतबाट जब पढ्न प्रवेश गरियो तब किताब नसकि अरू दैनिकी अघि बढाउन सकिनँ । काभ्रेली गुञ्जन सातौँ अंकभित्र प्रवेश गर्दै गर्दा सुरुआती पेजमा काभ्रेली गौरवका केही सांस्कृतिक, धार्मिक एवं पर्यटकीय स्थलहरूको फोटो क्याप्सन समावेश गरिएको रहेछ । यसमा थप्नुपर्ने अरू महत्वपूर्ण ठाउँहरू जस्तैः तेमालको नारायणस्थान, खानीखोलाको भीमसेनस्थान लगायतका चर्चित स्थानहरू पनि भावी दिनमा समेटिएलान् भन्ने अपेक्षा गर्दै किताबका पन्नाहरू पल्टिन्छन् । 

गुञ्जनलाई सम्बोधन गर्न र यसको औचित्य लाई केही शब्दमा प्रष्ट रूपमा वर्तमान अध्यक्ष नारायण महत क्षेत्रीले प्रस्तुत गरेका छन् । अध्यक्षको भावनामा पूर्ण सहमति जनाउँदै काभ्रेली माटोका गौरव बढाउने कुरामा हामी सबै एउटै माटोका काभ्रेलीहरू एउटै बाटो भएर भावी दिनमा हिँड्न अभिप्रेरित गरि कृतसंकल्पसमेत रहेको महसुुुस गराए । गुञ्जनका सम्पादक मण्डल र सम्पादकीय सम्झँदै यो संस्था काभ्रे सेवा समाज केवल कोही व्यक्ति समुदाय र सिमित परिधि भित्र मात्रै छैन । यसको बृहत्तर उद्देश्य र लक्ष्य अनुरूप भइरहेका गतिविधि नै एक सक्कल प्रमाण हुन् भन्ने आभाष दिलायो । काभ्रे सेवा समाजको वर्तमान कार्यसमितिमार्फत गरेका गतिविधिहरू पनि नियाल्ने र केहीमा सहभागीसमेत हुने अवसर जुरेको परिपे्रक्ष्यमा ०७२ को भूकम्प र कोभिड जस्तो विश्व महामारीको चक्रब्यूहमा फसेको समयमा यसले गरेको कार्यको प्रशंसा केवल शब्दमा मात्रै भन्न सकिन्न । भावी कार्यभार र मार्गबारे संस्थापक अध्यक्ष प्रल्हाद केसीको दीर्घकालीन सोचले संस्था केवल केही लिनभन्दा पनि सामाजिक, सांस्कृतिक र अन्य विविध मार्गको बाटोमा दिनका लागि हिँडिरहेको प्रस्ट्याउँछ । 

गुञ्जनको सातौँ अंक पढिरहँदा काभ्रे जिल्लामा रहेको हाम्रो पूर्खा र हाम्रो भावी पुस्ताको सम्पत्तीहरूबारे चिरपरिचित हुने मौका मिल्छ । काभ्रे के हो ?, के होइन । भन्ने कुरा र बाहिर सिर्जित भ्रमहरूलाई काभ्रेको परिचयले चिर्ने प्रयास गरेको छ । जस्तै कुन विषयमा काभ्रेमा के छ ? भन्ने सवालमा पुस्तकमा अध्ययन गर्न सकिनेछ । यसका अलवा मानव संशाधन विदशेमा रहेका काभ्रेली र उनीहरूको योगदान र जिल्लामा पनि अरू त्यस्ता थुप्रै संघसंस्थाहरू काभ्रेली माटोलाई प्रेमपूर्वक साधनाको केन्द्र बनाउँदै विनास्वार्थका साथ लागेका छन् कतै केही ति पनि छुटे कि ? काभ्रे केवल एक भूगोल मात्रै पक्कै होइन काभ्रेभित्र हाम्रो पुर्खाको पसिना, विवेकदेखि थकाइ र चौताराहरू पनि हाम्रा सम्पत्ती हुन् । 

मानव भूगोलमा काभ्रे जिल्लाको वस्तुुस्थिति हिजो के थियो आज के छ ? भोलि के हुँदै छ ? समस्या, सामाधान र उपायको पहिचानसमेत आँकलन गरेर खोजी कार्य सुरु गर्नसके संभवतः यस संस्थाको त्यो आत्माले उडान भर्न सक्थ्यो । अनि यस पुस्तक पनि दस्तावेज र समय सापेक्षित गतिमा हिँड्न खोज्नेछ भन्ने सुझाव जिल्लाको परिचय अंशहरू पढेपछि दिन मन लाग्यो । यस परिवेशभित्र ऐतिहासिक पृष्ठभूमि, राजनीतिक एवं प्रशासनिक विभाजन, जिल्लास्थित स्थानीय तहहरूको विवरण, हावापानी, वर्षा, भू–उपयोग, बनस्पति र जडीबुटी, वन्यजन्तु, जिल्लामा रहेका जातजातिहरू, धार्मिक परम्परा र चाडपर्वहरू, जिल्लास्थित महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थानहरू, जिल्लाका प्रमुख पदमार्गहरू, पर्यटकीय पूर्वाधारहरू, जिल्लामा रहेका नदी, ताल सिमसार, काभ्रेपलाञ्चोक जिल्लाको विकास, जनसंख्या र घनत्व, परिवारले पिउने पानीको मुख्य स्रोत, धर्म, जात र भेषभूषा, ०७८ को मतदाता तथा जनसंख्या अवस्था, जिल्लाको शैक्षिक अवस्था, स्वास्थ्य सरसफाइ, कृषि तथा पशु विकास, भौतिक पूर्वाधारहरू, उद्योग वाणिज्य,र सहकारी संस्थाहरू, जिल्लाका पुराना इलाकाको विवरण, अपांगतासम्बन्धी विवरण, स्थानीय सरकारमा भएका मुख्य उपलब्धी, र उनीहरूको ई–मेल, वेबसाइट र सम्पर्क खण्ड १ मा प्रकाशित छन् । यस खण्डभित्र स्रोत साधको उपयोग प्रयोग र बाँडफाँडका सवाल, भौगोलिक विकटताले केही स्थानहरूका कुराहरू छुटेझैँ लाग्दै छ । 

यस्तै खण्ड २ मा लेख रचनाहरू समावेश गरिएको छ । जसमा वरिष्ठ संस्कृतविद् स्व. सत्यमोहन जोशीले काठमाडाैं विश्व विद्यालयले महाविद्यावारिधिको उपाधि दिँदा २०६८ भाद्रमा राखेकोे जिल्लाको गौरव बढाउने मन्तव्यको सम्पादित अंशः प्रस्तुत गरिएको छ । वनको सम्बोधनले काभ्रेको भावी बाटो साहत्य कलाको क्षेत्रमा के कस्तो हुनसक्छ भन्ने सम्मको एतिहासिक सम्बोधन उल्लेख गरिएको छ । यस्ता सम्बोधनहरू सरक्षित गर्नु भनेको उत्कृष्ठ मध्ये एक हो । यस्तै काभ्रेका गौरव बढाउने व्यक्ति यस संस्थाका प्रमुख सल्लाहकार उमेशप्रसाद मैनालीले नेपाल सन्दर्भमा नेपालको परिवर्तन यात्रा माथि हुन नसकेको विकास र उल्झनहरूलाई समेटेको लेख साभार गरिएको छ । यद्यपि यो विषयमा वनीबाट नै काभ्रे विशेष र सन्दर्भसँग जोडिएको भए थप बहस पैरवी गर्दै काभ्रे जिल्लाको समष्टिमा पनि केही राहत मिल्ने थियो । खैर उनको लेखले समग्र देश केहो र के भइरहेछ भन्ने कुरा चिनाउँछ । 

यस्तै काभ्रेको शान काठमाडौं विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले शैक्षिक गुणस्तरको सवालमा लामो लेख प्रस्तुत गरेका छन् । वनको लेखबाट काभ्रे जिल्लामा रहेको काठमाडांै विश्वविद्यालय काभ्रेको कति महत्वपूर्ण सम्पत्ती हो भन्ने प्रष्ट हुन्छ । यसको संभावना चुनौती र अवसरहरूलाई उल्लेख गरे पनि काभ्रेले कति लाभ लियो भन्ने बारेमा लेखमा उल्लेख नगरिएता पनि विश्वविद्यालयले हालसम्म गरिरहेको गतिविधि र भावी लक्ष्य र उद्देश्यसमेत लेखमा प्रस्तुत गरेका छन् । काभ्रेले जुन रूपमा यस विश्वविद्यालयमा स्थान पाएको छ त्यो भन्दा अधिक भावी दिनमा कसरी समावेश गराउने ? नजिकको देउता हेला भनेझैँ कतिपयले यस विश्वविद्यालयलाई देखेर पनि नदेखेझैँ चाल पाएर पनि नपाएझैँ अन्य देश परदेश धाइरहेको सन्दर्भलाई पनि लेखले सम्बोधन गर्न सकेको भए सुनमा सुगन्ध थपिन्थ्यो । विषयले काभ्रेली गौरवको उचाइ चुलाइदिएको छ । शैक्षिक उर्वरभूमी मानिने काभ्रेको यस गौरवले भावी दिनमा काभ्रेका १३ वटै कुनाका अँध्यारालाई पनि समान हिसाबले हेरोस् भेष वर्ग भन्दा पनि काभ्रेको माटोको नातासँग नाता गाँसियोस् भन्ने अपेक्षा गर्छु । 

यस्तै गुञ्जन गुञ्जँदै गर्दा काभ्रे जिल्लाको जिल्ला प्रशासन कार्यालय काभ्रेका तत्कालीन प्रमुख सिडियो हुमकला पाण्डेको सुशासन र सेवा प्रवाहमा काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले गरिरहेको हरेक गतिविधिको फेहरिस्त प्रस्तुत गरिएको रहेछ । ऐन कानुनका र व्यावहारिक कुराहरू समेत समावेश गरी तयार पारिएको लेखमा जवाफदेहिता पारदर्शिता लगायतका विविध कुरालाई समावेश गरिएको छ । उनको लेखमा कर्मचारी संयन्त्रको काम र बढ्दो सूचना प्रविधिको प्रयोगमा प्रविधिमैत्री कार्यालयहरूमा गर्नुपर्ने केही प्रयास र भइरहेको अवस्थाबारे समेत जानकारी भएको भए थप जनतासँग जिम्मेवार कर्मचारी संयन्त्र रहेको आभाष हुन्थ्यो कि भन्ने सुझाव छ । समग्रमा जिल्लाको सुुशासनको अवस्थाबारे जानकारी गराएकोले लेख पनि पठनीय छ । यस्तै काभ्रे सेवा समाजका सल्लाहकार विश्व उलकले लेखेको लेख नमोबुद्ध उदाउँदो अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्य ऐतिहासिक महत्वको विषयलाई उठान गरेका छन् । 

बास्तवमा नै लेखमा उल्लिखित झैँ यतिबेला नमोबुद्धको महत्व अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुन थालेपछि यसलाई नियाल्न विश्वभरका पर्यटकहरू आउने गन्तव्य बन्दै छ । लेखले कतिपय गुमनाम झैँ भएका कुराहरूलाई समेत उजागर गरी प्रष्ट भाषामा इतिहास खोल्न सकेको प्रति नतमस्तक नै भएँ । कतिपय कुराहरू आफ्नै शीरमा भएर पनि जानिँदैन पढिँदैन । तर यो लेखको महत्व त्यति छ जसले सुनेको भन्दा पनि तथ्यहरूलाई संकलन गरी आधार बनाएको देखियो । यस्तै काभ्रे सेवा समाजका निवर्तमान अध्यक्ष केशव थापाले लेख्नुभएको विस्मृतिमा घुमिल बन्दै गएका काभ्रेली नक्षत्रः स्व. श्रीखड्गराज शर्मा शीर्षकको लेख पढेपछि मनमा लाग्यो शर्मा जस्तै ओझेलमा रहेका हाम्रो विगत कतै त्यसैगरी मेटिँदै गएको पो हैन ! मैले उनको लेख पढ्दै गर्दा आफ्नै गाउँका केही अग्रज व्यक्तिहरू सम्झिएँ । अनि उनीहरूले तेमाललाई त्यसबेला पनि चिनाउन गरेको योगदान सम्झिएँ । शर्माले गरेको योगदानलाई सधँै सलाम । उनको त्यो विद्यालय खोल्ने, सडक विस्तारमा चलाएको साहासको त कति प्रशंसा गरे पनि कम हुन्छ । लेखक थापाले भनेझँैँ साँच्चै उनको त्यो एतिहासिक कामलाई सम्मान गर्न अनि उनको स्मृतिलाई जीवित तुल्याउन पुस्तकालय सञ्चालनमा तीन वटै सरकारले किन ढिला गर्ने ? 

यस्तै नेपाल पत्रकार महासंघका सचिव कपिल कोइरालाले तयार पारेको एउटा साक्षात्कार पाँचखालको योगदान समृद्ध काभ्रेपलाञ्चोकका लागि हुनेछ महेश खरेल नगरप्रमुख, पढेँ । महेश खरेलले विगतदेखि वर्तमानसम्म गर्दै आएको काम उनको त्यो विलासी जीवनमोह त्याग गरेर जुन हुटहुटीले अहिले पनि पाँचखाल नगरप्रमुखको रूपमा काम गर्दै छन् त्यो आफैँमा हामी सबैको लागि एक प्रेरणाको स्रोत हो । मानिसहरू खुसी हुन, सुख पाउन के मात्रै गर्दैनन् । तर खरेलको सादगीपना लोभलाग्दो छ । एक कार्यकाल पूरा गरी दोस्रोपटक पुनः नगरप्रमुख बनेका खरेलको आँखामा जनताको सपना बोकेर लागिरहेको जुन कुरा वार्ता साम्रगीले प्रस्तुत गरेको छ । त्यो पनि गौरवका विषय हो । उनलाई पढेपछि कतै यसै अंकमा उनीजस्तै १३ वटै पालिकाका जनप्रतिनिधिहरूको विषयहरू पनि त गुञ्जन्छन् भनेर हेरियो तर पाइएन । भावी दिनमा गुञ्जनमा पक्कै समावेश होलान् भन्ने अपेक्षा छ । 

जिल्ला कति नै ठूलो पो छ र १ सय ३५ वटा वडाको केही न केही विषय समावेश गर्न सकिएको भए गुञ्जनले लिएको उद्देश्य पूरा गर्न लामो समयसम्म पक्कै कुरिरहनुपर्ने थिएन । यस्तै तत्कालीन सहायक प्रजिअ अमरदीप सुनुवारले जिल्लाको विपद् उत्थानशीलताका केही सवाल र उपायहरू र भएका प्रयासहरू समेटिएको लेखले विपद्मा हाम्रो माटो र हामीले अंगाल्ने माटो कस्तो हुने सम्मको परिपेक्ष्यण गर्न सकिनेछ । यस्तै धनरानी केसीले स्थानीय तहमा बजेट तर्जुमा कार्यान्वयन तथा मूल्यांकन व्यवस्थाको बारे लेखेको लेख पनि हाम्रो काभ्रे जिल्लाको बजेट तर्जुमा गर्ने निकायदेखि लाभान्वित सरोकारवालाहरूसम्मले कानुनी र व्यावहारिक कुरा बारे समेत छुट्याउन सक्ने भाषाको त्यो लेख छ । यसमा अझै केही नमुना सहितको जानकारी भएको थियो भने सावाँ अक्षर मात्रै जानेकाहरूले पनि त्यसको औचित्य बुझ्न पो सक्थे कि ? 

यस्तै काभ्रेको गौरव बरिष्ठ पत्रकार एवं आर्थिक पत्रकार समाजका पूवाध्यक्षसमेत रहेका भीम गौतमले काभ्रेको जल्दोबल्दो सवाल ६ दशकपछि काभ्रेले पाएको सुनकोसी तेस्रो बनाउने अवसर शीर्षकको लेखले त काभ्रेमा यस्ताखाले राष्ट्रिय गौरवको आयोजना बन्दै गरेको र त्यस्ता संभावनाहरू अरू पनि छन् भन्नेमा ढुक्क भइन्छ । उनको लेखले काभ्रेमा आर्थिक उन्नतिको सवालमा केही यक्ष प्रश्न र भावी मार्गबारे राजनीतिक वर्गका चरित्रहरूलाई समेत झक्झकाएको पाइन्छ । 

यस्तै काभ्रे जिल्लाको मानव भूगोल बारे लामो समय अध्ययन गरी मानवअधिकारको क्षेत्रमा काम गरेका भोजराज तिमल्सिनाले लेखेको ‘काभ्रेपलाञ्चोकमा बढ्दो आत्महत्या सुक्ष्म अध्ययन र रोकथामका कार्यक्रम’ आवश्यक शीर्षकको लेखले त मानव भूगोलको वर्तमान हालत दर्शाएको छ । यस लेखले भावी दिनलाई रोकथामको चुनौतीसँगै उपायसमेत पहिल्याउन सक्नेखाले दरिलो तथ्यांकसहित विश्लेषणत्मक लेख प्रस्तुत गरेका छन् । यो पनि निकै महत्वपूर्ण बहसको बिषय हो । 

यस्तै महिला उद्यमी प्रवद्र्धक क्षेत्रीय होटल संघको सचिवसमेत रहेकी ज्योत्सना सैँजुको ‘महिला उद्यमशीलता प्रवद्र्धनमा सहजीकरणको जरुरी’ शीर्षकको लेखमा आधा भूगोल आधा संसारको हकअधिकार र हालको अवस्थालाई चित्रण गर्ने प्रयास गरेको पाइयो, महिला विकासको आवाज बुलन्द गर्न यस लेख जस्तै महिलासँग जोडिएको अन्य विषयबस्तुहरू पनि समावेश भएको भए झनै राम्रो हुने थियो ।

यस्तै राज्यको नीति तथा नीर्देशक सिद्धान्त अनुसार मुलुकले अधिकार बाँडफाँड गरेको छ । स्थानीय तहमा न्याय निरुपण र यसको प्रभावकारिता बारे अधिवक्ता तथा कानुनी सल्लाहकार पनौती नगरपालिकाका प्रदीप सापकोटाको लेख निकै सान्दर्भिकतासँग जोडिएको विषयबस्तु हो । यसभित्र न्याय निरुपणको प्रक्रियादेखि विषयबस्तुको यथोचित सम्बोधन गरेका छन् । यस लेखले पनि स्थानीय सरकार सञ्चालन प्रभावकारी कार्यान्वयन र काम गर्ने कुरामा ठूलो सघाउ पु¥याउने अपेक्षा गर्न सकिन्छ । 

यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले ‘जिल्लामा सम्बन्ध विच्छेद ः विखण्डन उन्मूख समाज’ शीर्षकको लेख त वर्तमान समाज अध्ययन गर्ने र त्योबाट हुन सक्ने र भइरहेको जटिलतामाथि बहस गर्नुपर्ने विषय हो । लेखमा तथ्यांकीय विश्लेषणलाई जोड दिइएको छ । भने त्यसका सामाधान र विकल्पमा भने पाठक स्वंमलाई बहस गर्न छोडिएको छ । काभ्रे सेवा समाजको कार्यसमिति सदस्य उर्मिला कोइरालाले काभ्रे सेवा समाजको स्थापना कालदेखिको अनुभूत र केही साहित्यक श्रष्ठाको कार्यलाई चर्चा गरेकी छन् । यद्यपि यो पूर्ण भने मान्न सकिन्न । 

यस्तै पत्रकार राम हुमागाईंले काभ्रे जिल्लाको वाङ्मय खोजतर्फ केन्द्रित रहनुपर्ने तर्कसहित यसको संकटको केही विषयबस्तु प्रस्तुत गरेका छन् । यस्तै ‘काभ्रेली साहित्यिक गतिविधिका केही सवाल’ शीर्षकमा शुकदेव थपलियाको लेखले केही काभ्रेको केही प्रमाणित इतिहास र साहित्यको खोजलाई प्रस्तुत गरी त्यसको वर्तमान अवस्थासम्म बारे केही चर्चा गर्ने प्रयत्न गरिएको छ । उद्यमी यो विषय पनि पूर्णरूपमा समेट्न भने नसकिएको देखिन्छ । यस्तै भाषा तथा संस्कृतविद् डा.लक्ष्मीप्रसाद खतिवडाले ‘खाना, भाषा र संस्कृति बचाउन सम्पदा ज्ञान बैंक आवश्यक’ शीर्षकको जटिल बहसको र आवश्यकताको बिषयमाथि लेखेका छन् । उनको लेखले केही गरौँ भन्ने प्रण सबैलाई गराउँछ । 

यस्तै कासेसका सल्लाहकार नेपाल सरकारका पूर्वसचिव गोपी मैनालीले ‘फूलपाती भन्ज्याङदेखि नमोबुद्धसम्ममा’ आफ्नो स्मृति प्रस्तुत गरेका छन् । यो लेख पढ्दा हामी पनि एकपटक सम्झनालायक हाम्रो भूमिको सम्झनामा लीन हुन पुग्छौँ । यस्तै सिताराम सिपखानको साभार लेख ‘बहसमा काठमाडौं–पाँचखाल विद्युतीय रेलमार्ग’को लेख पनि पठनीय छ । किनभने यो बिषयको कुरा सम्भावनासँग जोडिएको छ । 

यस्तै पत्रकार नवराज सापकोटाले ‘दिगो विकासको पर्खाइमा डाँडापारीबासी’ शीर्षकको लेख लेखेर हाम्रो बत्तीमुनीको अँध्यारो क्षेत्रको सम्झना गराउँदै त्यहाँको निर्मम जनजीवन लाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । यस्तै राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक राजानन्द माण्डव्यले कला, सभ्यता, संस्कृति र मौलिक पहिचानको कुरालाई उठान गरेका छन् । उनको लेखमा हाम्रो भावी पुस्तामाथिको जीवनशैली र मौलकपना माथिको चिन्ता र बहसलाई उठान गरेका छन् । यो पनि हाम्रो माटो र भावी बाटोको लागि मुख्य विषयहरू मध्ये एक हो । यस्तै बिपी राजमार्गसँगै रोशीका माम्ती भीमसेनको साभार लेख प्रस्तुत गरिएको छ । यस्ताखाले काभ्रेली माटो चिनाउने लेख अरू पनि हुनुपथ्र्याे । यस्तै कासेसका संस्थापक कोषध्यक्ष गीता होमेगाईं सापकोटाको साहित्यक भावनालाई प्रस्तुत गरिएको छ । यस्ता अरू पनि समावेश गर्नसक्ने र गर्नुपर्ने विषयबस्तुहरू छुटेका रहेछन् । 

अन्ततः कासेसलाई नियाल्दा केही प्रश्नहरू मनमा उब्जिएका छन् । कासेसको सम्पूर्ण गतिविधि नियाल्ने गुञ्जनको सातौँ अंक पढिसकेपछि कासेसलाई भन्न मन लाग्यो कतै बालबालिकासँग सम्बन्धित तथा वृद्धवृद्धा त कतै महिलाको अनि कतै हाम्रा अझै त्यस्ता धेरै बौद्धिक सम्पत्तीहरूलाई पनि यस काभ्रे सेवा समाजले जोड्ने र हातेमालो गर्न छुटिरहेको पो छैन ? २ सय २६ जना सदस्य १ सय ९० जना आजीवन सदस्यता रहेका संख्याले काभ्रे पूर्ण हुन पक्कै सक्दैन । भावी दिनमा यसको सदस्यता विस्तार गर्ने । त्यस्ता लुकेका हराएका र जोड्नै पर्ने व्यक्ति र व्यक्तित्वहरूलाई खोजी गरी एकठ्ठा गरौँ । तब काभ्रे सेवा समाजले लक्ष्य अनुरूप उडान भर्न सक्दछ । 

प्रतिक्रिया